विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने « Khabarhub

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सरकार र सबै राजनीतिक दल एकढिक्का भएर राहत तथा उद्धारमा परिचालित हुन आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दलका राहत तथा उद्धारमा दक्ष, जानकार र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन गर्न आग्रह गरे । 

उनले राहत र उद्धारका लागि राजनीतिक दलहरूले एकीकृत खाका बनाएर काम गर्नुपर्ने तथा कुनै दलको झण्डाभन्दा देशको झण्डामुनि एकजुट हुनुपर्ने बताए ।
   
‘यो विपत्तिमा पक्ष–प्रतिपक्ष होइन, एकैसाथ सरकारको साथमा छौँ भन्ने जुन उच्च राजनीतिक संस्कारको प्रदर्शन भयो, म विपक्षीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने । 

उनले बिहानैदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी संयन्त्रका अधिकारीसँग निरन्तर सूचना आदानप्रदान र विपद् व्यवस्थापनका रणनीतिबारे आफूले छलफल गरिरहेको जानकारी दिए । 

सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य नागरिकको जीवन रक्षामा लगाउने विश्वास व्यक्त गर्दै उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा, जनशक्ति तथा सम्भव भएसम्म सबै स्रोतसाधन परिचालन गर्न आग्रह गरे ।

‘नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ रास्वपा सभापति लामिछानेले भने, ‘सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउनेछ भन्ने विश्वास छ ।’ 

उनले बाढी प्रभावित रसुवा र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई थप क्षति हुन नदिन सचेत रहन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गरे । 

चितवन, नवलपरासीलगायत नदी तटीय क्षेत्रका बासिन्दालाई पनि सावधानी अपनाउन उनले आग्रह गरे । साथै अपाङ्गता भएका व्यक्ति, महिला, वृद्धवृद्धा तथा बालबालिकालाई उद्धार तथा राहतमा प्राथमिकता दिनुपर्नेमा सभापति लामिछानेले जोड दिए ।
 
रास्वपाले समन्वयको अग्रसरता लिने

सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने प्रतिबद्धता आएको उल्लेख गर्दै सभापति लामिछानेले दलहरूसँग रहेका राहत तथा उद्धार संयन्त्रलाई सरकारसँग समन्वय गरी परिचालन गर्न आग्रह गरे । 

विसं २०७२ को भूकम्पमा राजनीतिक दलहरूले देखाएको उच्च राजनीतिक संस्कार स्मरण गर्दै उनले विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर नागरिक सेवामा केन्द्रित हुनुपर्ने बताए ।

संसद्को सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रास्वपाले विपद् व्यवस्थापनमा बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै सभापति लामिछानेले आवश्यक समन्वयका लागि पार्टीले अग्रसरता लिने जानकारी दिए । आवश्यक परे सबै दलको बैठकमार्फत समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
 
प्रभावित नागरिकप्रति दुःख व्यक्त

सभापति लामिछानेले बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकसँग सिङ्गो राष्ट्र र सरकार साथमा रहेको बताए । 

उनले यो कठिन परिस्थितिलाई संयततापूर्वक सामना गर्नुपर्ने उल्लेख गर्दै प्रभावित क्षेत्रमा मानवीय सहायता र उद्धारलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
   
उनले सभाको रोष्ट्रमबाट विपद्मा प्रभावित नागरिकलाई सतर्क र धैर्य रहन, सरकारलाई सम्पूर्ण स्रोतसाधन परिचालन गर्न, राजनीतिक दललाई एकढिक्का भएर उद्धारमा जुट्न तथा अन्तरराष्ट्रिय समुदायलाई नेपाल सुरक्षित रहेकाले विश्वास गर्न आग्रह गरे । रासस

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ४ : २४ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार