अस्तव्यस्त अस्पताल : कतै लामो लाइन, कतै ज्यान जोगाउन डाक्टर पलायन « Khabarhub

अस्तव्यस्त अस्पताल : कतै लामो लाइन, कतै ज्यान जोगाउन डाक्टर पलायन


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपचारका लागि देशका प्रमुख सरकारी तथा सामुदायिक अस्पताल पुग्ने सर्वसाधारणले चरम सास्ती भोगिरहेका छन् । लामो प्रयासपछि केही सुध्रिएको भनिएका अस्पतालको व्यवस्थापन पछिल्लो समय पुनः अस्तव्यस्त बन्न थालेको छ ।

सोमबार धुलिखेल अस्पतालमा बिहानैदेखि तीन–चार घण्टासम्म लामबद्ध हुँदा पनि टिकट नपाएपछि आक्रोशित बिरामी र आफन्तले ठूलो हुलदङ्गा गरेका छन् । यस्तै अवस्था महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीयू टिचिङ) मा पनि देखिएको छ ।

त्यहाँ उज्यालो नहुँदै झिसमिसेमै सुरु हुने बिरामी र आफन्तको लाइन दिउँसोसम्मै रहन्छ । दैनिक सयौँ बिरामी टिकट नपाएरै घर फर्कन बाध्य छन् । जसका कारण अस्पताल प्रशासन र बिरामीबीच दिनहुँ नोकझोँक हुने गरेको छ ।

सधैँ चाप रहने सिभिल अस्पतालको अवस्था पनि उस्तै छ । बिहान ४ बजेदेखि लाइनमा बस्दा समेत टिकट नपाएका कैयौँ सर्वसाधारणले सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै आक्रोश र विरोध जनाएका छन् ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा देखिएको यो कुशासन र अस्तव्यस्तताप्रति नागरिकले राजनीतिक नेतृत्व र स्थानीय जनप्रतिनिधिहरूमाथि आक्रोश पोख्न थालेका छन् । समयमै उपचार नपाउँदा दैनिक हजारौँ विपन्न नागरिक निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भइरहेका छन् ।

पूर्वी नेपालको उदयपुरस्थित कटारी अस्पतालमा पनि यस्तै दुःखद घटना भएको छ । जसका कारण अस्पताल प्रमुख डा. गौरव साहले अस्पताल परित्याग गर्नुपरेको छ ।

अस्पतालको सेवा सुधारमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गौरव साहले असुरक्षाको कारण देखाउँदै अस्पतालबाट बाहिरिने घोषणा गरेका छन् ।

के थियो घटना ?

सोमबार बिहान सौगात एकेडेमी बोर्डिङ स्कुलको (लु.प्र ०१–००१ ख ०९८५) नम्बरको बसबाट खसेर कटारी–२ निवासी ३१ वर्षीय सह–चालक उत्तम थापा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएपछि शव पोस्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको थियो ।

अस्पतालमा भर्खरै जडान गरिएको शव संरक्षण फ्रिज (मर्चुरी फ्रिज) विद्युत् आपूर्तिको गडबडीका कारण सञ्चालन हुन सकेको थिएन । फ्रिज बिग्रिएकै बेला शव राख्नुपर्ने भएपछि मृतकका आफन्त र केही स्थानीयवासी आक्रोशित बने ।

आक्रोशित भीडले पोस्टमार्टम कक्षबाट शव निकालेर इमर्जेन्सी कक्षमा ल्याएर नाराबाजी गरेका थिए । सोही क्रममा मेसु डा. साहमाथि गालीगलौज र कुटपिटको प्रयास भएपछि उनले ज्यान जोगाउन अस्पताल परिसर छाड्नुपरेको थियो ।

दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : डा. साह

२०७३ फागुन २१ गते कटारी अस्पतालको कार्यभार सम्हालेका डा. साहले सामाजिक सञ्जालमार्फत एक भावुक बिदाइ पत्र लेख्दै आफ्नो ९ वर्षको यात्रा टुङ्गिएको घोषणा गरेका छन् । आफू आउँदा नयाँ भवन बनेर पनि हस्तान्तरण नभएको दयनीय अवस्था सम्झिँदै उनले तत्कालीन मेयर ज्ञानेन्द्र श्रेष्ठ र वर्तमान मेयर राजेशचन्द्र श्रेष्ठसँगको समन्वयमा अस्पताललाई ’आधारभूत अस्पताल’ का रूपमा विकास गरेको उल्लेख गरेका छन् ।

हाल अस्पतालमा ७ विशेषज्ञसहित १३–१४ जना चिकित्सकको टोलीले सेवा दिइरहेको र चालू आर्थिक वर्षको अन्तिम कामका रूपमा ब्लड बैंकको ठेक्का समेत भइसकेको उनले बताएका छन् । ‘मैले आफ्नै छोराको जन्म यहीँको अप्रेसन कक्षमा गराएँ, छोरीलाई कटारीकै विद्यालयमा पढाएँ र कटारीलाई सधैं आफ्नो घर मानेँ’ डा. साहले लेखेका छन्, ‘कटारी छाड्दा स–सम्मान जान चाहन्थेँ, तर आज ज्यान जोगाउने गरी हिँड्नुपर्‍यो । यस घटनाको निष्पक्ष छानबिन होस्, दोषी प्रमाणित भए म सजाय भोग्न तयार छु ।’

नेपाल चिकित्सक संघको कडा आपत्ति

चिकित्सक सुरक्षित र भयरहित वातावरणमा काम गर्न नपाएको भन्दै नेपाल चिकित्सक संघ (एनएमए) ले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका महासचिव डा. सञ्जिव तिवारीले निकालेको विज्ञप्तिमा कटारी अस्पतालका मेसु डा. साहमाथि भएको दुव्र्यवहार, गालीगलौज र धम्कीको घोर भर्त्सना गरिएको छ ।

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार वा कुटपिट गर्नेलाई ’जेल विदाउट बेल’ (हिरासतमा राखेरै कारबाही गर्ने व्यवस्था) अनुसार ’शून्य सहनशीलता’ को नीति अपनाई अभियोग चलाउन सरकारसँग माग गरेको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्राविधिक समस्यालाई लिएर चिकित्सकमाथि नै जाइलाग्ने यस्ता अराजक गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमै गम्भीर असर पार्ने भन्दै चिकित्सक संघले दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याउन चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ६ : २९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा