काठमाडौं– प्रेममा बाधा आउनु स्वाभाविक हो, तर जब प्रेमको बाटोमा पुरुषको अहंकार र समाजको पितृसत्तात्मक सोच उभिन्छ, त्यसले दुई जीवनलाई कस्तो मोडमा पुर्याउँछ ? यही प्रश्नको कौतूहल जगाउँदै निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ ।
‘पूर्णबहादुरको सारंगी’बाट चर्चामा आएका पौडेल निर्देशित फिल्मको चार मिनेट लामो ट्रेलर बिहीबार काठमाडौंस्थित बिग मुभिजमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
पिरियड ड्रामाका रूपमा निर्माण भएको फिल्मले पुरानो नेपाली समाजको प्रेम, सामाजिक बन्धन र महिलाले भोग्नुपरेको नियतिको कथा भन्ने संकेत गरेको छ ।
ट्रेलरमा कौडाका कारण प्रेममा उत्पन्न हुने परिस्थितिलाई मुख्य विषय बनाइएको छ। विजय बरालले बाबुराम र अञ्जना बराइलीले लक्ष्मीको भूमिका निर्वाह गरेका छन् ।
यी दुई पात्रको प्रेममा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र बाधक बनेर देखिएका छन् । डिल्लीरामको अहंकार र हस्तक्षेपले बाबुराम–लक्ष्मीको प्रेमलाई कुन दिशामा लैजान्छ भन्ने कौतूहल ट्रेलरले बढाएको छ ।
फिल्मले तत्कालीन नेपाली समाजमा पुरुषको अहंकार र पितृसत्तात्मक सोचका कारण महिलाले भोग्नुपरेको पीडालाई पनि उजागर गर्ने देखिन्छ । प्रेमकथासँगै सामाजिक यथार्थलाई जोड्ने प्रयास फिल्मको मुख्य आकर्षण हुन सक्छ ।
‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल र निर्देशक पौडेलको यो दोस्रो सहकार्य हो। यसपटक उनीहरू फरक समय र परिवेशको कथा लिएर दर्शकमाझ आउँदैछन् । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् ।
फिल्ममा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ। सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता नेम महर्जन हुन् । यसअघि सार्वजनिक टिजर र गीतबाट चर्चा बटुलेको ‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।














प्रतिक्रिया