काठमाडौं– बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनाले नयाँ मोड लिएको छ । घटनामा पक्राउ परेका एक अभियुक्तलाई भारतको विशेष मकोका अदालतले नाबालिग ठहर गरेको छ । अदालतले उनलाई थप कानुनी प्रक्रियाका लागि बाल न्याय बोर्ड (जेजेबी) समक्ष उपस्थित गराउन निर्देशन दिएको छ ।
गत अक्टोबर १८ मा मुम्बईको जुहु क्षेत्रमा टाइगर सवार कारलाई लक्षित गरी मोटरसाइकलमा आएका दुई व्यक्तिले पाँच राउन्ड गोली चलाएका थिए । घटनामा टाइगरका चालक घाइते भएका थिए भने अभिनेताको हातमा सामान्य चोट लागेको थियो ।
यस घटनामा पक्राउ परेका पहिलो अभियुक्तको उमेरलाई लिएर अदालतमा प्रश्न उठेको थियो । उनका बुबाले गोलीकाण्ड हुँदा छोरा १८ वर्षभन्दा कम उमेरको रहेकाले बाल न्याय ऐनअनुसार मुद्दा चलाउन माग गर्दै निवेदन दिएका थिए ।
अदालतको आदेशपछि प्रहरीले जन्मदर्ता, विद्यालय भर्ना, परीक्षा तथा शैक्षिक प्रमाणपत्रलगायतका अभिलेख जाँच गरेको थियो । अनुसन्धानबाट अभियुक्तको जन्ममिति सन् २००८ नोभेम्बर ३० रहेको पुष्टि भएको छ। यसअनुसार घटना हुँदा उनी १७ वर्ष १० महिनाका थिए ।
विशेष न्यायाधीश सत्यनारायण आर. नवंदरले उमेर प्रमाणीकरण प्रतिवेदनका आधारमा उनलाई नाबालिग ठहर गरेका हुन् । अब उनीविरुद्धको थप कानुनी प्रक्रिया बाल न्याय बोर्डमार्फत अघि बढ्नेछ ।
घटनामा मकोका अर्थात् संगठित अपराध नियन्त्रणसम्बन्धी कडा कानुन लागू गरिएको छ। गोलीकाण्डको जिम्मेवारी लरेन्स गिरोहका सदस्य अनिल पण्डितले लिएको बताइएको छ। प्रहरीले उनलाई फरार अभियुक्त घोषणा गरेको छ ।
अभियुक्त नाबालिग ठहरिएसँगै घटनाको अनुसन्धान र कानुनी प्रक्रियाले नयाँ दिशा लिएको छ । अब बाल न्याय बोर्डले उनको उमेर र घटनामा संलग्नताको आधारमा थप निर्णय गर्नेछ ।














प्रतिक्रिया