चुन्न र सुलभको चुनौती झेल्दै विष्णु, एमालेको पकड क्षेत्रमा कस्तो आउला नतिजा ? « Khabarhub

चुन्न र सुलभको चुनौती झेल्दै विष्णु, एमालेको पकड क्षेत्रमा कस्तो आउला नतिजा ?



काठमाडौं- नेकपा एमालेभित्र छुट्टै गुट चलाउने कोसिसमा रहेका उपाध्यक्ष विष्णु पौडेललाई यस पटक रूपन्देही क्षेत्र नम्बर २ मा ठूलै चुनौती आइपरेको छ। एमाले महासचिव शंकर पोखरेलसँगको द्वन्द्वका कारण रूपन्देही-२ मा आफू असुरक्षित हुने बुझेर उनी पाल्पा २ मा सर्न लागेका थिए । तर अन्तिममा ठाकुर गैरैलाई छाडेर उनी रूपन्देही–२ मै फर्किए ।

चार पटकसम्म जितेको रूपन्देही–२ अहिले पौडेलका लागि कठिन संघर्षको मैदान भएको छ । छोरा पुस्ताका उम्मेदवारले उनलाई टक्कर दिइरहेका छन् । पाँच पटकसम्म अर्थमन्त्री हुँदा पनि विवादले नछाडेको, बालुवाटार जग्गा प्रकरणमा मुछिएको र लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सर्दा नरोकेको जस्ता आरोप उनीमाथि छन् । अहिले यहाँका एमाले नेता कार्यकर्ता र स्वतन्त्र मतदाताबाटै पौडेललाई साथ नमिल्ने चिन्ता छ ।

एमालेमा शंकर पोखरेलसँग गुटगत टकरावका कारण रूपन्देही-२ मा जित्न सकस हुने विश्लेषण भइरहँदा पौडेल भने ढुक्क छन् । हुन त विकास निर्माण र पूर्वाधारको काम गरेको भन्दै रूपन्देही-२ मा पौडेलको प्रशंसा पनि हुने गरेको छ । एमालेप्रतिको वितृष्णा चुलिएको अवस्था र चार पटकसम्म निर्वाचित भएका उनलाई यसपाली चुन्ने विषयमा नजमत विभाजित छ।

रुपेन्देही-२ मा यस पटक कसले जित्छ भनेर आँकलन गर्न हतार हुने बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. अरुणकुमार क्षेत्री बताउँछन् । क्षेत्रीका अनुसार हरेकले आफ्नो दाबेदारीसहित मतदातामाझ गइरहँदा परिणामबारे अनुमान गर्न मुस्किल छ।

दलहरूबीच कडा प्रतिस्पर्धा चलिरहँदा मतदातालाई पनि यहाँ चुनाव राम्रैसँग लागेको छ। अहिले मतदाता तहमै दल फेर्ने क्रम चलेको छ। यहाँ केही स्वतन्त्र मातदतासमेत देखिएको उनको भनाइ छ । ‘सबै उम्मेदवारले आक्रमक प्रचार गरिरहहेका छन्’, उनले भने, ‘यहाँ जनताको मिश्रित प्रतिक्रिया देखिरहेको छु । सबै उम्मेदवारको दौडधूप जारी रहेकाले पछिल्लो लहरले कसलाई चुन्छ भन्ने अड्कल काट्न गाह्रो छ ।’

कस्तो छ पौडेलको विगत ?

पौडेलले संसदीय राजनीति पाल्पाबाट सुरु गरेका थिए । उनी २०५१ सालमा पाल्पा-३ बाट चुनाव लडेका पौडेल कांग्रेस उम्मेदवार सूर्यप्रसाद प्रधानसँग पराजित भए । त्यसबेला प्रधानले २३ हजार ६ सय ९७ मत ल्याउँदा उनले २३ हजार ३३ मत ल्याए । २०५१ सालपछि उनी रूपन्देही-२ बाट निरन्तर लड्दै आएका छन्।   

२०६४ सालको निर्वाचनमा उनले रुपन्देही-९२ बाट नेकपा माओवादी केन्द्रका भक्ति पाण्डेलाई पराजित गरेका थिए ।  २०७० सालको निर्वाचनमा तत्कालीन माओवादी पार्टीले बाबुराम भट्टराईलाई उम्मेदवार बनाएको थियो । त्यसबेला पनि पौडेलले भट्टराईलाई ७ हजार ६४३ मतान्तरले हराइदिएर थप चर्चा कमाए ।

बाबुरामलाई हराएपछि पनि पौडेलले दुई पटक निर्वाचन जिते । उनले २०७४ सालमा तत्कालीन नेकपाको टिकट लिएका पौडेलले ४४ हजार ९ सय ४६ मत ल्याएर जितेका थिए । त्यसबेला कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याए । एमालेभित्रकै गुटका कारण उनी २०७९ मा भने नयाँ खुलेको दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग झिनो मतान्तरले विजयी भए ।

२०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८१ मत ल्याउँदा पौडेलले भने २७ हजार २ सय ६५ मत ल्याएका थिए । त्यसबेला पौडेलको विजयी मतान्तर १३ सय ६६ मात्रै थियो । बाबुरामलाई पराजित गरेर अघि बढेका पौडेल ०७९ मा आइपुग्दा अप्रत्यासित नतिजाका कारण सशंकित बनेर यस पटक पाल्पा जान लागेका थिए ।

पौडेललाई महासचिव पोखरेल समूहकै कारण पनि रूपन्देही-२ मा चुनौती देखिन्छ । यस पटक पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीले युवा सुलभ खरेललाई उम्मेदवार बनाएको छ । कानुनका विद्यार्थी खरेल तार्किक क्षमताका छन् । त्यसकारण पौडेल र खरेलबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा छ । यता, नेपाली कांग्रेसले पनि सफल उद्यमी तथा तलसम्म परिचित चुन्न पौडेललाई उम्मेदवार बनाएको छ । चुन्न सफल व्यवसायी भएकाले त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना उच्च छ।

सहज छैन नयाँ चुनौती

रास्वपाबाट सुलभ र कांग्रेसबाट चुन्नसँगै अरु पार्टीले पनि विष्णुलाई टक्कर दिन नयाँ उम्मेदवार अगाडि सारेका छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाले २०६४ सालमा पौडेललाई पराजित गरेका भक्ति पौडेलका छोरा विश्वदीप पौडेललाई अगाडि सारेको छ । विश्वदीप युवामाझ परिचित छन् ।

उनी सैनामैना नगरपालिका १ वनकट्टाका स्थानीय बासिन्दा हुन् । अर्को रोचक के छ भने २०७९ को निर्वाचनमा उम्मेदवारी रद्द भएका ३२ वर्षीय सामाजिक अभियन्ता निकोलस भुसाल पनि पौडेलको क्षेत्रमा उम्मेदवार छन् ।

भुसाल नेपाल जनसेवा पार्टीका उम्मेदवार हुन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था रहेको स्थानीय पत्रकार सुदीप भण्डारी बताउँछन् । भण्डारीका अनुसार निकोलसलाई यहाँका स्थानीयले रुचाएका छैनन् । तल्लो तहसम्म संगठन नपुगेको र २०७९ को नतिजालाई आँकलन गर्दा नेकपाको पनि प्रभाव बलियो छैन ।

‘यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका बीचै प्रतिस्पर्धा हुने अवस्था छ । प्रभाव र लहरको हिसाबले रास्वपाका उम्मेदवारप्रति उत्साह देखिन्छ,’ भण्डारी भन्छन्, ‘२०७९ को निर्वाचनमा झिनो मतान्तरले रास्वपा उम्मेदवार पराजित भएकाले यस पटक अनपेक्षित नतिजा आउन सक्छ । एमाले उम्मेदवार पौडेल पनि कमजोर भएका छैनन् । उनले तल्लो तहसम्म कार्यकर्ता र संगठन परिचालन गरेका छन् । तर विगत जस्तो सहज छैन । २०७९ को निर्वाचनमा तत्कालीन वाम- लोकतान्त्रिक गठबन्धनको उम्मेदवारी खारेज भएपछि कांग्रेस र असन्तुष्ट पक्षले रास्वपालाई मत दिएका थिए ।’

तर, युवा पुस्ताका मतदाता कांग्रेसका चुन्न र एमालेका विष्णुभन्दा रास्वपाका सुलभसँग नजिक देखिन्छन् । रास्वपाले चुनावी शैली बदलेका कारण पनि यहाँका जनता उत्साहित भएको भण्डारीको भनाइ छ ।

‘केपी ओलीमाथि भएको प्रहारका कारण विष्णुलाई मतदाता फेस गर्न पनि निकै कठिन भएको देखेको छु । मतदाताले उनको जवाफ मागिरहेका छन्’, भण्डारीले अगाडि भने, ‘एमालेको एजेण्डा हुनुपर्छ, अरुलाई गाली मात्रै गरेर निर्वाचन जितिँदैन । धेरैपटक विष्णुलाई हेर्‍यौँ, यसपाली पनि किन हेर्ने ? लगायतका प्रश्न मतदाताले गरिरहेका छन् ।’

विष्णु ६६ वर्ष पुगेका छन् । चुन्न ६० वर्ष पुग्दा रास्वपा सुलभ २९ वर्षीय हुन् । सुलभले युवा–पाका मतदातासँग पार्टीको प्रभाव र आन्दोलनको जस लिँदै प्रचार गरिरहेको देखिन्छ । यता, निकोलसले जुत्ता चुनाव चिह्न लिएर आक्राममक प्रचार गरिरहेकाले केही मत काट्न सक्छन्।

त्रिपक्षीय प्रतिस्पर्धा

रुपन्देही २ मा ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भुसालको मात्र होइन, वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पनि उम्मेदवारी खारेजीमा परेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि कांग्रेसको भोट ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले २५ हजार मत कटाएको विश्लेषण गरिन्छ ।

स्थानीय मनोज पाण्डेका अनुसार अहिले यहाँ सुलभ खरेल र कांग्रेसका चुन्नप्रसादले आक्रामक प्रचार गरिरहेका छन् । पाण्डेका अनुसार धेरैलाई रोजगारी दिएका करेन्ट चाउचाउका मालिक चुन्नप्रसाद पनि घरदैलो गरिरहेका छन् ।

‘विष्णु पौडेल त पुरानै भइहाल्नुभयो । यहाँ रास्वपा र कांग्रेसका चुन्नप्रसादको पनि रोचक प्रचार देखिरहेको छु । करेन्ट चाउचाउका मालिक चुन्नप्रसाद सर्वसाधारण, व्यापारी र उद्योगीसँग नजिकका व्यक्ति हुन् । उनी सबै क्षेत्रलाई मनाउँदै घरघर पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी एजेण्डा नदेखाए पनि लहर व्यापक छ ।’

बुटवल बहुमुखी क्याम्पसका एक प्राध्यापकका अनुसार रूपन्देही-२ मा विकासको हिसाबले हेर्दा विष्णु पौडेल बलिया छन् । तर पछिल्लो लहर र कांग्रेसमा नेतृत्व परिवर्तनका कारणले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्था छ ।

‘२०७९ मा कांग्रेसको उम्मेदवार नहुँदा यहाँको मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको थियो । रुपन्देहीमा अहिले घन्टीको लहर देखिन्छ । तर त्यो लहर मतदाता नामावलीमा नभएकाले पनि चलाएका छन् । विकासको र एजेन्डाको हिसाबले पौडेललाई बलियो मानिन्छ तर कांग्रेसका चुन्न पनि उत्तिकै राम्रा नेता हुन्’, ती प्राध्यापकले भने, ‘बौद्धिक वर्गले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट दिने अवस्था देखिँदैन । उनीहरूले कांग्रेस र एमालेलाई नै देलान् । मेरो मतमा कांग्रेसले बाजी मार्छ जस्तो लाग्दैछ ।’

प्रदेशको राजधानी सारेर बुटवलबाट दाङ लैजाँदा विष्णु पौडेलको चर्को आलोचना भएको थियो । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले विष्णु पौडेलको खोट देखाएर मत मागिरहेका छन् । पौडेलले भने विकास निर्माणका काम देखाइरहेका छन् । जेन-जीका उम्मेदवार भनेर आफूलाई पेश गरे पनि निकोलसले उत्साह ल्याउन सकेका छैनन् ।

रुपन्देही २ मा बुटवल उपमहानगरपालिकाको १ देखि १३ नम्बरसम्मका वडा समेटिएका छन् । यस्तै सैनामैना नगरपालिकाको १ देखि ४ वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ नम्बर वडा छन् । मिश्रित समुदायको बसोबास रहेको यस क्षेत्रमा २०४८ को निर्वाचनमा कांग्रेसका बालकृष्ण खाणले जितेका थिए ।

२०५१ को निर्वाचनमा एमालेका मोदनाथ प्रश्रितले खाणलाई हराए । यहाँ यस पटक एमाले उपाध्यक्ष पौडेललाई चुनौती छ । उनले सम्पूर्ण शक्ति र संगठन परिचालन गरेमा जित्ने सम्भावना उत्तिकै छ । अहिलेसम्म पौडेलले एमालेको तल्लो तहसम्मको कमिटीलाई परिचालन गर्न नसकेको स्थानीय कार्यकर्ता बताउँछन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ७ : ५८ बजे

रमजानको इफ्तार गर्न असिम शाहको निवास पुगे बालेन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु

नाइजेरिया – उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुईवटा छुट्टै जिहादी

टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा भारतले जिम्बाब्वेलाई

‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’मा वियज, केकी र अञ्जु पन्त उत्कृष्ट

काठमाडौं – ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणमा नायक

झापामा एमाले कार्यकर्ताद्वारा पत्रकार आचार्यमाथि आक्रमण

काठमाडौं – पत्रकार अर्जुन आचार्यमाथि झापामा आक्रमण भएको छ ।