वर्षौंदेखि काठमाडौँमा भागदौड जिन्दगी बिताइरहेको म पटक पटक घर जाने बाहना खोज्छु । शास्त्रीय धारणामा जन्मभूमि भनेको नागरिकता, पासपोर्ट र नक्सा होइन। यो ऋण हो। आमाको दूधको ऋण जस्तै जन्मभूमिको माटो, पानी, हावाको ऋण हुन्छ । त्यो ऋण तिर्न मान्छे जति टाढा गएपनि फर्किनुपर्छ भन्ने मान्यता रहेको छ ।
कुनैबेला प्रज्ञा, चेतना र सिर्जनाको संवाहक जन्मथलो विर्घा सुनसान छ । घरहरू छन्, घरलाई प्राण दिने मानिसहरू छैनन् । गाउँका घरमा धुवाँ देखिन छोडेको धेरै भइसक्यो । धेरै गुनासाबीच माटोसँग मुटु जोड्ने हामीसँग पुर्खाको एउटा नासो छ– मातृभूमि पुस्तकालय । नामै मातृभूमि भएपछि त्यसले माटोको सुगन्ध छर्ने नै भयो । यही पुस्तकालयसँगको सत्संगका कारण मैले मेरो खाली घरका भित्तालाई रंगरोगन गरेको छु । बा सुत्ने खाटलाई आफ्नो विश्रामस्थल बनाएको छु । छनछन चुरा बजाएर आमाले अमृतसमान खाना तुल्याएको भान्छामा आगो जोर्ने प्रयास गरेको छु ।
गाडीले इन्धन भरेजस्तै आत्मविश्वास, आत्मसम्मान, सहृदयीभाव र ममताको उर्जा म त्यहाँ पुगेपछि पाउँछु । त्यसले मलाई सुखानुभूति र आनन्दको निद्रा दिन्छ । यसपटकको तिहार हाम्रो पुर्खाले बनाइदिएको त्यही सामुदायिक पुस्तकालयसँगको सामीप्यमा बिताउने सुयोग जुरेको छ । यो पुस्तकालय हामी विर्घेलीहरुको चारधाम हो । सामुदायिक पुस्तकालय भनेको केवल किताब राख्ने घर होइन, यो त पुर्खाले रोपेको प्रज्ञाको बीउ हुर्काउने ज्ञानमन्दिर हो ।
किताबसँगको मेरो सम्बन्ध बाल्यकालदेखि नै रह्यो । प्राथमिक तहमा अध्ययन गर्दादेखि नै पाठ्यक्रमका पुस्तकमा मात्र सीमित नभई पाठ्यपुस्तकबाहिरका किताब पढ्ने बानी बसिसकेको थियो । सायद यसको एउटा कारण मेरा बुबा अंग्रेजी विषय पढाउने शिक्षक हुनु पनि थियो । हाम्रो घरमा बिहानैदेखि ट्युसन पढ्न आउने विद्यार्थीहरूको चहलपहल हुन्थ्यो । भालेको डाकसँगै गुरुकुलको झल्को दिने त्यो वातावरणमा किताब, ज्ञान र अध्ययनप्रतिको लगाव अझ गहिरिँदै गयो । घर घर मात्र नभइ, ज्ञानको खोजीमा आउनेहरूका लागि पनि एउटा ज्ञानमन्दिरजस्तै थियो त्यो मेरो घरको माहोल ।
जीवनयात्राको अन्तिम अध्यायतर्फ लाग्दा बाले व्यक्त गर्नुभएको त्यो वचन अजर अमर राख्न मैले मातृभूमिको सहयात्रा छोड्न सकेको छैन । जीवनको उत्तरार्द्धमा ‘बाबु , मातृभूमि जोगाउनू’ भन्ने दिव्यवाणी मेरा लागि पहिलो र अन्तिम संविधान बन्दै आएको छ ।
यस अवधिमा मातृभूमिले अनेकौँ आरोह अवरोह पार गरेको छ । मातृभूभिसँगको सामीप्यलाई मैले बोझ हैन, कर्तव्यका रुपमा धारण गरेको छु ।
मातृभूमिको त्यही जमिन टेकेर अहिले म देशभरिकै सामुदायिक पुस्तकालयहरूको छाता सङ्गठनमा मुख्य पदाधिकारीमा क्रियाशील छु । पुस्तकालयप्रति मेरो आयतन झन्झन् फराकिलो बन्दै गएको छ ।
राणाकालमै खुलेका पुराना पुस्तकालयहरू अवलोकन गर्ने अवसर पाएको छु । शिक्षा मन्त्रालयसँगको ६३ दिने सहयात्रा र काठमाडौँ विश्वविद्यालयसँगको समन्वयमा ३३ दिनसम्म सञ्चालित सातै प्रदेशको पुस्तकालय अभियानले मलाई एउटा नयाँ अनुभूति गराएको छ । अब मातृभूमि मेरो जिम्मेवारीको एउटा संस्था मात्र रहेन । देशभरका पुस्तकालयहरू पनि मलाई मातृभूमिजस्तै लाग्न थालेका छन् ।
बुबाले सुम्पिनुभएको जिम्मेवारी मातृभूमि पुस्तकालयको संरक्षण र सञ्चालनमा मात्र सीमित छैन भन्ने महसुस हुन थालेको छ । देशभरका सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको अवस्था बुझ्ने, तिनको स्तरोन्नतिका लागि आवाज उठाउने र तिनलाई दिगो बनाउने अभियानमा पनि आफूलाई जोड्नुपर्छ भन्ने लाग्यो । त्यसैले मातृभूमिलाई केन्द्रमा राखेर सुरु भएको मेरो यात्रा अहिले देशभरका पुस्तकालयहरूसम्म फैलिएको छ ।
दुईपटकको सातै प्रदेशको यात्रामा विभिन्न पुस्तकालयहरूको अवस्था, व्यवस्थापन, सम्भावना र चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएँ । सबैभन्दा ठूलो चुनौती पुस्तकालयको दिगोपनमा देखियो । सुदूरपश्चिम प्रदेशको एउटा पुस्तकालय सम्मेलनका क्रममा एक जना पुस्तकालय सञ्चालकले सुनाउनुभएको अनुभव अझै मेरो मनमा ताजै छ ।
उहाँले भन्नुभएको थियो– ‘पहिले पुस्तकालयमा पाठकहरूको भीड लाग्थ्यो । किताबहरू हराउने र चोरी हुने डरले हामी किताब जोगाउन चिन्तित हुन्थ्यौँ । अहिले त पाठक नै आउँदैनन् । कहिलेकाहीँ त चोर पाठक नै आएर किताब चोरेर लगिदिए पनि हुन्थ्यो जस्तो लाग्छ । तर त्यो अवस्था पनि रहेन !’
उनका यी शब्दमा एउटा पुस्तकालय सञ्चालकको पीडा मात्र थिएन, देशभरका सामुदायिक पुस्तकालयहरूले भोगिरहेको साझा यथार्थ झल्किन्थ्यो ।
हामीले राजनीतिक इतिहासमा राणाशासनलाई ठीक मान्दैनौँ । तर काठमाडौँमा रहेको केसर पुस्तकालयको कथा बेग्लै छ । त्यसका संस्थापक केशरशमशेर राणा पुस्तकका यस्ता सौखिन थिए कि बेलायतबाट आफ्नो व्यक्तिगत खर्चमा पुस्तक झिकाउँथे । आज पनि त्यो पुस्तकालयमा १५ सय वर्षअघि छापिएका हस्तलिखित पुस्तक सङ्ग्रहित छन् । प्रत्येक पुस्तकालयमा उनको हस्ताक्षर छ । पुस्तक चोरबाट पुस्तक जोगाउन उनले पुस्तकमै लेख्ने गरेका थिए– ‘यसलाई चोरेर लैजानेलाई श्राप लागोस् ।’
डिजिटल प्रविधिको विकासले ज्ञान र सूचनामा पहुँच सहज बनाएको छ। तर यसको अर्थ भौतिक पुस्तकालयको अस्तित्व समाप्त भयो भन्ने होइन । बरु पुस्तकालयले आफ्नो स्वरूप, सेवा र कार्यशैली समयअनुसार परिवर्तन गर्नुपर्ने बेला आएको हो । अब पाठक पुस्तकालयसम्म आउने मात्र होइन, पुस्तकालय पनि पाठकको दैलोसम्म पुग्नुपर्छ। पाठकको रुचि, आवश्यकता र समयअनुसार पुस्तकालयका सेवा विस्तार हुनुपर्छ ।
मातृभूमि सामुदायिक पुस्तकालयलाई स्थानीय सरकारसँग जोडेर सञ्चालन र व्यवस्थापनमा सहयोग जुटाउन हामीले निरन्तर प्रयास गर्यौँ । गत वर्ष पालिका र वडाबाट केही सहयोग प्राप्त हुँदा हामी निकै उत्साहित भएका थियौँ । कर्मचारी व्यवस्थापन र सञ्चालनमा प्राप्त भएको त्यो सानो सहयोगलाई पनि हामीले सुदामाको कनिकासरह आत्मीयतापूर्वक स्वीकारेका थियौँ ।
त्यसले ममा एउटा आशा जगाएको थियो– अब स्थानीय सरकारले पुस्तकालयको जिम्मेवारी पनि आफ्नो हो भन्ने महसुस गर्न थालेछन् । तर यसपटक पटकपटक अनुरोध र हारगुहार गर्दा पनि अपेक्षित सहयोग प्राप्त हुन सकेन ।
देशभरका पुस्तकालयको अवस्था बुझ्ने क्रममा कतिपय स्थानीय तहमा नगरपालिका र गाउँपालिकाले मात्र होइन, वडा कार्यालयहरूले समेत पुस्तकालयको संरक्षण र सञ्चालनमा सहयोग गरिरहेको देख्दा मातृभूमिका लागि पनि थप आशावादी भएको थिएँ । तर यसपटकको अनुभवले केही निराश बनायो ।
यद्यपि, मेरो आत्मविश्वासको महल ढलेको छैन । राम्रो नियतले गरिएका कर्महरू कालान्तरमा अवश्य राम्रै परिणामका लागि हुनेछन् भन्ने विश्वास छ । एउटा ढोका बन्द हुँदा अन्य दशवटा ढोका खुल्छन् भन्ने आशामा म सधैँ अडिएको छु ।
यहीबीच फरक प्रसङ्गमा दक्षिण कोरियामा रहेका केही भाइहरूसँग पुस्तकालयको श्रीवृद्धिको विषयमा कुराकानी भइरहेको थियो । कुराकानीकै क्रममा मातृभूमिको अवस्थाबारे प्रसङ्ग उठ्यो । उहाँहरूले मातृभूमिका लागि केही गर्न पाए हुन्थ्यो भन्ने आत्मीय इच्छा व्यक्त गर्नुभयो ।
मातृभूमिलाई त्यसबेला सबैभन्दा बढी आवश्यकता आर्थिक सहयोगभन्दा पनि नियमित सञ्चालन र व्यवस्थापनमा सहयोगको थियो । सामग्रीभन्दा पनि संस्थालाई निरन्तरता दिन सक्ने स्रोत र जनशक्तिको आवश्यकता थियो ।
मेरो कुरा पूरा हुन नपाउँदै भाइहरूले प्रस्ताव राख्नुभयो– ‘दाइ, हामी आफ्नो तर्फबाट मातृभूमिका लागि केही गर्न चाहन्छौँ। यो अभियानमा हामीलाई जोडिने एउटा अवसर चाहिएको हो ।’
त्यसपछि भर्चुअल बैठक भयो । बैठकमा उहाँहरूले देखाउनुभएको उत्साह, सदाशयता र आत्मीयता साँच्चिकै अनपेक्षित थियो । मैले त्यतिबेला पनि आफ्नो मनको कुरा राखेँ ।
विभिन्न संघसंस्थाले आर्थिक सहयोग सङ्कलन गरेका हुन्छन् । तर कतिपय अवस्थामा सहयोग गर्ने दाताहरूलाई पारदर्शी हिसाबकिताब उपलब्ध नगराउँदा उनीहरूको मन दुखेको, उत्साह मरेको र विश्वास टुटेको मैले आफ्नै आँखाले देखेको छु । त्यसैले आर्थिक सहयोग सङ्कलन गर्ने विषयमा म त्यति उत्साहित हुन सक्दिनँ भन्ने कुरा भाइहरूलाई स्पष्ट राखेँ ।
अझ अचम्म त के भयो भने, २४ घण्टा पनि नबित्दै २३ जना सहयोगी भाइहरूको नामावलीसहित करिब दुई लाख बाह्र हजार छ सय चालीस रुपैयाँ सहयोग सङ्कलन भइसकेको जानकारी आयो । उहाँहरूले भन्नुभयो– ‘दाइ, यो मातृभूमि हाम्रो नाभी गाडिएको ठाउँ हो। यो हाम्रो साझा शैक्षिक र पवित्र संस्था हो । यहाँ जात, जाति, धर्म, उमेर र समुदायको कुनै विभेद छैन । यस्तो संस्थाका लागि केही गर्न पाउनु हाम्रो अधिकार पनि हो, इच्छा पनि हो । त्यसैले हाम्रो यो भावनालाई स्वीकार गरिदिनुहोस् ।’
उहाँहरूको यो आग्रहले म केही समय भावुक भएँ । बुबा पुस्ताले सुरु गरेको अभियानलाई भाइ पुस्ताले यसरी आत्मियतापूर्वक काँध थाप्छन् भन्ने मैले सायद कल्पना पनि गरेको थिइनँ ।
आज भाइटीकाको दिन । परदेशमा रहेका भाइहरूले घरदेश सम्झेर मातृभूमिका लागि पठाएको यो उपहार मेरा लागि पैसाको अंकमा सीमित रहेन । यो त करोडौँको भरोसा, आत्मीयता, प्रेम र विश्वासको प्रतीक हो । संस्थाका लागि केही नयाँ गर्ने हुटहुटी जगाउने अमूल्य प्रसाद हो ।
