काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको काँधमा राष्ट्रिय झण्डा थियो। त्यसैगरी राष्ट्रपति कार्यालय ‘शीतल निवास’ जलाउन गएकाको काँधमा राष्ट्रिय झण्डा थियो। राष्ट्रिय सम्पत्तिमाथिको आगजनी भलै तत्कालीन सरकारको क्रूरताविरुद्ध थियो भनिए पनि राष्ट्रिय झण्डा कार्यविधिले त्यसलाई दुरुपयोगको रुपमा व्याख्या गरेको छ।
राष्ट्रिय झण्डा कसरी प्रयोग गर्ने कार्यविधिले स्पष्ट पारेको छ। तर केही व्यक्ति तथा राजनीतिक दलले त्यसको दुरुपयोग गर्दै आइरहेका छन्। विशेषगरी सामाजिक सञ्जाल, सडक प्रदर्शन र चुनाव प्रचारप्रसारमा राष्ट्रिय झण्डाको अनादर हुने गरी प्रयोग गरिएको छ।
राष्ट्रिय झण्डा कार्यविधि बमोजिम राष्ट्रिय झण्डाको प्रयोग भएको वा नभएको नियमित अनुगमन जिल्ला प्रशासन कार्यालयले गर्नुपर्ने हुन्छ।
संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको दुरुपयोगको विषयमा आवाज उठाएका छन्। उनले झण्डा लगाउने लुगा जसरी प्रयोग भन्दै आपत्ति जनाएका छन्। साथै, यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गर्न आह्वानसमेत गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,– ‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो। राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन्। तत्काल बन्द हुनुपर्यो। राष्ट्रिय झण्डा ओढ्ने ‘कपडा’ होइन। यसतर्फ सम्वद्ध निकायको ध्यान जावस्।’
त्यसैगरी नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले भीमार्जुनले उठाएको विषय अन्तन्तः सान्दर्भिक रहेको भन्दै यस्ता गैरकानूनी कार्य गर्नेलाई कडा नियमन र नियन्त्रण गर्नुपर्ने औंल्याएका छन्। उनले बुँदागत रुपमा सञ्जालमा लेखेका छन्,– ‘केही दिन पहिले हाम्रो राष्ट्रिय झण्डाको दुरूपयोग सम्बन्धमा वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यले सामाजिक संजालमा वास्तविक कानूनी, व्यवहारिक र तथ्यगत कुरा लेख्नुभएको छ।
मैले निर्वाचन आयोगका दलसँगका हरेक बैठकमा यसबारे कुरा उठाएको छु।
१. राष्ट्रिय झण्डा कसैको प्रचार सामग्री होइन।
२. कुनै दल विशेषको पहिचान पनि होइन
३. यसको प्रयोग जथाभावी गर्न पाइँदैन। कानूनी व्यवस्था नै छ।
४. राष्ट्रिय झण्डाको टोपी, साडी, सर्ट, ज्याकेट जस्ता विभिन्न डिजाइनका पोसाक बनाएपछि राष्ट्रिय झण्डाको गरिमा के हुन्छ ?
५. अझ राष्ट्रिय झण्डा बोकेर आगजनी, तोडफोड र लुटपाटमा हिँडेपछि त झन् राष्ट्रकै बेइज्जत भएको छ।
६. विरोध जुलुसमा राष्ट्रिय झण्डा बोक्नेले राष्ट्र सेवक प्रहरीमाथि ढुंगामुडा र आक्रमण गरेको प्रहरीले उनीहरूलाई लाठी चार्ज गरेको देख्दा अचम्म लाग्ने।
७. यी र यस्ता अनगिन्ती अशोभनीय, गैरकानूनी हर्कत भइरहेकोले निर्वाचन र अन्य अवस्थामा पनि कानूनले तोकेकोमा बाहेक राष्ट्रिय झण्डा प्रयोगलाइ कडा गरी नियमन र नियन्त्रण गरियोस्।’

नेपाल राजपत्रको ‘राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि २०७९’ मा के छ ?
परिच्छेद–१ को दफा ९ मा राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच नआउने गरी प्रयोग गर्नुपर्ने कुरा उल्लेख गरेको छ। ‘राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच नआउने गरी सर्वसाधारण नागरिकले समेत निजी निवासमा राष्ट्रिय झण्डा फहराउन वा प्रयोग गर्न पाउनेछन्। राष्ट्रिय झण्डा फहराउने सम्पूर्ण निकाय तथा नागरिकहरुले समेत नेपाल सरकारले शोक घोषणा गरेको दिनमा अनिवार्य झण्डा झुकाउनुपर्नेछ’ भनेर उल्लेख गरेको छ।
त्यसैगरी दफा– ११ मा राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न कारणमा निषेध गरिएकोबारे उल्लेख गरिएको छ।
१, राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कसैले पनि कार्य गर्न वा गराउन।
२, राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तलपर्ने गरी) राख्न
३, झण्डा च्यात्न, जलाउन, फ्याँक्न र कुनैपनि सामान पोको पार्न
४, व्यापारिक प्रयोजनको लागि विज्ञापनको उद्देश्यले दुरुपयोग गर्न
५, व्यक्तिले आफ्नो शरिरमा झण्डाको प्रतिक टाँस्दा, छाप्दा वा लगाउदाँ कम्मरभन्दा माथिको भागबाहेक अन्यन्त्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन
६, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनैपनि भित्री÷बाहिरी कपडामा झण्डाको प्रतिक वा चित्र राख्न
७, फहराउने प्रकृतिको (झण्डा ओह्रालेर राख्दाबाहेक) कार्यमा बाहेक अन्यन्त्र झण्डाको प्रयोग गर्न पाइने छैन।
झण्डाको दुरुपयोग गर्नेमाथि कारबाही गर्ने गृहको चेतावनी
गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय झण्डाको गरिमा र मर्यादाविपरित प्रयोग गरे कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्। ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्नुहुन अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ।’
त्यसैगरी मुलुकी अपराधसंहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झन्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र सो को उल्लङ्घन भएमा सजायको व्यवस्थासमेत गरिएको छ।

नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको छ। राष्ट्रिय झण्डाको आकार, प्रयोग, प्रयोग गर्ने विधि, राष्ट्रिय झण्डा फहराउने विधि एवम् राष्ट्रिय झण्डाको प्रयोगमा निषेध सहितका प्रावधान रहेका छन्।
मन्त्रालयले भनेको छ, “राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्नेगरी) राख्न, राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरूपयोग गर्न, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्नेगरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतिक/चित्र राख्न, फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओहालेर राख्दाबाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरिएको छ।”
निर्वाचन आयोगको आंचारसहितामा के छ ?
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारमा झण्डाको दुरुपयोग बढेको चौतर्फी आलोचना भएपछि निर्वाचन आयोगले पनि चासो राखेको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवार वा दलले चुनावी प्रचारका क्रममा आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको रयालीमा बढीमा १० वटा मात्र झण्डा प्रयोग गर्न पाउने व्यवस्था तोकिदिएको छ।
तोकिएको संख्याभन्दा बढी झण्डा प्रयोग गर्नु आचारसंहिताको ठाडो उल्लघंन हुने जनाएको छ। साथै, त्यसो गरिएमा कानुनी कारबाहीको भागीदार हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।
आयोगले निर्वाचन आचारसंहिताको स्मरण गराउँदै राजनीतिक दल तथा उम्मेदवारलाई राष्ट्रिय झण्डा प्रयोगको निश्चित सीमा र नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सार्वजनिक कार्यक्रमबाहेक अन्य सामान्य प्रचारप्रसारका सामग्रीमा राष्ट्रिय झण्डाको प्रयोग गर्न वा गराउन पूर्ण रूपमा बन्देज लगाइएको छ।

राष्ट्रिय झण्डाको मान राखौँ : प्रजिअ काठमाडौं
काठमाडौं प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल हालसम्म राष्ट्रिय झण्डाको प्रयोग र दुरुपयोगमा विषयमा अनुगमन नगरेको स्वीकार्छन्। तर पछिल्लो समय सामाजिक सञ्जाल लगायतका प्लेटफर्महरुमा झण्डाको दुरुपयोगको विषय उल्लेखनीय रुपमा उठेका कारणले ‘नोटिस’ मा राखेको जानकारी दिएका छन्।
उनले खबरहबसँग कुरा गर्दै भने, ‘राष्ट्रिय झण्डाको प्रयोग राष्ट्रप्रेमको भावनासँग जोडिएको विषय हो। हरेक नागरिकलाई आफ्नो झण्डाप्रति प्रेम, सद्भाव र सम्मान हुन्छ। साथै, यसको प्रयोग नैतिक विषय हो। कानूनले पनि यसलाई सजाय यही भनेर यकिन गरेको छैन, ‘तर कसरी प्रयोग गर्ने र कहाँ प्रयोग नगर्ने भन्ने कार्यविधि छ। कार्यविधि भन्दा फरक अथवा अशोभनीय प्रयोगको भएको छ भने प्रशासन कार्यालय निगरानी राख्ने कर्तव्य र अबदेखि राख्छ।’













प्रतिक्रिया