नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका रूपमा लिन सकिन्छ। सरकारको सञ्चालन आफ्नै तरिका र परिस्थितिको बाध्यात्मक अवस्थाबाट भइरहेको हुन्छ। तर, दुई देशबीचको सांस्कृतिक समानताका कारण जनस्तरमा स्थापित सम्बन्ध र बन्धुत्व कहिल्यै कमजोर भएन।
नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध यति बढी प्रगाढ एवं अद्वितीय छ कि यसको बराबरी विश्वका अन्य कुनै पनि देशबीचको सम्बन्धले गर्न सक्दैन। नेपाल र भारत एकअर्कासित आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रूपमा अनन्य भावले जोडिएका छन्। त्यसैले हाम्रा सम्बन्ध अतुल्य छन्।
नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्न सक्दैनौँ। वैदिक ज्ञानको दृष्टिले हामीले आँखा खोलेदेखि नै नेपाल–भारत सांस्कृतिक सम्बन्धको अस्तित्वलाई आफूसँगै सुन्दै र बुझ्दै आएका छौँ। अध्यात्म र संस्कृतिको एकताले भारतलाई नेपालसित आन्तरिक रूपमा यसरी बाँधिदिएको छ कि दुवै देश पृथक भएर पनि अभिन्न छन्।
नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ। नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका साझेदार र संवाहक हुन्। हिमालय हामी दुवैका निम्ति आत्मसाधनाको स्थल रहिआएको छ। अनन्तकालदेखि नै हिमालयका महान् शिखरले हामी दुवैलाई आध्यात्मिक शक्ति प्रदान गर्दै आएका छन्।
नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ। नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका साझेदार र संवाहक हुन्।
नेपालमा पञ्चायती शासनको अवसान र देशमा बहुदलीय शासनको पुनःस्थापनापश्चात गठित अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई परिभाषित गर्दै भनेका थिए:
“अस्त्युत्तरस्यां दिशि देवात्मा हिमालयो नाम नगाधिराजः।
पूर्वापरौ तोयनिधी वगाह्य स्थितः पृथिव्या इव मानदण्डः।।”
(कुमारसम्भवम्)*
*द्रष्टव्य: मूल पाठमा ‘मेघदूतम’ लेखिएको यो श्लोक वास्तवमा महाकवि कालिदासकृत ‘कुमारसम्भवम्’ को हो।
देवताको आत्मा, ऋषिमुनिको तपोभूमि, गङ्गा, यमुना, कोसी, गण्डकी, कर्णालीको उद्गमस्थल, विदेशीको आकर्षणको केन्द्र मनोहर हिमालय यस पृथ्वीको मापन यन्त्र हो। यसको पूर्वी तथा पश्चिमी क्षेत्र महासागरबाट स्नेह प्राप्त गर्दै अनादिकालदेखि स्थित छ। यो रमणीय हिमालय नेपाल र भारतका प्रत्येक व्यक्तिको आस्था एवं श्रद्धाको केन्द्रबिन्दु रहिआएको छ। यस हिमालयको दक्षिणी क्षेत्रमा नेपाल तथा भारत अवस्थित छन्।
जगतका मातापिता पार्वती र शङ्कर हाम्रा आदिदेव हुन्। उनको निवासस्थान कैलाश पर्वत मानिन्छ, जुन नेपाल र भारत दुवै देशका श्रद्धालुको पवित्र तीर्थस्थल हो। दुवै देश हिन्दू बाहुल्य भएर पनि धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन्। यहाँका नागरिक जुन धर्म एवं पन्थका अनुयायी भए पनि आपसमा मिलेर बस्छन्। यहाँ धार्मिक उदारता र सहिष्णुता पनि उच्च कोटिको पाइन्छ।
१२ वर्षअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् पशुपतिनाथको दर्शनपछि भनेका थिए– ‘नेपालको पशुपतिनाथ र भारतको केदारनाथ दुवै एउटै शिवका दुईवटा नाम हुन्। एउटै ईश्वरीय शक्तिका दुईवटा रूप हुन्।’
दुई भिन्न स्थान र दुई भिन्न देशमा अवस्थित भए पनि यिनमा तात्विक भिन्नता छैन। ठीक त्यसरी नै नेपाल र भारतको संस्कृतिमा कुनै तात्विक भिन्नता छैन। यी दुई देशबीचको सांस्कृतिक परिवेश, स्थान एवं समय परिवर्तनका कारण केही भिन्नता देखिए पनि त्यसले तात्विक भिन्नता ल्याउन सकेको छैन।
१२ वर्षअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् पशुपतिनाथको दर्शनपछि भनेका थिए– ‘नेपालको पशुपतिनाथ र भारतको केदारनाथ दुवै एउटै शिवका दुईवटा नाम हुन्। एउटै ईश्वरीय शक्तिका दुईवटा रूप हुन्।’
भगवान् पशुपतिनाथको नगरी काठमाडौँ र काशी विश्वनाथको नगरी वाराणसीसित आवागमनको सुविधा सहज हुनुपर्ने आवश्यकता पनि मोदीले औँल्याएका थिए। भारतका प्रधानमन्त्री मोदीले जगज्जननी जानकीको भूमि जनकपुरधाम र मर्यादा पुरुषोत्तम श्रीरामको भूमि अयोध्याबीच पनि सहज एवं सुलभ यातायात हुनुपर्ने भन्दै रामायण सर्किटको विषयलाई चर्चामा ल्याएका थिए।
माता सीता जनकपुरबाट अयोध्या जाने मार्गमा विश्राम गरेका स्थलसहित प्रभु श्रीरामको वनवासका महत्त्वपूर्ण स्थल र श्रीलङ्कालाई समेत समावेश गर्ने गरी रामायण सर्किटको अवधारणा भारतीय प्रधानमन्त्री मोदीकै हो। रामायण सर्किटको निर्माणमा नेपाल सरकारले आफ्नो तर्फबाट हुनसक्ने सहयोग र योगदानमा सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ। मोदीको पशुपतिनाथ र जनकपुर भ्रमणपश्चात दैनिक रूपमा हजारौँको सङ्ख्यामा भारतीय तीर्थयात्री र पर्यटक नेपाल भित्रिरहेका छन्।
मोदीले मुक्तिनाथ धाम र भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गरेपश्चात भारतबाट लुम्बिनी र मुक्तिनाथधामको दर्शन गर्न आउनेको पनि घुइँचो लाग्ने गरेको छ। भारतीय प्रधानमन्त्रीले नेपालको धार्मिक पर्यटनको बढावाका लागि ऐतिहासिक र उपलब्धिमूलक कार्य गरेको भन्दा अतिशयोक्ति नहोला। तारे होटलमा बस्ने, क्यासिनोमा जुवा खेल्ने, ऐश-आराम गर्ने विदेशी मात्रै पर्यटक हुँदैनन्। पवित्र मन र धार्मिक आस्थाका साथ तीर्थस्थलको भ्रमण गर्ने तीर्थालुहरू पनि सम्मानित अतिथि नै हुन्छन् भन्ने सबैले बुझ्न आवश्यक छ।
भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी, ज्ञान प्राप्ति भूमि बोधगया र निर्वाण प्राप्ति भएको ठाउँ कुशीनगरलाई समेत समेटी बुद्ध सर्किट बनाउने कुरा पनि भइरहेको छ। रामायण र बुद्ध सर्किटको निर्माणबाट यातायात सुगम भई भारतीय धार्मिक पर्यटक र अन्य पर्यटक पनि अत्यधिक सङ्ख्यामा नेपाल भ्रमणमा आउने र नेपाली भारतका तीर्थस्थलको भ्रमण गर्न जाने निश्चित छ।
नेपाली भारतका तीर्थस्थल चारधाम, वाराणसी, अयोध्या, कामाख्या माताको धाम, मथुरा, वृन्दावन, तिरुपति, बाह्र ज्योतिर्लिङ्ग भएका तीर्थस्थल, कोलकाता, गङ्गासागर, वैष्णोदेवी, गङ्गोत्री र हरिद्वार जाने गर्दछन् भने भारतीय धार्मिक पर्यटक पनि मुक्तिनाथ, पशुपतिनाथधाम र जनकपुरधामको दर्शनलाई आफ्नो जीवनको ठूलो उपलब्धि मान्ने गर्दछन्।
नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध त अद्वितीय छ नै, सामाजिक संरचना पनि एक समान छ। रीतिरिवाज, खानपान, भेषभूषा, बोलचालको भाषा करिब-करिब एकैजस्तै पाइन्छ। भारत र नेपालका जनता धार्मिक उदार र सहिष्णु छन्। सायद त्यही भएर दुवै देशको भूमिमा अपनत्वको अनुभूति हुन्छ।
“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत्।।”
गौतम बुद्धले नेपालको लुम्बिनीमा जन्म लिए तर उनले ज्ञान प्राप्ति बिहारको बोधगया तथा निर्वाण प्राप्ति कुशीनगरमा गरे। जसरी भगवान् राम र सीताको उच्चारण जय “सीताराम” वा जय श्रीरामका रूपमा गर्दछौँ, त्यसरी नै नेपाल र भारत पनि सीताराम जस्तै अभिन्न छन्।
यो कल्याणमयी भावना यी दुई देशको सामाजिक व्यवस्थामा ओतप्रोत रहेको पाइन्छ। चार वेद, अठार पुराण, रामायण, गीता, ऋषिका स्मृति हाम्रा एउटै हुन्। नेपाल र भारतका सनातनीबीच अन्तर रहेको पाइँदैन। तीन देवता ब्रह्मा, विष्णु, महेश; तीन शक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीलाई हामी समान रूपले पूजा गर्दछौँ। यस्तै पञ्चदेवता, पञ्चभौतिक, दश दिक्पाल एवं नवग्रहादि देवताको एकसमान पूजा गरिन्छ। पशुपन्छी, जड–जङ्गम सबैमा ईश्वरको अंश हेर्ने हाम्रो मान्यता रहिआएको छ। “अहिंसा परमो धर्मः” को भावना हामी दुवै देशका जनतामा समान रूपले पाइन्छ।
गौतम बुद्धले नेपालको लुम्बिनीमा जन्म लिए तर उनले ज्ञान प्राप्ति बिहारको बोधगया तथा निर्वाण प्राप्ति कुशीनगरमा गरे। जसरी भगवान् राम र सीताको उच्चारण जय “सीताराम” वा जय श्रीरामका रूपमा गर्दछौँ, त्यसरी नै नेपाल र भारत पनि सीताराम जस्तै अभिन्न छन्।
भारतको संविधानको आठौँ अनुसूचीमा हाम्रो राष्ट्रभाषा नेपालीलाई सरकारी मान्यता प्रदान गरिएको छ। भारतको पश्चिम बङ्गालका नेपालीभाषी विद्वानले नेपाली भाषा, साहित्य, कला, सङ्गीत र मनोरञ्जनको क्षेत्रमा धेरै योगदान दिएका छन्। नेपालका पूर्वप्रधानमन्त्रीद्वय बीपी कोइराला र लोकेन्द्रबहादुर चन्दले पनि हिन्दीमा कलम चलाएका छन्। नेपालमा पनि हिन्दी भाषाका थुप्रै लेखक र विद्वान्हरू छन्। कतिपय नेपालीहरूले बलिउडमा अभिनय, गायन, निर्देशन र सङ्गीतमार्फत सेवा दिएका छन् भने भारतीय गायकहरूले पनि नेपाली फिल्ममा गीत गाएका छन्। नेपाल–भारतबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध थप सुदृढ हुन आवश्यक छ।














प्रतिक्रिया