ती युवाहरू भौतिक रूपमा घर छोडेर परदेशमा छन्, तर उनीहरूको मन भने आफ्नै माटो, गाउँ, समाज र असल कर्मसँगै रहेछ । आफ्नो जन्मभूमि र पुर्खाले स्थापना गरेको संस्थाप्रतिको माया र जिम्मेवारी उनीहरूमा उत्तिकै जीवन्त रहेछ भन्ने देख्दा मन गर्वले भरियो ।
आज मलाई भाइ पुस्ताप्रति गर्व लागेको छ। उनीहरूमाथि भरोसा जागेको छ । अब मातृभूमिको यात्रामा म एक्लो छैन भन्ने अनुभूति भएको छ । भौतिक रूपमा हजारौँ किलोमिटर टाढा रहे पनि उनीहरू मेरो विचार, भावना र अभियानसँगै छन् । अब उनीहरूको साथ केवल भावनात्मक र नैतिक मात्र रहेन, संस्थागत विकासका लागि आर्थिक र व्यावहारिक सहयोगका रूपमा पनि जोडिएको छ ।
म यो सहयोगलाई केवल आर्थिक सङ्कलनका रूपमा हेर्न चाहन्नँ । यो त पुस्तान्तरणको एउटा सुन्दर उदाहरण हो । पुर्खाले रोपेको ज्ञानको बीउलाई नयाँ पुस्ताले मलजल गर्ने प्रतिबद्धताको सुखद साइत हो । यो मातृभूमिप्रतिको अपनत्व, जन्मभूमिप्रतिको कर्तव्यबोध र साझा सम्पत्तिको संरक्षणप्रतिको जिम्मेवारी हो ।
मलाई हजुरबा पुस्तालाई देख्दा श्रद्धाले शिर झुक्छ, बा पुस्तालाई सम्झिँदा गर्वले छाती चौडा हुन्छ, दाइ पुस्तासँग रहँदा आत्मीयता र आदर जाग्छ भने भाइ पुस्तालाई देख्दा मनमा असीम भरोसा र आशा पलाउँछ ।
मेरो विश्वास छ, यी पुस्ताहरूबीचको प्रेम, सद्भाव, एकता र सहकार्य नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो । हजुरबा पुस्ताले देखाएको बाटो, बा पुस्ताले गरेको त्याग र योगदान, दाइ पुस्ताको अनुभव र अभिभावकत्व अनि भाइ पुस्ताको जोस, जाँगर र समर्पणलाई एउटै सूत्रमा जोड्न सक्यौँ भने हामीले गर्न नसक्ने काम सायदै केही होला ।
हिजोको पुस्तालाई सम्मान, आजको पुस्तालाई जिम्मेवारी र भोलिको पुस्तालाई विश्वासका साथ अघि बढ्न सक्यौँ भने जन्मभूमिप्रतिको हाम्रो ऋण र दायित्व अवश्य पूरा गर्न सक्छौँ। यो माटोले हामीलाई दिएको पहिचान, संस्कार र अस्तित्वको सम्मान गर्दै यस पवित्र भूमिमा एउटा सुन्दर र ऐतिहासिक इतिहास रच्न सक्छौँ भन्ने गहिरो विश्वास छ ।
भाइहरूको आजको साथ, सहयोग, आत्मीयता र समर्पण देख्दा मन साँच्चै भावुक भएको छ । यो केवल सहयोग मात्र होइन, पुस्तौँलाई जोड्ने माया, विश्वास र साझा सपनाको सुन्दर सुरुवात हो । तपाईंहरूको साथ र भरोसा रहिरह्यो भने जन्मभूमिका लागि अझ धेरै गर्न सकिन्छ भन्ने आँट, ऊर्जा र हौसला मिलेको छ ।
हामी सबै मिलेर आफ्नै माटोका लागि केही गरौँ, यस्तो काम गरौँ जसले आजको पुस्तालाई गर्व र भोलिको पुस्तालाई प्रेरणा दिन सकोस् । वाल्मीकि रामायणमा लक्ष्मणले लंकाको वैभव देखेर त्यहीँ बस्न आग्रह गर्दा भगवान रामले भनेका थिए– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।’ माटो, मुटु र मस्तिष्कको संयोजनबाट मात्र मानिसले मानिस हुनुको कर्तव्य निर्वाह गर्न सक्दछ ।














प्रतिक्रिया