भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो « Khabarhub

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

टिमुरे र बेत्रावती बजारमा ठूलो क्षति, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ।

बाढीसँगै आएको लेदो र पहिरोले टिमुरे बजार क्षेत्रका प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडक किनारमा रहेका सवारीसाधन बगाएको प्रत्यक्षदर्शीले बताएका छन्।

बाढीबाट जोगिएर माथिल्लो सुरक्षित स्थानमा पुगेका प्रत्यक्षदर्शी कपिल पाख्रिनका अनुसार चीनतर्फबाट अचानक हुरी, बादल, धुलो, धुवाँ र लेदोसहितको ठूलो बाढी आएको थियो।

पाख्रिनका अनुसार घटना हुनुभन्दा करिब एक घण्टाअघि उनीहरू रसुवा बजारमा थिए। अचानक माथिबाट ठूलो आवाजसहित बाढी र लेदो आउन थालेपछि उनीहरू पहाडको भित्तातर्फ भागेर ज्यान जोगाउन सफल भएका हुन्।

‘एक्कासि माथिबाट हुरी, बादल, धुलो, धुवाँ र हिलोसहित आयो। हामी त्यहीँ बसेको भए खोलामा मिसिन्थ्यौँ। हामी भित्तातिर भागेर जोगियौँ,’ उनले भने।

उनका अनुसार टिमुरेमा रहेको प्रहरी चौकीसमेत बाढीले बगाएको छ। भन्सार कार्यालयलगायत सरकारी संरचनामा समेत ठूलो क्षति पुगेको उनले बताए। बजार क्षेत्रमा रहेका होटल, पसल, गाडी तथा मालवाहक ट्रकसमेत बाढीले बगाएको प्रत्यक्षदर्शीको भनाइ छ।

बाढीले आफ्नो धारसमेत परिवर्तन गरेको छ। पाख्रिनका अनुसार पहिले बजार रहेको क्षेत्रमा अहिले खोला बगिरहेको छ। ‘लेदोले सबै बगाएको छ। खोलाले आफ्नो धार परिवर्तन गरेको छ। जुन ठाउँमा बजार थियो, अहिले त्यही एरियामा खोला बगिरहेको छ,’ उनले भने।

बाढीको पानी भने अहिले केही घटेको उनले बताए। माथिल्लो डिलबाट हेर्दा खोला सामान्य अवस्थामा फर्किने क्रममा रहेको उनको भनाइ छ।

घटनास्थलमा मौसम अहिले सफा रहे पनि उद्धारमा कठिनाइ रहेको उनले बताए। बाढीपछि माथिल्लो सुरक्षित स्थानमा जम्मा भएका करिब ८ देखि १० जना मात्र आफूहरूसँग रहेको उनले जानकारी दिए।

तल रहेका मानिसमध्ये कोही सुरक्षित छन् वा छैनन् भन्ने यकिन हुन नसकेको पाख्रिनले बताए। ‘जो मान्छे पहाडमा भाग्न सफल भए, त्यही मात्र हो। तल भएकाहरूको अवस्था के छ भन्ने थाहा छैन,’ उनले भने।

यसैबीच रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाको आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदीको बहाव बढ्न सक्ने जोखिम रहेकाले नदी किनारबाट टाढा सुरक्षित तथा अग्लो स्थानमा बस्न आग्रह गरिएको छ।

घटनापछि बाढी प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनको आवश्यकता देखिएको छ।

मौसम अनुकूल रहेमा माथिल्लो सुरक्षित स्थानमा रहेका स्थानीयले समेत तलको अवस्था बुझ्ने प्रयास गर्ने बताएका छन्।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १० : १८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित