पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा गहिरो प्रभाव पारिरहेको छ । समयअगावै यौवन सुरु हुनु, मोटोपन बढ्नु, हर्मोनल गडबडी देखिनुजस्ता समस्या पछिल्लो समय आम बन्दै गएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा ३९० मिलियन (९३९ करोड) बालबालिकामा मोटोपनको समस्या छ, जसका कारण दीर्घकालीन रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् । हर्मोन के हो ? यसले कसरी काम गर्छ ? बालबालिकामा हर्मोनको गडबडीले के–कस्ता असर पार्छ र अभिभावकले के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर हामीले नर्भिक इन्टरनेश्नल अस्पतालमा कार्यरत हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डेसँग गरिएको कुराकानीः
हाम्रो शरीरका विभिन्न अंगलाई सञ्चालन तथा नियन्त्रण गर्न विभिन्न हर्मोनको आवश्यकता पर्छ भनिन्छ । वास्तवमा हर्मोन भनेको के हो ? यसले कसरी काम गर्छ ?
हर्मोन भनेको एक किमिको केमिकल म्यासेन्जर हो । जुन हाम्रो रगतमा घुलेर हरेक अंगलाई सिग्नल दिने गर्दछ । त्यो हर्मोन ब्रेनको हाइपोथेलेमसमा उत्पादन भएर पिट्युटरी ग्रन्थीबाट निस्किन्छ ।
हाइपोथेलामसले पिट्युटरी ग्रन्थीलाई कुन हर्मोन कहाँ पठाउने भनेर अर्डर दिन्छ । यसरी हाम्रो शरीरको विभिन्न हर्मोन ग्रन्थीमा गएर कुन बेला कतिखेर के गर्ने भन्ने कुराको आदेश दिन्छ । ब्रेनको तल नाकको माथिल्लो भागमा अवस्थित पिट्युटरी ग्रन्थी हुन्छ, जसलाई मास्टर ग्ल्याण्ड भनिन्छ ।
मास्टर ग्ल्याण्डले हाम्रो शरीरको विभिन्न हर्मोनको नेतृत्व गर्छ । त्यो ग्ल्याण्डले सिष्टममा के के कुरा गर्छ भन्ने कुराको हामीलाई विशेष जानकारी हुनुपर्छ । त्यसमा पहिलो भनेको पिट्युटरी आफैँ भैहाल्यो । त्यसपछि टाउकोमा अर्को ग्रन्थी हुन्छ भने त्यसको तल घाँटीमा पुतली आकारको अर्को ग्रन्थी हुन्छ । त्यसपछि शरीरको तल्लो भागमा थाइमस ग्रन्थी हुन्छ । त्यो भन्दा अलिकति तलतिर प्याङ्क्रियाज ग्रन्थी हुन्छ, जसले इन्सुलिन बनाउँछ ।
किड्नीको माथिल्लो भाग टुप्पोमा पहाड जस्तो हुन्छ, त्यसलाई एडिनर ग्रन्थी भनिन्छ । त्यसपछि अलिकति तलतिर पुरुषमा टेस्टिज र महिलामा ओभरीज अर्थात् अण्डा हुन्छ । यसरी हाम्रो शरीरमा फरक फरक खालका ग्रन्थी छन्, जसले शरीरको विभिन्न भागबाट विभिन्न हर्मोन उत्पादन गर्दछ । ती हर्मोनले हाम्रो शरीरलाई हाम्रो जीवनकार्य सञ्चालन, रक्तचाप व्यवस्थापन, मेटाबोलिजम बलियो बनाउन, ग्लुकोजको मात्रा नियन्त्रण, प्रजनन कार्य र बच्चालाई आवश्यक पर्ने दुध उत्पादन लगायत हाम्रा हरेक आवश्यकतापूरा गर्न हर्मोन आवश्यक हुन्छ ।
यी सबै हर्मोनलाई पिट्युटरी ग्रन्थीले सञ्चालन गरिरहेको हुन्छ । बच्चा जब जन्मिन्छ, उनीहरुको शारीरिक तथा मानसिक विकासका लागि ग्रोथ हर्मोन चाहिन्छ । यदि शरीरले ग्रोथ हर्मोन नै उत्पादन गर्न सकेन भने बच्चा सानोको सानै हुन्छ भने ग्रोथ हर्मोनका मात्रा धेरै उत्पादन भयो भने चाहिने भन्दा ठूलो हुने, अनावश्यक ट्युमर पलाउने सम्भवना हुन्छ । त्यसैले यो ठिक्क मात्रामा हाम्रो शरीरलाई चाहिने जति मात्रै उत्पादन हुनु पर्दछ ।
त्यस्तै थाइराइड ग्रन्थीले बनाउने हर्मोन भनेको थाइराइड हर्मोनमा कमी भयो वा बढी भयो भने त्यो ग्रन्थीलाई हर्मोन कति बनाउने भन्ने आदेश ब्रेनमा रहेको हाइपाथेलामसले दिन्छ । हाइपाथेलामस भनेको हाम्रो म्यानेजिङ डाइरेक्टर जस्तै हो भने पिट्युटरी ग्रन्थी सिइओ हो । त्यसैले समग्रमा भन्नुपर्दा हर्मोन भनेको म्यासेन्जर केमिकल्स हो, जसले शरीरमा कसरी कति मात्रामा यसको प्रयोग गर्ने भन्ने आदेश दिन्छ ।
याहाँको भनाइ अनुसार हर्मोन धेरै प्रकारका हुन्छन् । यसको काम सकारात्मक र नकारात्मक दुवै प्रकारको हुने हो ?
मैले अघि पनि भने ग्रोथ हर्मोन धेरै हुँदा पनि मान्छे चाहिनेभन्दा अग्लो हुन्छ भने कम हुँदा चाहिनेभन्दा होचो हुन्छ । त्यसैले हर्मोनमा सकारात्मक नकारात्मक भन्ने कुरा खासै हुँदैन।
यसमा सकारात्मक प्रतिक्रिया दिने या नकारात्मक प्रतिक्रिया दिने तत्त्व हुनसक्छ । सकारात्मक प्रतिक्रिया दिने तत्त्वमा कस्तो हुन्छ भने हाम्रो शरीरलाई चाहिने जति हर्मोन उत्पादन हुने भयो । जस्तै कुनै महिला गर्भवती भएर बच्चा जन्माउँदा अक्सिटोसी भन्ने हर्मोन उत्पादन हुन्छ । जुन हर्मोनले पठेघरबाट बच्चा निकाल्नेदेखि बच्चालाई आवश्यक पर्ने दूध उत्पादन गर्ने सम्मको काम गर्छ ।

बच्चाले नियमित दूध खान थालेपछि अक्सिटोसी हर्मोन बढ्दै जान्छ, यो हर्मोनको सकारात्मक प्रतिक्रिया भयो । त्यस्तै उदाहरणको थाइराइड ग्रन्थीको कुरा गरौं । थाइराइड ग्रन्थीले एक्सेस बनाइरहेको छ । अर्थात एकदमै धेरै मात्रामा थाइराइड हर्मोन उत्पादन भइरहेको छ भने त्यो कुरा ब्रेनलाई थाहा हुन्छ र हाइपोथेलामसले पिट्युटरी ग्रन्थीलाई कम गर्न आदेश दिन्छ । यो भनेको नकारात्मक प्रतिक्रिया भयो ।
पछिल्लो समयका बालबालिकामा हर्मोनकै गडबडीका कारण शारीरीक रुपमा किशोरावस्था या यौवन चाँडो आएको भनिन्छ । यसको वास्तविकता के हो ?
हर्मोनल डिसअर्डरका कारण आजभोलि ८–९ वर्षको उमेरमै केटा मान्छेमा दाह्रीजुँगा पलाउने, केटी मान्छेमा पनि त्यही उमेरमै महिनावारी सुरु हुने प्रक्रिया भइरहेको छ । हाम्रो सामाजिक रहनसहन खानपान र जीवनशैलीले प्रभाव पारिरहेको छ ।
जस्तै अहिले बालबालिका अर्गानिक खाना छोडेर इनअर्गानिक खानेकुरा खाइरहेका छन् । जसमा केमिकल फर्टिलाइजेज या हर्मोन हालेर बनाएको हुन्छ । जसका कारण मोटोपन बढ्ने समय अगाडि नै शारीरिक परिवर्तन आउने भइरहेको छ ।
सामान्यतया आठ वर्षको केटी मान्छेमा महिनावारी सुरु भयो भने त्यसलाई प्रिक्रोसेस प्रोभर्टी अर्थात् उमेरभन्दा छिटो विकास भएको बुझिन्छ । जसमा केटा मान्छेमा ९ वर्षको उमेर अगाडि नै सेकेण्डरी सेक्सुअल क्यारेक्टरको विकास हुने जस्तै दाह्री–जुँगा आउनु, आवाज गहिरो हुनु, मांसपेशी बढ्ने जस्ता लक्षण देखिन्छन् । केटीमा महिनावारीसँगै स्तन विकास, कम्मर चौडा र आवाज कोमल हुने जस्ता लक्षण देखिन्छन् ।

यदि यस्ता लक्षण समय अगाडि या पछाडि भयो भने कतै हर्मोनको कारणले त होइन भनेर बुझ्न आवश्यक हुन्छ ।
अहिलेको खानपान र जीवनशैलीका कारण पछिल्लो समयका बालबालिकामा शारीरिक विकास चाँडो भइरहेको भन्नुहुन्छ के उनीहरु मानसिक रुपमा पनि त्यत्तिकै परिपक्व हुन्छन् त ?
तुलनात्मक रुपमा पहिलेको भन्दा हेर्ने हो भने अहिलेका बालबालिका सानै उमेरमा शारीरिक र मानसिक दुवै रुपले परिपक्व हुन्छन् । किनकी आजभोलि १०–१२ वर्षको बच्चाहरुलाई सबै कुरा थाहा हुन्छ । अहिले विद्यालयले पनि धेरै कुरा सिकाइरहेको हुन्छ । त्यसैकारण हर्मोनल डिसअर्डर मात्रै नभएर लामो स्क्रिन टाइम, जसमा उनीहरुले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जाल हेरिरहेका हुन्छन् ।
त्यस्तै पहिले पहिले सञ्चारमाध्यमले पनि होइन यौन तथा प्रजननको बारेमा धेरै कुरा खुलेर भन्दैनथ्यो । अहिले सबै कुरा खुला रुपमा बुझाउने, देखाउने गरिन्छ । त्यसैले पहिलेको भन्दा अहिलेका बालबालिका चाँडै परिपक्व हुन्छन् । तर विवाह गर्ने उमेर र चाँडो परिपक्व हुनु भनेको चाहिँ एकदमै फरक कुरा हो । पहिले पहिलेको कुरा गर्ने हो भने बिहे गर्ने बच्चा जन्माउने त्यो बाहेक केही कामै हुँदैनथ्यो । तर अहिले त बिहे गर्नु र बच्चा जन्माउनुभन्दा अगाडि पढ्ने जागिर खाने लगायत धेरै काम मान्छेले गर्न चाहन्छ ।
छोरी मान्छेमा सानै उमेरमा महिनावारी सुरु भए पनि अण्डा राम्रोसँग विकास नभएको हुनसक्छ । त्यस्तै युट्रेस अर्थात् गर्भमा पुरै विकास भइसकेको भन्न मिल्दैन । त्यसैले पछिल्लो समयका बालबालिका सानै उमेरमा शारीरिक र मानसिक रुपमा परिपक्व भए भन्दैमा बिहे पनि सानै उमेरमा गर्नुपर्छ भन्नु चाहिँ गलत हो ।
हर्मोनको सही मात्रामा प्रयोग हुँदा केटा र केटी मान्छेमा कति उमेरमा यौवन सुरु हुने हो ?
हर्मोनको मात्रा यत्ति नै हुनुपर्छ भनेर क्याल्कुलेट गर्न सकिँदैन । तर केटी मान्छेको उमेर १३ वर्ष भइसक्यो या केटा मान्छेको उमेर १४–१५ भइसक्दा पनि शारीरिक विकास भएको छैन भने तिनीमा हर्मोनको कमी हुनसक्छ ।
त्यसैले त्यस्तो बच्चामा हामीले महिनावारी गराउन र हाइट बढाउन विभिन्न हर्मोन्स दिइन्छ ।
खानपान र स्क्रिन टाइमको कुरा पनि भयो । त्यो बाहेक उनीहरुको प्राकृतिक रुपमा शारीरिक विकास होस् भन्नका लागि अभिभावकले के कस्ता कुरामा ध्यान दिनुपर्ने हो ?
अहिलेको सबैभन्दा जल्दोबल्दो कुरा भनेको बालबालिकाको मोटोपन हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वमा तीन सय नब्बे मिलियन (९३९ करोड) बालबालिकामा मोटोपनको समस्या रहेको छ ।
जसका कारण नसर्ने रोग लाग्ने सम्भावन बढिरहेको छ । किनभने पछिल्लो समयका बालबालिकामा शारीरिक क्रियाकलाप कत्ति पनि भइरहेको छैन । अभिभावकले पनि बाहिर नजाउ लडिन्छ, दुर्घटना हुन्छ भनेर भित्रै बस्न आग्रह गरिरहेका हुन्छन् । त्यसैले सबैभन्दा पहिलो कुरा भनेको बालबालिकालाई शारीरिक क्रियाकलाप गराउने, जसको लागि टोलटोलमा थोरै भए पनि खेल्ने ठाउँ राख्नुका साथै स्क्रिन टाइम सीमित गर्नुपर्छ ।
प्राय बालबालिकलाई प्याकेटकै खानेकुरा मनपर्छ । उनीहरु घरको खानेकुरामा रुचि राख्दैनन् । तर पिज्जा, बर्गर, मम, चाउमिन चाहिँ मनपर्छ । हाम्रो पछिल्लो समयको खानपान र जीवनशैलीमा सुधार नगरेसम्म यो समस्या हट्दैन । झन बढ्दै जान्छ ।
जसका कारण सानै उमेरमा सुगर हुने मोटोपनकै कारणले हर्टअट्याक हुने, क्यान्सरको सम्भावना बढी हुने, दम बढ्ने जस्ता समस्या बढ्दै जान्छन् ।
हर्मोनकै डिसअर्डरका कारण हुने समस्या प्रति सचेतना के कस्तो छ ? जस्तै बालबालिकामा ढिलो या चाँडो शारिरीक विकास हुँदा के भयो भन्दै उपचारमा आउने अवस्था छ कि छैन ?
पहिलेको भन्दा सचेतना केही बढिरहेको छ । आमाबुवा छोराछोरीको स्वास्थ्यप्रति कन्सर्न छन् । तर उपचारमा कतिखेर लिएर आउने भन्ने कुराको जानकारी भने धेरै अभिभावकमा छैन । जस्तै १८ १९ वर्ष पछाडि उपचारमा ल्याउँछन् जुनबेला उनीहरुको हड्डी फ्युजन भइसकेको हुन्छ ।
त्यस्तो बेलामा उपचारका लागि ल्याउँदा हामीले गर्नसक्ने केही पनि हुँदैन । त्यसैले बच्चालाई ग्रोथ हर्मोन दिनु छ भने १४–१५ वर्षकै उमेरमा या १२–१३ वर्षकै उमेरमा लिएर आउनुपर्ने हुन्छ।

हर्मोनलाई गतिशील ठिक ठाउँमा राख्नका लागि मुख्यतया के कुरामा ध्यान दिनुपर्ने हो ?
हर्मोन भनेको हाम्रो शरीर आफैंले आवश्यकता अनुसार उत्पादन गर्ने हो । त्यसैले विशेष गरी मोटोपनको कारणले हर्मोन गडबडी हुन्छ । जस्तो कि प्याङ्क्रियाज ग्रन्थीले इन्सुलिन बनाउन अल्छी मान्छ ।
त्यो बाहेक बाँकी हर्मोन चाहिँ फिजियोलोजिकल अर्थात् आवश्यकता अनुसार नै उत्पादन तथा सञ्चालन भइरहेको हुन्छ । त्यस्तै कहिलकाहीँ हर्मोनमा डिजिज छ भने ट्युमर या अन्य कुनै समस्या हुनसक्छ । त्यसैले हर्मोनकै कारण हुने मोटोपनलाई घटाएर हामी सुगरबाट जोगिन सक्छौं ।
हर्मोनसँग सम्बन्धी आम समुदायले नबुझेको र महत्वपूर्ण केही छ ?
धेरै कुरा त आइसकेको छ । तर मुख्य कुरा हर्मोन भनेको शरीर आफैंले उत्पादन गर्ने हो । यो कुनै खानेकुराबाट उत्पादन हुँदैन यो क्लिएर बुझ्नुपर्छ ।
कतिपय मान्छेहरु थाइराइडमा यो खाँदा बिग्रन्छ, त्यो खाँदा बिग्रिन्छ, ग्रोथ हर्मोनमा कमी छ भने भिटामिन खानुपर्छ भन्ने धारणा छ । त्यस्तै बढ्दो शरीरका लागि क्याल्सियम खुवाउँदा बलियो हुन्छ भन्ने धारणा छ । तर कुनै पनि खानेकुराले हर्मोन बढ्दैन । यदि समस्या छ भने सम्बन्धित विशेषज्ञको सल्लाहमा हर्मोनल ट्रिटमेन्ट नै चाहिन्छ ।

हर्मोन रोग विशेषज्ञ भएको नाताले अभिभावक र बालबालिकालाई के सुझाव दिनुहुन्छ ?
बच्चामा कतिखेर हर्मोन आवश्यक छ ? कतिखेर हामीले चिकित्सकको सल्लाह लिनुपर्छ ? भन्ने कुरामा अभिभावक एकदमै सचेत हुन आवश्यक छ । कतिपय अभिभावक १८ वर्षमा उपचारमा ल्याएर मेरो बच्चालाई अग्लो बनाइदिनु भन्छन् । त्यसैले यदि हर्मोनल चेकअप गराउनु छ अर्थात् १२–१३ वर्षसम्म पनि हर्मोनल परिवर्तन आएको छैन भने ढिलो नगरी चिकित्सक कहाँ जानुपर्छ ।













प्रतिक्रिया