आईभीएफको आडमा अवैध धन्दा : चर्चित चिकित्सककै संलग्नतामा डिम्ब तस्करी « Khabarhub

आईभीएफको आडमा अवैध धन्दा : चर्चित चिकित्सककै संलग्नतामा डिम्ब तस्करी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निसन्तान दम्पतीका लागि आईभीएफ प्रविधि सन्तान प्राप्तिको आशा र नयाँ जीवनको आधार बनेको छ । तर यही संवेदनशील विषयलाई आधार बनाएर केही व्यक्ति र प्रजनन् केन्द्रहरूले गैरकानुनी गतिविधि सञ्चालन गरेको घटना सार्वजनिक भएसँगै यो क्षेत्र विवादमा समेत तानिएको छ ।

आर्थिक प्रलोभनमा पारी नाबालिका तथा किशोरीहरूबाट अवैध रूपमा डिम्ब (अण्डा) संकलन गर्ने र त्यसलाई निसन्तान दम्पतीलाई महँगो मूल्यमा प्रयोग गर्ने धन्दामा नाम चलेका चिकित्सक तथा प्रजनन् केन्द्रहरूसमेत जोडिन थालेका छन् ।

पछिल्लो पटक ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माको संलग्नतामा १७ वर्षीया किशोरीको डिम्ब गैरकानुनी रूपमा निकालिएको आरोपसहितको घटना बाहिर आएको छ ।

कक्षा ११ मा अध्ययनरत ती किशोरीलाई उनकी साथी र एक जना बिचौलियाले महिनैपिच्छे खेर जाने चिज हो, शरीरमा असर गर्दैन भन्दै ललाईफकाई डिम्ब दिन तयार पारेको बताइएको छ । उनलाई ५० हजार रुपैयाँ दिइने प्रलोभन देखाइएको थियो ।

त्यसपछि, ग्वार्कोस्थित क्लिनिकमा लगेर हर्मोनको औषधि दिइएको र गत असार १४ गते शल्यक्रियामार्फत डिम्ब निकालिएको बताइएको छ ।

डिम्ब निकालिएपछि किशोरीको स्वास्थ्यमा समस्या देखिन थालेको थियो । उनलाई उठ्न नसक्ने, चक्कर लाग्ने र पटक–पटक ढल्ने अवस्था आएपछि मात्र परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन् ।

त्यसपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि भर्ना गरिएको थियो । ५० हजार रुपैयाँ दिने भनिए पनि किशोरीले ३० हजार रुपैयाँ मात्र पाएको र उक्त रकम उपचारमै खर्च भएको परिवारको भनाइ छ ।

.

डा. नूतन शर्मा

प्रहरी अनुसन्धान जारी

पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले घटनामा बिचौलियाको भूमिका खेलेको आरोपमा २१ वर्षीया राधिका गोतामेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रका अनुसार बिचौलिया गोतामेलाई सरकारी वकिल कार्यालयको निर्देशनअनुसार हाल जमानीमा छाडिए पनि अनुसन्धान भने जारी छ ।

प्रहरीले घटनासँग जोडिएका अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ । प्रमाणका आधारमा दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ ।

आईभीएफ क्षेत्रमा दोहोरिँदो विवाद

प्रजनन् स्वास्थ्य क्षेत्रमा चिकित्सकहरू नै विवादमा मुछिएको यो पहिलो घटना भने होइन । गत वर्ष वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वाती शर्माले सञ्चालन गरेको होप फर्टिलिटीमा दुई जना किशोरीबाट अवैध रूपमा डिम्ब संकलन गरी निसन्तान दम्पतीलाई प्रयोग गरिएको घटना सार्वजनिक भएको थियो ।

डा. स्वाती शर्मा

उक्त घटनामा डा. प्रत्युषा बराललगायत पक्राउ परेका थिए । तर स्पष्ट कानुनी व्यवस्था अभाव देखाउँदै उक्त घटनामा संलग्न भनिएकाहरूले उन्मुक्ति पाएको भन्दै आलोचना भएको थियो ।

तत्कालीन महान्यायाधिवक्ताको कार्यालयको निर्णयमाथि समेत प्रश्न उठाइएको थियो । पीडित किशोरीहरूले न्याय पाउन नसकेको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

डा. अरुणा उप्रेतीको प्रश्न- ‘आफ्नै छोरी–बहिनी भए यसो गर्थे ?

वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले सामाजिक सञ्जालमार्फत घटनाप्रति गम्भीर आपत्ति जनाएकी छन् । उनले किशोरीलाई हर्मोनको औषधि दिएर डिम्ब उत्पादन गराउने र शल्यक्रियाबाट निकाल्ने प्रक्रिया सामान्य नभएको उल्लेख गर्दै यसमा दक्ष स्वास्थ्यकर्मीको संलग्नता आवश्यक पर्ने बताएकी छन् ।

उनको प्रश्न छ आफ्नै छोरी वा बहिनी भएको भए के उनीहरूले यसरी डिम्ब निकाल्थे ? पैसाका लागि मानिसको शरीरसँग खेलबाड गर्ने प्रवृत्तिले चिकित्सा पेशाप्रतिको विश्वासमाथि गम्भीर असर पुर्‍याउँछ ।

कानुन अभावमा बढ्दो जोखिम

नेपालमा आईभीएफ सेवा विस्तार हुँदै गए पनि डिम्ब तथा शुक्रकीट दान, प्रयोग र नियमनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था अझै पर्याप्त छैन ।

यही कानुनी अस्पष्टताको फाइदा उठाउँदै अवैध गतिविधि हुने जोखिम बढेको विज्ञहरूको भनाइ छ । किशोरीहरूको स्वास्थ्यमा असर पर्ने जोखिम, बिचौलियामार्फत हुने आर्थिक शोषण र निसन्तान दम्पतीको भावनालाई व्यापार बनाउने प्रवृत्तिले गम्भीर प्रश्न उठाएको छ ।

आईभीएफ सेवालाई सुरक्षित, पारदर्शी र मर्यादित बनाउन स्पष्ट कानुन, प्रभावकारी नियमन संयन्त्र र कडा अनुगमन आवश्यक देखिएको छ ।

मानव स्वास्थ्यसँग जोडिएको यस्तो संवेदनशील क्षेत्रमा राज्यको प्रभावकारी हस्तक्षेप अपरिहार्य बनेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : १५ बजे

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निर्माणाधीन रसुवागढीस्थित एकीकृत

प्रियंकाको ‘मास्टर्नी’को टिजर : स्टारको अनुहार अटायो, कथाबारे अन्योल

काठमाडौं – ‘म्याथ सिक्ने भए…’ भन्ने गीतले विवादमा परेको फिल्म

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

चितवन– चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको