काठमाडौं– काठमाडौंको शान्तिनगर सुकुम्वासी बस्ती अहिले पहिले जस्तो छैन। केही समय अघिसम्म टिनका छाना, बाँसका टहरा, साँघुरा गल्ली र मानिसहरूको भीडले भरिएको त्यो ठाउँ अहिले खाली देखिन्छ ।
कतै भत्किएका बाँसका टुक्रा छन्, कतै च्यातिएका त्रिपाल, कतै पुराना कपडा र भाँडाकुँडा । त्यही बस्तीबाट विस्थापित भएका ६४ वर्षीय लालबहादुर लिम्बू आफ्नो परिवारसहित बनेपास्थित सुकुम्वासी होल्डिङ सेन्टरमा बस्दै आएका छन् । उनको अनुहारमा थकान छ, आँखामा पीडा, तर स्वरमा अझै हार नमानेको अडान सुनिन्छ।
‘हामी सुकुम्वासी हौँ, तर मान्छे पनि हौँ,’ उनी बिस्तारै भन्छन् ।
लालबहादुरको जीवन कुनै साधारण कथा होइन । त्यो संघर्ष, अभाव, प्रेम र आशाको लामो यात्रा हो ।
पूर्व सुनसरी जिल्लाबाट उनी २०४७ सालतिर पोखरा पुगेका थिए। गाउँमा कामको अभाव थियो, परिवार पाल्न कठिन हुँदै गएको थियो । त्यसैले नयाँ जीवनको खोजीमा उनी पोखरा लागे । त्यहाँ उनले करिब दश वर्ष बिताए ।
त्यो समय उनले कुलीको काम गरे । भारी बोक्ने, बजारमा सामान ओसार्ने, दिनभर पसिना बगाउने काम । कहिलेकाहीँ भने उनी पर्खालमा चित्र पनि बनाउँथे । कला उनको मनभित्र लुकेको अर्को संसार थियो, तर पेट पाल्न पहिला श्रम चाहिन्थ्यो ।
२०५७ सालमा उनी काठमाडौं आए । राजधानीले धेरैलाई सपना देखाउँछ, तर सबैलाई ठाउँ दिँदैन । उनी शान्तिनगर सुकुम्वासी बस्तीमा पुगे । त्यहाँ बाँसको सानो टहरा बनाए । पानी चुहिने, हावा छिर्ने, साँघुरो कोठा । तर त्यही कोठा उनको परिवारको संसार बन्यो ।
उनीसँगै थिइन् उनकी श्रीमती सङ्गीता लिम्बू । सबैले ‘थापा सारु मगर’ भनेर चिन्ने सङ्गीता उमेरले उनीभन्दा निकै कान्छी भए पनि जीवनको दुःख र संघर्ष बराबरी बाँडेकी थिइन् । उनीहरूका दुई सन्तान भए-छोरी नाइमा लिम्बू र छोरा सुशील कुमार लिम्बू ।
सुशील अहिले १९ वर्षका छन् । बनेश्वरको एउटा कलेजमा पढ्छन् र भर्खरै +२ परीक्षा दिएका छन् । तर उनी बाबुआमासँग बस्दैनन् । सुकुम्वासी बस्तीमा पढ्न उपयुक्त वातावरण नभएकाले उनी आफ्नी ठूलीआमासँग बसेर पढिरहेका छन् । परिवारको सपना छ-सुशीलले राम्रो पढोस्, जीवन बदलोस् ।
तर यो परिवारको सबैभन्दा गहिरो कथा नाइमासँग जोडिएको छ ।
नाइमा जन्मिएदेखि नै बिरामी थिइन् । उनी हिँड्न सक्दिनथिन् । बोल्न पनि सक्दिनथिन् । डाक्टरहरूले उनको शरीरमा मुख्य हड्डीको विकास नभएको बताए। रोगको नाम थियो ‘आर्टेजिज्म’ । त्यो खबरले लालबहादुर र सङ्गीताको संसार हल्लियो ।
तर लालबहादुर हार मानेनन् ।
उनले आफ्नै सानो कोठाभित्र एउटा खाल्डो खने । त्यो खाल्डो कुनै खेल्ने ठाउँ थिएन, त्यो एउटा बाबुको आशा थियो ।
उनी नाइमालाई घण्टौँ त्यहाँ राख्थे ताकि शरीरले सन्तुलन सिक्न सकोस् । पछि उनले एउटा वाकर किने । दिनहुँ छोरीलाई समातेर हिँड्न सिकाउन थाले ।
त्यो संघर्ष एक–दुई दिनको थिएन । चार वर्षसम्म लगातार उनीहरूले यही प्रयास गरे । कुलीको काम गरेर कमाएको थोरै पैसाले पोसिलो खाना जुटाए । आफैँ भोकै बसे पनि छोरीलाई राम्रो खाना खुवाए । बिहानदेखि बेलुकासम्म काम गरेर थाकेको शरीर लिएर फर्किएका लालबहादुर फेरि छोरीलाई हिँडाउने अभ्यास गराउँथे ।
चार वर्षपछि एउटा दिन आयो, जुन दिन उनीहरूको जीवन बदलियो । नाइमाले पहिलो पटक आफैँ पाइला चालिन् ।
सानो कदम थियो त्यो, तर लालबहादुरका लागि संसारकै ठूलो जीत । नाइमा अझै बोल्न सक्दिनन्, तर उनका आँखाले बुबाको माया, संघर्ष र विश्वास सबै व्यक्त गर्छन् ।
समय बित्दै गयो । संघर्षबीच पनि परिवारले बाँच्ने आशा छोडेन । २०७९ सालमा लालबहादुरले शान्तिनगरमा बसोबासका लागि आवश्यक कागजी प्रक्रिया पूरा गरे । अब सायद जीवन अलि सुरक्षित होला भन्ने लागेको थियो ।
तर २०८३ साल वैशाख १२ गते बिहान शान्तिनगरमा डोजर आयो ।
त्यो दिन बस्तीभर रुवाबासी थियो । मानिसहरू हतार–हतार सामान बोकेर भागिरहेका थिए । कतै बच्चा रोइरहेका थिए, कतै वृद्धहरू चिच्याइरहेका थिए । डोजरले बाँसका घरहरू एकपछि अर्को गर्दै भत्काउँदै गयो । वर्षौंको दुःखले बनाएका घर केही मिनेटमै माटो भए ।
लालबहादुर चुपचाप उभिएर त्यो दृश्य हेरिरहेका थिए ।
सबैभन्दा पीडादायी कुरा के थियो भने, बस्ती खाली गर्न उनीहरूलाई तीन दिनअघि मात्र सूचना दिइएको थियो ।
‘हामीलाई कम्तीमा ३५ दिनको समय दिएको भए, आफैँ सफा गरेर, अर्को ठाउँ खोजेर बिस्तारै सर्थ्यौँ,’ उनी भक्कानिँदै भन्छन् । ‘तीन दिनमा कहाँ जाने ? कसरी जाने ? मेरी छोरी चार वर्षमा हिँड्न सिकेकी हो, उसलाई तीन दिनमा कहाँ लैजाने ?’ उनको प्रश्नको उत्तर कसैसँग छैन।
अहिले पनि लालबहादुर र सङ्गीता स्थायी घरविहीन छन्। जग्गा छैन, सुरक्षित आश्रय छैन । तर उनीहरू अझै बाँचेका छन् । किनकि उनीहरूलाई जीवनले धेरै पटक ढाले पनि उठ्न सिकाएको छ ।
नाइमा अहिले बुबाकै छेउमा उभिन्छिन् । उनी बोल्दिनन्, तर उनको मौन उपस्थिति नै एउटा गहिरो कथा हो । त्यो कथा एउटा बाबुको अथक संघर्षको कथा हो । एउटा आमाको सहनशीलताको कथा हो। एउटा परिवारको कथा हो, जसले अभावमा पनि आशा छोडेन ।
शान्तिनगरको धूलोमाथि उभिएका लालबहादुर फेरि एकपटक आकाशतिर हेर्छन् । सायद उनी अझै पनि कुनै सुरक्षित घरको सपना देखिरहेका छन् ।

























प्रतिक्रिया