काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय लिएपछि स्कटल्यान्ड ब्याटिङ गरिराखेको छ ।
१० ओभरको समाप्तिमा स्कटल्यान्डले चार विकेट गुमाएर ६९ रन बनाएको छ ।
सुरुमा बलिङ गरेको नेपालका लागि मनिषा उपाध्यायले तीन विकेट हात पार्दा सीता रानामगरले एक विकेट लिइन् ।
तीन खेल खेलिसकेको नेपालले दुई अंक मात्र जोडेको छ । तेस्रो खेलमा शनिबार नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।
आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब रहेको छ । स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
यस्तै तेस्रो खेलमा भने टेष्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायम राखेको हो । नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा र कविता जोशी छ्न् ।













प्रतिक्रिया