दूध अभावले सङ्कटमा जिरी चीज उद्योग, दाउरा बटुलेरै बित्छ कर्मचारीको ६ महिना « Khabarhub

दूध अभावले सङ्कटमा जिरी चीज उद्योग, दाउरा बटुलेरै बित्छ कर्मचारीको ६ महिना


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाकै पुरानो जीज उत्पादन केन्द्र जिरीमा चौँरीको दूध अभाव हुँदा उद्योग नै सङ्कटमा परेको छ । २०२८ सालदेखि सञ्चालनमा रहेको दोलखाको जिरी स्थित चोर्दुङ चीज उत्पादन केन्द्र दूध अभावको कारण ६ महिना बन्द हुने गरेको छ ।

मंसिर देखि वैशाखसम्म उद्योग बन्द हुने गरेको छ । उत्पादन केन्द्रमा मंसिरदेखि अफसिजन लागेपछि ६ जना कर्मचारीको ६ महिना दाउरा बटुलेरै बित्ने गरेको छ । दोलखामा पछिल्ला वर्षहरूमा चौँरी पालक किसान घटेका छन् ।

जिरीको चीज उत्पादन केन्द्रमा कुनै समय ४ सय दैनिक लिटरसम्म दूध आउने गर्थे । तर अहिले उक्त परिणामको दूध घटेर सिजनमा पनि दैनिक एक सय ५० लिटर दूध मुस्किलले आउने गरेको छ ।

उक्त उत्पादन केन्द्रमा ३/४ वर्ष अघिसम्म १२/१५ वटा गोठबाट दूध आउने गर्थ्यो । तर अहिले ६/७ वटा गोठबाट मात्र दूध आउने गरेको चीज उत्पादन केन्द्र जिरीका कार्यालय प्रमुख मकर बहादुर जिरेलले बताए ।

कार्यालयमा हाल कार्यालय प्रमुख जिरेल सहित ६ जना कर्मचारी रहेका छन् । यो समय उनीहरूको दैनिकी जङ्गल डुलेर र घाम तापेर बित्ने गर्छ ।

दूध उत्पादन घटेसँगै वार्षिक आम्दानी पनि घटेको छ । चीज उद्योगसम्म पुग्ने बाटोको समस्या छ । हिउँदमा मुस्किलले सवारी पुगे पनि मुख्य सिजनमा बाटो बन्द हुने गर्छ ।

जिरी नगरपालिका-५ को साढे २६ सय मिटर उचाइमा रहेको संकलन तथा उत्पादन केन्द्रमा पुग्न जिरी बजारबाट झन्डै सवारीमा एक घण्टा र पैदल हिँड्न साढे एक घण्टा लाग्ने गर्छ । बर्खामा बोकेर बजारसम्म चीज पुर्‍याउनुपर्ने हुन्छ ।

बाटोको पहुँच नहुँदाको कारण पनि दूध आउन छाडेको उनले सुनाए।उत्पादन केन्द्रमा वैशाख देखि कात्तिकसम्म स्थानीय लेकका चौँरीगोठ क्याङ्सेपोखरी, चोर्दुङ, ठुलो पोखरी, काप्ती लगायतका लेकबाट दूध आउने गर्छ ।

जिरीको सहायक उत्पादन केन्द्र गौरीशंकरको चीज उत्पादन केन्द्रमा पनि अहिले दूध अभाव हुँदा कार्यालय बन्द रहेको छ ।

साउन-भदौको मुख्य सिजनमा जिरी तथा गौरीशंकर रहेको सहायक उत्पादन केन्द्रबाट ४ हजार केजी चीज उत्पादन हुने गरेको छ ।

यहाँ उत्पादन भएको चीजलाई जिरीको कोसेलीको रूपमा स्थानीय बजारबाट प्रतिकेजी एक हजार आठ सय रुपैयाँमा बिक्री हुने गरेको छ भने, मुख्य उत्पादन चीज उत्पादन केन्द्रको मुख्य कार्यालय लैनचौर निर्यात हुने गरेको छ।जिरीबाट वार्षिक ६० लाख बराबरको चीज उत्पादन हुने गरेको छ।

घट्दो क्रममा चौँरीको संख्या 

जिरीमा मात्र हैन सिङ्गो दोलखा जिल्लाभर चौँरीपालक किसानसँगै चौँरीको संख्या दिनप्रतिदिन घट्दै गएको छ।दुई वर्ष अघि महामारीको रूपमा फैलिएको लम्पिस्किन रोगको संक्रमणबाट दर्जनौँ चौँरी मरेका थिए । 

त्यसैगरी चरन क्षेत्रको अभाव,जंगली जनावरको आक्रमण र विभिन्न रोगको कारण पनि उच्च दरमा चौँरी मरिरहेको गौरीशंकर-३ झ्याकुका स्थानीय चौँरीपालक किसान साङ्गो शेर्पाले बताए । उनका पनि ५/७ वटा चौँरी र महामारी रोग तथा जंगली जनावरको आक्रमण,चरन क्षेत्रको अभावको कारण मरेको बताए ।

अहिले २५ वटा चौँरी रहेका छन् उनले भने, गत वर्ष जिल्लाको कालिञ्चाेक-१ का विभिन्न गोठमा एक वर्षको अवधिमा १५ वटा चौँरी महामारी रोगको प्रकोपले मरेका थिए । 

६ महिना अफसिजनमा घाम तापेर बिताउने दुग्ध विकास केन्द्र तथा चीज उत्पादन केन्द्रका कर्मचारीले चौँरीपालन व्यवसायलाई प्रवर्द्धन गर्न तथा चौँरीको सुरक्षामा ध्यान नदिने हो भने, केही वर्षमा चौँरीपालन व्यवसायसँगै चौँरी नै लोप हुने अवस्था आउन सक्ने किसानहरू बताउँछन् ।

तस्बिर/समाचार : सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १ : ४४ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी

औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन

 काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं- सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक