काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने संकेत देखिएको छ । मिनेसोटा राज्यस्थित मिनेयापोलिश शहरमा आप्रवासन प्रहरीले केही दिनको अन्तरमा दुई जनाको गोली हानी हत्या गरेपछि प्रदर्शन चर्किएको छ । आईसको ज्यादतीविरुद्ध अहिले दशौँ हजार मानिस सडकमा उत्रिएका छन् ।
अमेरिकामा खासगरी कालाजातिका नागरिकमाथि हुने प्रहरी दमनलाई लिएर बारम्बार हिंसात्मक प्रदर्शन हुने गरेको इतिहास छ । पछिल्लो पटक सन् २०२० मा कोरोना भाइरसको महामारी चलिरहेका बेला त्यही शहरमा प्रहरीले जर्ज फ्लोयड नामका अश्वेत नागरिकको हत्या गरेपछि देशभर व्यापक प्रदर्शन भएको थियो ।
तत्कालीन डोनाल्ड ट्रम्प प्रशासनले जर्ज फ्लोयड प्रदर्शनमाथि निर्मम दमन गरी सामसुम पारेको थियो । अहिले आप्रवासन प्रहरीको गोली लागेर दुई जना गोरा जातिका नागरिक मारिएका छन् ।
मिनियापोलिसमा अमेरिकी नागरिकको हत्या भएपछि सुरू भएको यो आन्दोलनले राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन मामिलालाई लिएर अमेरिकी समाजमा देखिएको स्पष्ट विभाजनको रुपमा हेरिएको छ । उसै पनि ट्रम्पको अनुदार आप्रवासन नीति उदारवादी डेमोक्र्याटहरूलाई मन परेको छैन ।
त्यसमाथि अवैध आप्रवासीलाई नियन्त्रण गर्ने प्रयोजनका लागि स्थापित आईस नामक आप्रवासन प्रहरीले अमेरिकी नागरिकमाथि गोली हानेर ज्यान लिन थालेपछि यसले विष्फोटक रुप लिनसक्ने चिन्ता उत्पन्न भएको छ । पछिल्लो पटक सार्वजनिक घातक गोलीकाण्डका घटनापछि आईस प्रहरी संगठन नै खारेज गर्नुपर्ने माग फेरि उठ्न थालेको छ ।
गत जनवरी ७ मा मिनेयापोलिशमा गोलीकाण्डको घटना भएपछि पछिल्लो चरणका प्रदर्शन सुरू भएका हो । उक्त घटनामा आईसका प्रहरी अधिकारी जोनाथन रसले ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडमाथि गोली प्रहार गरेका थिए । कारमा सवार भएका बेला गोली लागेकी गुडको केही समयपछि मृत्यु भएको थियो ।
यद्यपि अमेरिकी सुरक्षा अधिकारीहरूले ‘नियमित आप्रवासन कारबाहीका क्रममा’ गुडलाई गोली लागेको दाबी गरेका छन् । कतिपय सत्तारुढ दलका नेता तथा सुरक्षा अधिकारीहरूले गुडले आफू चढेको गाडीलाई आईस अधिकारीविरुद्ध हतियारका रुपमा दुरुपयोग गरेको दाबी गरेका छन् ।
अधिकारकर्मीका साथै प्रत्यक्षदर्शीहरूले समेत यस गोलीकाण्डलाई ‘निर्दयी हत्या’ को संज्ञा दिएका छन् । सामाजिक सञ्जाल तथा अमेरिकी सञ्चार माध्यमले सार्वजनिक गरेका भिडियोहरूमा गुडले आईसका अधिकारीलाई कुनै खतरा पुर्याउने गतिविधि गरेको देखिँदैन । गुडको हत्यापछि शुरूमा मिनेयापोलिश र त्यसलगत्तै अन्य शहरमा आगोको ज्वालाझैँ सरकार र आईसविरोधी प्रदर्शन फैलिरहेको छ ।

