सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न « Khabarhub

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

सशस्त्रको गोलीबाट एकको मृत्यु, २२ घाइते, सुनसरीका ५ स्थानमा कर्फ्यु


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे कार्यकाल सकिएर सुरक्षा निकाय नेतृत्वविहीनजस्तै बनेको र जिल्ला तथा प्रदेश तहमा बलियो कमान्डर नभएको संवेदनशील समयमा सुनसरीको देवानगञ्जमा दुई समुदायबीच हिंसात्मक झडप भएको छ।

सुरक्षा निकायमा माथिल्लो तहको सरुवा र नेतृत्व व्यवस्थापनमा भएको ढिलाइको प्रत्यक्ष असर फिल्डको शान्ति-सुरक्षा कमान्डमा पर्दा सशस्त्र प्रहरीको गोली लागेर एक सर्वसाधारणको मृत्यु भएको छ भने १३ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।

गृहमन्त्री सुधन गुरुङ गत असार अन्तिम साता पूर्वी नेपाल पुगेका थिए । त्यसबेला तस्करी नियन्त्रणमा असफल भएको भन्दै उनलेे हलचोकलाई निर्देशन दिएर झपा र सुनसरीका सशस्त्रका एसपीलाई हेडक्वाटर तान्न निर्देशन दिए।

गत असार ३० मा सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण इनरूवाका एसपी श्याम कार्कीलाई हेडक्वार तानिएको थियो । तर उनको ठाउँमा सुधनले आजसम्म अर्को एसपी पठाएका छैनन् । छानबिनका नाममा सुरक्षाका हिसाबले सबैभन्दा संवेदनशील सुनसरीमा कमान्डर नै झण्डै एक महिनादेखि खाली राखियो ।

उता झापाबाट अम्बिका प्रसाद जोशी तानिए। उनको स्थानमा पनि छानबिनका नाममा सुधनले नयाँ सरूवा गर्न दिएका छैनन् । ‘तानेपछि अर्को मान्छे पठाउनु पर्छ, कि छानबिन सकेर त्यही अधिकारी पठाउनु पर्छ’, सशस्त्रका एक अधिकारीले भने, ‘तर गृहले दुवै जिल्लामा कमान्डर पठाउन चासो दिएन। अन्ततः कमाण्ड नहुँदाको परिणाम सुनसरी घटना हामीसामु देखियो ।’

सुनसरी भारतसँग जोडिएको संवेदनशील सीमाक्षेत्र भएको जिल्ला हो । यहाँबाट ठूलो मात्रामा गाँजासहित लागुपदार्थ तस्करी हुन्छ। भारतबाट नेपालतर्फ हुने तस्करी पनि डरलाग्दो छ। अर्कोतिर दुई धार्मिक समुदायको विवाद यहाँ नयाँ होइन । तर पनि इनरूवाबाट दक्षिणी सीमासम्म सुरक्षाको जिम्मेवारी पाएको ब्यारेककै कमान्डर खाली राखिनुको परिणाम आइतबार मध्यरातमा एक युवाले गोली खाएर ज्यान गुमाए ।अन्य युवालाई पनि ताकेरै पेट र छातीमा गोली हानिएको छ।

सशस्त्र प्रहरी नियमावली अनुसार एसपी (गणपति) हरूको सरुवा गर्ने अधिकार महानिरीक्षकलाई भए पनि गृहमन्त्री र संगठन प्रमुखबीचको समन्वय अभावका कारण असार मसान्तमा कार्यकाल सकिएका ८ वटा गणका गणपतिको सरुवा रोकिएको छ। यही प्रशासनिक ढिलासुस्ती र कार्यस्थलमा स्पष्ट कमान्डर नभएको मौकामा आइतबार राति सुनसरीको कप्तानगञ्जमा बोलबमको डिजे विवादले उग्र रूप लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति साउन महिनाको बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू डिजे बजाउँदै जाने क्रममा अर्को समुदायसँग विवाद भएको थियो। स्थानीय स्तरमा स्थिति सम्हाल्ने अनुभवी र आधिकारिक कमान्डरको उपस्थिति नहुँदा सुरुमा प्रहरी चौकीबाट खटिएको सानो टोलीले परिस्थिति नियन्त्रणमा लिन सकेन। त्यसपछि दुवै पक्षबाट चिर्पट, ढुंगा, लाठी र भाला बोकेर मानिस सडकमा उत्रिँदा स्थिति नियन्त्रणा बाहिर पुगेको थियो।

मैदानमा खटिएका सुरक्षाकर्मीबीच पूर्वतयारी र समन्वय अभाव देखिँदा झडपमा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित ८ नेपाल प्रहरी र ५ सशस्त्र प्रहरी घाइते भए। टाउकोमा ५ टाँका लागेका प्रहरी निरीक्षक राईको पेस्तोलबाट ३ राउन्ड हवाई फायर भए पनि स्थिति साम्य हुन सकेन। लगत्तै स्पष्ट माथिल्लो आदेश र परिपक्व कमान्डबिनै सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो।

प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी मुख्यालयमा गणपतिको कार्यसम्पादन र सरुवालाई लिएर गृहमन्त्री सुधन गुरुङ र महानिरीक्षक नारायणदत्त पौडेलबीच मतभेद कायम रहँदा सीमा र संवेदनशील क्षेत्रका गण नेतृत्वविहीन वा अन्योलको स्थितिमा छन्। जसको परिणाम स्वरूप आइतबार राति देवानगञ्जमा भीड नियन्त्रणका न्यूनतम उपाय अवलम्बन नगरी सीधै घातक बल प्रयोग हुन पुगेको स्थानीय र राजनीतिक प्रतिनिधिले आरोप लगाएका छन्।

घटनापछि मात्रै कोशी प्रदेश प्रहरी गण र जिल्लाका विभिन्न वृत्तबाट ३७६ जना अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। तर, सुरक्षा निकायको माथिल्लो नेतृत्व र कमान्ड शृङ्खलामा देखिएको सुस्तताका कारण एउटा सामान्य विवादले साम्प्रदायिक हिंसाको रूप लिएको भन्दै सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।

घट्नास्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले भीड नियन्त्रणका नाममा सुरक्षाकर्मीले सर्वसाधारणमाथि अत्यधिक र घातक बल प्रयोग गरेको गम्भीर आरोप लगाएका छन्।

“हाम्रा अबोध युवाहरूमाथि ताकी-ताकी गोली हानिएको छ। घाइतेहरूको अवस्था हेर्दा धेरैजसोलाई कम्मरभन्दा माथिल्लो भाग, पेट र ढाडमा गोली लागेको छ,” सांसद थापाले भने, “भीड नियन्त्रण गर्दा घुँडामुनि गोली हान्नुपर्नेमा सर्वसाधारणलाई मार्ने नै नियतले शरीरका संवेदनशील भागमा गोली चलाइएको देखिन्छ।”

उनले सरकारको असफलता ढाकछोप गर्न घटनालाई धार्मिक रंग दिन खोजिएको हो कि भन्ने आशङ्का व्यक्त गर्दै प्रशासनलाई थप हिंसा हुन नदिन संयमता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ८ : ३५ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु