काठमाडौं– एउटा छोटो संवाद, सामाजिक सञ्जालमा फैलिएको रिल र त्यसपछि कानुनी नोटिस। बलिउड अभिनेता शाहरुख खान र उद्योगपति अनन्त अम्बानीबीचको कुराकानीलाई लिएर सुरु भएको विवाद अहिले अभिव्यक्ति स्वतन्त्रता र मानहानिको बहससम्म पुगेको छ।
बलिउड अभिनेता शाहरुख खानले सामाजिक सञ्जालका कन्टेन्ट क्रियटर सुविग्या शर्मालाई मानहानिको कानुनी नोटिस पठाएका छन्। अनन्त अम्बानीसँगको कुराकानीलाई गलत सन्दर्भमा प्रस्तुत गर्दै भ्रामक सामग्री फैलाएको र आफ्नो प्रतिष्ठामा क्षति पुर्याएको आरोप शाहरुखको कानुनी टोलीले लगाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शर्माले सद्गुरुको उपस्थितिमा शाहरुख र अनन्त अम्बानीबीच भएको संवादलाई लिएर इन्स्टाग्राममा रिल बनाएका थिए। उक्त रिलमा अनन्तले शाहरुखलाई ‘चुप लाग्न’ वा ‘मौन रहन’ भनेको दाबी गरिएको थियो।
रिलमा अनन्त र सद्गुरुबीचको कुराकानीको दृश्यसँगै शाहरुख र अनन्तबीच भएको अर्को संवादको दृश्य पनि समावेश गरिएको थियो। यही दृश्य र त्यससँग जोडिएको व्याख्याले विवाद जन्माएको हो।
शाहरुखको कानुनी टोलीले भने रिलमा गरिएको व्याख्या वास्तविक संवादको सन्दर्भसँग मेल नखाने दाबी गरेको छ। नोभेम्बर २३ मा जारी कानुनी नोटिसमा सामग्रीलाई ‘बदमासीपूर्ण, भ्रामक र मानहानिकारक’ भनिएको छ। नोटिसमा रिलको क्याप्सनले कुराकानीको वास्तविक अर्थ विकृत गरी शाहरुखको छवि बिगार्ने प्रयास गरेको आरोप लगाइएको छ।
४८ घण्टाभित्र रिल हटाउन निर्देशन
कानुनी नोटिसमार्फत शर्मालाई विवादित रिल तत्काल हटाउन, त्यसमा गरिएको दाबीलाई तथ्यका रूपमा थप प्रसार नगर्न र गलत क्याप्सन तथा भनाइ सच्याउन निर्देशन दिइएको छ। साथै, मूल भिडियो र प्रकाशनसँग सम्बन्धित अभिलेख सुरक्षित राख्न पनि भनिएको छ।
नोटिस प्राप्त गरेको ४८ घण्टाभित्र निर्देशन पालना गरेको लिखित जानकारी दिनुपर्ने उल्लेख छ। माग पूरा नगरेमा नागरिक तथा फौजदारी कानुनअनुसार थप कारबाही अघि बढाउन सक्ने चेतावनी शाहरुखको कानुनी टोलीले दिएको समाचारमा जनाइएको छ।
इन्फ्लुएन्सरको जवाफ : अभिव्यक्ति स्वतन्त्रताको प्रश्न
कानुनी नोटिसपछि सुविग्या शर्माले पनि भिडियोमार्फत प्रतिक्रिया दिएका छन्। उनले शाहरुखको आपत्तिमाथि प्रश्न उठाउँदै आफ्नो टिप्पणी अभिव्यक्ति स्वतन्त्रताको दायरामा पर्ने तर्क गरेका छन्। कथित रूपमा अनन्तले शाहरुखलाई मौन रहन भनेको घटनाबारे आफूले गरेको टिप्पणीको उनले बचाउ गरेका छन् ।
शाहरुख र अनन्तबीचको संवादको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। तर, छोटो दृश्यलाई कुन सन्दर्भमा प्रस्तुत गरिएको थियो र रिलमा गरिएको व्याख्या कति सही थियो भन्ने विषयमा विवाद कायम छ।
यस घटनाले सामाजिक सञ्जालमा सार्वजनिक व्यक्तित्वको संवादलाई काटछाँट गरेर प्रस्तुत गर्दा त्यसको अर्थ कसरी बदलिन सक्छ भन्ने प्रश्न उठाएको छ। एकातिर शाहरुखको कानुनी टोलीले प्रतिष्ठामा क्षति पुगेको दाबी गरेको छ भने अर्कोतिर इन्फ्लुएन्सरले अभिव्यक्ति स्वतन्त्रताको आधारमा आफ्नो टिप्पणीको बचाउ गरेका छन्। अब विवादित सामग्री हटाइन्छ वा कानुनी प्रक्रिया अघि बढ्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुनेछ।














प्रतिक्रिया