गुडको हत्याको केही दिनपछि त्यही शहरमा यस्तै घटना दोहोरिएको छ । गत शनिबार आप्रवासी नियन्त्रण गर्ने अर्को प्रहरी संगठन कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी)का अधिकारीले अर्का ३७ वर्षीय एलेक्स प्रेट्टीको गोली हानी हत्या गरे । उनी पेशाले नर्स थिए । अधिकारीहरूले यस घटनामा पनि प्रहरीले आत्मरक्षाका लागि प्रेट्टीमाथि गोली प्रहार गरेको बताएका छन् ।
तर, सामाजिक सञ्जाल र अमेरिकी सञ्चार माध्यममा सार्वजनिक घटनाको भिडियोमा गोली प्रहार हुनेबेला प्रेट्टीको हातमा मोबाइल फोनमात्रै थियो । प्रेट्टीको हत्यापछि परिवारले विज्ञप्ति जारी गर्दै आफूहरूको हृदय छियाछिया भए पनि त्योभन्दा धेरै क्रुद्ध भएको जनाएका छन् । ‘ट्रम्पका कायर आईस गुण्डाहरूले’ आफ्नो छोराको हत्या गरेको भन्दै उनको परिवारले यसबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग गरेको छ ।
प्रेट्टीको हत्यापछि अमेरिकी सडकमा आन्दोलन अझै तीव्र हुने अनुमान गरिएको छ । हाल आप्रवासन प्रहरी र सरकारविरोधी प्रदर्शन मिनेयापोलिशसहित शिकागो, वाशिङ्टन डीसी, पोर्टल्याण्ड, सियाटल, न्यूयोर्क, लस एन्जल्स, एटलान्टा, फिलाडेल्फिया, बोस्टनजस्ता शहरमा फैलिरहेको छ । कठ्याङ्ग्रिदो जाडोको परवाह नगरी हजारौँ अमेरिकी नागरिक सडकमा उत्रिएका छन् । कतिपय शहरमा शान्तिपूर्ण प्रदर्शन भएका छन्, अन्य शहरमा भएका प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
ट्रम्प प्रशासनले आप्रवासीमाथिको दमनलाई कठोर पारेको छ । यसको मुख्य निशानामा उदारवादी डेमोक्र्याटहरूले शासन गरेका मिनेयापोलिशजस्ता शहर परेका छन् । डेमोक्र्याटिक पार्टीको शासन रहेका यस्ता शहर र राज्यमा आप्रवासीलाई सुरक्षा गर्ने नीति लागू गरिएको छ । आप्रवासीले आफूलाई सुरक्षित महसुस गर्ने यस्ता शहरलाई ‘स्याङ्चुअरी सिटी’ भन्ने गरिएको छ । उसैपनि मिनेयापोलिश र नजिकै जोडिएको सेन्ट पल शहरमा सोमाली मूलका आप्रवासी तथा सोमाली–अमेरिकी नागरिकहरूको जनसङ्ख्या धेरै रहेको बताइन्छ ।
ट्रम्प प्रशासनले मिनेयापोलिश र सेन्ट पल शहरमा रहेका आप्रवासीलाई धरपकड गर्न गत डिसेम्बर महिनामा ‘अपरेशन मेट्रो सर्ज’ नामक सुरक्षा कारवाही सञ्चालन गर्ने घोषणा गरेको थियो । त्यही सुरक्षा कारवाही अन्तर्गत पछिल्लो समय ती शहरमा सीबीपी र आईसको बाक्लो उपस्थिती छ ।
त्यसमाथि मिनेसोटा राज्यका गभर्नर टिम वाल्जले पछिल्लो राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदको टिकट लिएर ट्रम्पविरुद्ध चुनाव लडेका थिए । कतिपयले चाहिँ पछिल्लो घटनाक्रमलाई वाल्जविरुद्ध राजनीतिक प्रतिशोध साँध्नकै लागि ट्रम्पले राज्यमा आप्रवासीविरुद्ध सुरक्षा कारवाही सञ्चालन गरेको टिप्पणी गर्दै आएका छन् ।

पछिल्ला घटनाक्रमले अमेरिकी समाजमा देखिएको चर्को ध्रुवीकरणलाई उजागर गरेको छ । ट्रम्पले अवैध आप्रवासीविरुद्ध अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कारवाही सञ्चालन गर्ने बाचा गरेर चुनाव जितेका थिए । केही हदसम्म आफ्नो बाचामा उनी सफल समेत देखिएका छन् ।
उनले विभिन्न देशबाट आउने आप्रवासीमाथि कडाइ गरेका छन् भने अमेरिकामा लुकिछिपी बसोबास गर्दै आएका अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला पनि गरेका छन् । तर, आप्रवासीलाई पक्राउ गर्नका लागि आप्रवासन प्रहरीले अत्यधिक बल प्रयोग गर्ने गरेको भन्दै अमेरिकी समाजको एउटा खेमा असन्तुष्ट छ ।
केही दिनअघि आईसका अधिकारीले अवैध आप्रवासी भएको आशङ्कामा लायम रामोस नाम गरेका एक जना ५ वर्षे बालकलाई पक्राउ गरेका थिए । कतिपय अवस्थामा ट्रम्प प्रशासनका अधिकारीहरूले आप्रवासन प्रहरीका गतिविधिको बचाउ गर्न निकै अनुदार वक्तव्य दिने गरेका छन् । उदाहरणका लागि उपराष्ट्रपति जेडी भान्सले आईसविरोधी प्रदर्शनलाई ‘कायर (अश्लील शब्दमा) बकवास’ को संज्ञा दिएका छन् । उग्रपवामपन्थी समूहमाथि प्रदर्शन चर्काएको आरोप लगाउँदै उपराष्ट्रपति भान्सले राज्यका अधिकारीले आप्रवासन प्रहरीसँग सहकार्य नगरेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले पनि मिनेयापोलिश र देशका विभिन्न शहरमा जारी प्रदर्शनको दोष डेमोक्र्याटमाथि थोपरेका छन् । उनले मिनेसोटा राज्यका गभर्नर वाल्ज र मिनेयापोलिशका मेयर जेकब फ्रेले आफ्नो राज्य र शहरमा आईसका अधिकारीको संरक्षण गर्न नसकेको टिप्पणी गरेका छन् ।
उनले स्थानीय प्रहरीले आईसका अधिकारीलाई संरक्षण गर्नुपर्ने भएपनि त्यसो गर्न असफल भएको जनाएका हुन् । उनले आडम्बरी, खतरनाक र अभिमानी अभिव्यक्तिबाट गभर्नर वाल्ज र मेयर फ्रेले विद्रोह उत्पन्न गराएको आरोप लगाएका छन् ।
सडकको आक्रोश र ट्रम्प प्रशासनको अभिव्यक्ति र गतिविधि हेर्दा अमेरिकामा हिंसात्मक प्रदर्शनको उच्च जोखिम देखिन्छ । यसो हुन नदिन सत्तारुढ ट्रम्प प्रशासनले संघीय सरकार मातहतका प्रहरी निकायलाई जनतासँग व्यवहार गर्दा संवेदनशील हुन प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखिन्छ । अर्कोतर्फ प्रदर्शनकारीले पनि हिंसाको सहारा नलिई आफ्ना जायज माग शान्तिपूर्ण ढङ्गबाट उठाउन आवश्यक देखिन्छ । अन्यथा सन् २०२० मा भएको जर्ज फ्लोयड प्रदर्शनको अझ उग्र रुप नदेखिएला भन्न सकिन्न ।













प्रतिक्रिया