भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला’ आयोजना हुने भएको छ ।
गाउँपालिकाको मुख्य आयोजनामा आगामी २०८२ साल माघ १४–२३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने आयोजकले जनाएको छ ।
स्थानीय खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा सामाजिक–सांस्कृतिक गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
प्रतियोगिता पौवादुङमा रङ्गशालामा सञ्चालन हुने उनको भनाइ छ । ‘खेलकुद क्षेत्रसँगै पर्यटनको विकास गर्ने लक्ष्यका साथ विगतका वर्षदेखि पौवादुङमा गोल्डकप र माघी मेला आयोजना गर्दै आएका छौँ,’ अध्यक्ष राईले भने, ‘यस वर्ष पनि सोही उद्देश्यअनुसार कार्यक्रमको तयारी थालिएको छ । माघ १४ देखि २३ गतेसम्म गोल्डकपसँगै माघी मेला सञ्चालन हुनेछ ।’
प्रतियोगितामा देशभरका उत्कृष्ट क्लब तथा खेलाडीको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितासँगै सञ्चालन हुने वृहत माघी मेलामा स्थानीय कला, संस्कृति, परम्परा झल्कने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछन् । गाउँपालिकाले प्रतियोगिता तथा मेलालाई सफल बनाउन खेलप्रेमी, खेलाडी तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।













प्रतिक्रिया