बर्खा लागिसक्दा के छ बीपी राजमार्गको अवस्था ? कस्ता छन् सुरक्षा रणनीति ? « Khabarhub

बर्खा लागिसक्दा के छ बीपी राजमार्गको अवस्था ? कस्ता छन् सुरक्षा रणनीति ?

बीपी राजमार्ग यात्रा गर्दा असुरक्षित हुनुनपर्ने सरकारको दाबी



काठमाडौँ – राजधानीसँग पूर्वी जिल्ला जोड्ने मुख्य बीपी राजमार्ग २०८१ असोजदेखि थलिएको छ। सो समय रोशी खोलामा आएको बाढीले ३०.५ किलोमिटर राजमार्ग कटान गरेपछि समस्या उब्जिएको थियो।

गत वर्षदेखि भने सरकारले नमोबुद्ध नगरपालिकाको भकुन्डेबेँसीदेखि सिन्धुलीको नेपालथोकसम्म क्षतिग्रस्त उक्त राजमार्ग प्रवलीकरण थालेको छ ।

भक्तपुर सडक डिभिजनका उक्त खण्ड हेरिरहेका इन्जिनियर शङ्कर खनालका अनुसार काभ्रेतर्फ (२७.३ किमी) ३ खण्डमा काम भइरहेको छ । जसमध्ये पिप्ले–बर्खेखोलासम्मको (३.२ किमी) खण्ड भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को २ अर्ब ६३ करोड रुपैयाँ अनुदान सहयोगमा पुनःनिर्माण हुँदै छ । यस्तै अन्य खण्ड भने डिभिजनले २०८२ सालदेखि क्रमशः जेठ र असारमा ठेक्का सम्झौता भएसँगै काम गरिरहेको छ ।

‘हामीले भक्तपुरतर्फ तीन खण्ड भिन्नाभिन्नै ठेक्का लगाएर काम गरिरहेका छौँ । समग्रमा भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत बढी भइसकेको छ,’ उनले थपे, ‘चौकीडाँडा, कटुन्जेबेँसी, चारसयबेँसी, नार्के खण्ड, तीनथली, चिउरीबास, बोक्सीकुना, डालाबेँसी लगायत करिब (८ किमी) मा पर्ने १० स्थानलाई हामीले संवेदनशील भनेर छुट्याएका छौँ ।’

वर्षा भएसँगै समस्या पर्ने ती क्षेत्रमा विगतमा भन्दा फरक डिजाइनमा काम भइरहेको उनको भनाइ छ ।

‘समस्या हुने खण्डमा हामीले तीन किलोमिटर आरसीसी अर्थात् डन्डीसहितको सिमेन्ट प्रयोग गरेर पर्खाल निर्माण गर्दै छौँ । सामान्यतया सडक विस्तारका क्रममा पर्खाल लगाउनु पर्दा सतहबाट वाल उठाउने गरिन्छ । यहाँ जमिनको सतहबाट मात्रै पर्खाल उठाउँदा पानीले हानेर सडक बगाउने समस्या भयो,’ उनले थपे, ‘त्यसैले हामीले अहिले पानीमुनिको सबैभन्दा तल्लो सतहबाट ३.३ मिटर सम्म जाने भने पनि साढे तीन मिटर सम्म तलबाट फलामको रडसहित सडकको आधार तयार गरेर सडकको अवस्था हेरेर ११ देखि ६ मिटर सम्मको पर्खाल हामीले बनाइरहेका छौँ ।’

हिउँदमा समेत ठप्प हुने उक्त राजमार्ग असार लागिसक्दा कुन अवस्थामा छ भन्ने प्रश्नमा उनले बाढी आए पनि २ घण्टाभित्रै सडक सुचारु गर्ने तयारी रहेको बताए ।

‘खोलाको तल्लो सतहबाटै पर्खाल निर्माणको काम हामीले करिब ९५ प्रतिशत सम्पन्न गरिसकेका छौँ । अहिले पनि हामीले चाह्यौँ भने त्यहाँबाट गाडी आवतजावत गराउन सक्छौँ,’ उनले दाबी गरे ।

अहिले नै गाडी सञ्चालनमा ल्याउँदा काममा अप्ठ्यारो हुने हुँदा काम सम्पन्न नभएसम्म डाइभर्सनबाटै आवतजावत गराउनुपरेको उनको भनाइ छ ।

‘काममा समस्या हुने हुँदा अहिले पनि खोलाबाटै गाडी गुडेको देख्नुभएको हो । हाम्रो मुख्य उद्देश्य वर्षाका कारण सडक रोकिए पनि २ घण्टाभित्र जुनसुकै हालतमा सञ्चालनमा ल्याउनु हो,’ उनले दाबी गरे ।

२१ वैशाखमा नमोबुद्ध नगरपालिका–५ चौकीडाँडा र रोशी गाउँपालिका–७ चारसय बेँसीस्थित रोशीखोलामा पानीको सतह बढ्न गई सडक कटान हुँदा खोलाबीचमा फसेका झन्डै ५ वटा माइक्रोबसका ८९ जना यात्रुको ज्यान गएको थियो । उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले र्‍याफ्टिङ, डोरी र जेसीबीको सहयोगमा मध्यरातमा उद्धार गरेको थियो । रोशीमा घटेको यो घटना पहिलो भने थिएन । मौसम पूर्वानुमान, सुरक्षा सतर्कतामा कडाइसँगै सवारीचालकको लापरबाहीका कारण यो समस्या पटक–पटक दोहोरिरहेको छ ।

‘अलिकति केही ल्याक भएकै हो । प्रहरीले रोक्दारोक्दै गएपछि समस्या भयो । ती कमजोरीलाई मनन गर्दै हामीलाई वर्षाबारे सूचना आउनेबित्तिकै हामी दुवै जिल्लाका प्रवेशतर्फ रोक्ने हाम्रो तयारी छ,’ जोखिम न्यूनीकरणका लागि सवारीचालक र यात्रुलाई पनि उनले सतर्कता अपनाउन अनुरोध गरे ।

इन्जिनियर खनालका अनुसार जोखिम कम गर्न उक्त राजमार्गमा अहिले साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन ठप्प पारिएको छ ।

‘अहिले उक्त समस्या समाधानार्थ बनेपामा ठुलो पानी परेमा ट्राफिकसहित हामीलाई सूचना आउँछ । उक्त जोखिम कसरी कम गर्ने भनेर हामीले गरेका अध्ययन अनुरूप बनेपा, फुलचोकीतिर पानी परेको तीन घण्टामा चारबेँसी लगायत क्षेत्रमा बाढी आइपुग्दो रहेछ । सावधानीका लागि हामीसँग त्यो समय हुन्छ,’ उनले प्रष्ट पारे ।

पानी पर्नेबित्तिकै समस्या समाधानमा लाग्न बढी जोखिम भएका स्थानमा आवश्यक सामग्री तयार राखेको उनले बताए । त्यसका लागि जोखिमयुक्त ठाउँमा आवश्यक स्रोतको व्यवस्थापन तथा त्यस्तो अवस्थामा कसरी काम गर्ने भन्नेबारे खाका पनि तयार पारेको उनको भनाइ छ ।

‘विशेषगरी बनेपा, फुलचोकीतिर पानी पर्दा तपाईँले भन्नुभएजस्तो समस्या निम्तिने गरेको छ । त्यता माथि भीषण पानी परेको हुन्छ । त्यसले गर्दा खोला ठुलो बढेर आउँछ । तर, यता घाम लागिरहेको हुन्छ । त्यसैले सवारीचालक र हामीलाई पनि यकिन नहुने हुँदा समस्या आएका हुन्,’ समन्वयमा काम गर्ने उनले बताए ।

उक्त सडक खण्डका लागि करिब ३ अर्ब ३० करोड रुपैयाँ लागतमा एक वर्षअघि ठेक्का सम्झौता भएको थियो ।

जाइका मातहत पिप्ले–बर्खेखोला ३.२ किलोमिटर
१२ जेठमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गर्ने भनेको उक्त खण्ड निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिलान्यास गरेका थिए । २०२७ डिसेम्बरमा काम सम्पन्न गर्ने गरी सरकारले जाइकासँग २ अर्ब ६० करोड रुपैयाँ अनुदान प्राप्त गरेको हो ।

अहिले उक्त खण्डमा माटो परीक्षणपछि डाइभर्सनको सामान्य मर्मतको काम भइरहेको छ । ‘उहाँहरू पनि फिल्ड आइसक्नुभएको छ । निर्माण कम्पनीले उक्त खण्डको करिब ७ मिटर तलबाट माटो निकालेर परीक्षण गरेको छ,’ उनले थपे, ‘बर्खाअगाडि नै काम सुरु त नहोला तर उक्त खण्डमा पर्ने डाइभर्सन मर्मत गरेर राम्रो बनाउने काम उहाँहरूले अहिले गरिरहनुभएको छ ।’

सिन्धुली, खाल्टे सडक डिभिजनमातहतको बर्खेखोला–नेपालथोक
२०८१ असोजमा उक्त राजमार्ग किनार भएर बग्ने रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको सिन्धुलीतर्फको बर्खेखोला–नेपालथोक (४.९ किमी) खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो ।

जसका लागि भ्याटसहित ६१ करोड रुपैयाँ लागतमा खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले उक्त खण्ड मर्मत सम्भारको काम गरिरहेको छ ।

‘हालसम्म भौतिक प्रगति ५० र वित्तीय प्रगति ४४ प्रतिशत भएको छ । रिटेनिङ वाल लगाउने काम गरिरहेका छौँ,’ सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका सूचना अधिकारी इन्जिनियर सुदर्शन उप्रेतीले बताए ।

गत २४ चैतमा उप्रेतीसँग भएको कुराकानीमा भने उनले असारसम्म अतिजोखिमका क्षेत्रहरूको ६५ प्रतिशत भौतिक प्रगति सम्पन्न गर्ने बताएका थिए । कुराकानीको क्रममा उनले भक्तपुर सडक डिभिजन कार्यालय र आफूहरूले एकै डिजाइनमा सडक पुनर्निर्माण गरिरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०५३/०५४ देखि जाइकाकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण थालिएको उक्त राजमार्ग २०७१ चैतदेखि सुचारु गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १२ : २७ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा