डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो « Khabarhub

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

प्रहरी कमान्डर घाइते भएपछि आएको सशस्त्रको टोली पनि घेराबन्दीमा पर्‍यो


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपको अवस्था सानो घटनाले सुरू भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्।

जिल्ला सुरक्षा समितिको बैठकमा ब्रिफिङ र सञ्चारकर्मीहरूसँगको संवादका क्रममा उनले सानो धार्मिक कुराबाट मानिसको ज्यानै जाने अवस्था उत्पन्न भएको पनि उनले बताएका छन् ।

उनले सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज क्षेत्र पहिलेबाटै संवेदनशील रहेको पनि बताएका छन् । उनले आइतबार राति भएको घटनालाई गम्भीर भन्दै अबका दिनमा यस्तो हुन नदिन सबैले सहयोग गर्नुपर्ने पनि बताए ।

‘अबका दिनमा शान्ति सुरक्षा बनाइराख्न हामीलाई सबैको सहयोग चाहिएको छ। थप क्षति हुन नदिन सर्वदलीय-सर्वपक्षी साथ दिनु होला । छलफल र संवादबाट यो समस्यालाई हल गर्छौँ । सबै जिल्लावासी दाजुभाइ दिदीबहिनीलाई संयम अपनाउन अपील गर्छौँ’, उनले भने, ‘भएको क्षतिबारे छानबिन हुन्छ। यो घटनामा संलग्नलाई कारबाही हुनेछ । गृहमन्त्रालयले छानबिन समिति बनाएको छ। दोषीलाई कारबाही हुन्छ। घाइतेको प्रभावकारी उपचार हुन्छ । मृतक परिवारलाई पर्न गएको कुराको सम्बोधन हुन्छ। घाइतेको उपचार गर्न सरकारले सबै पहल गर्छ।’

उनले यो समस्या हामी थप क्षति र सामाजिक विद्रोहबिना समाधान गर्न सकिने पनि विश्वास जनाए । ‘प्रभावित क्षेत्रका दिदीबहिनी दाजुभाइहरूमा संयमता अपनाउन अपील गर्छौँ’, उनले भने ।

कसरी भयो घटनाको सुरूवात ?

घिमिरेका अनुसार कप्तानगञ्जको नयाँ हटिया क्षेत्रमा हिन्दु पक्षधर भनिने र मुस्लिम पक्षधर भनिनेबीच मेला लगाएको कुराले विवादको बिउ रोपेको थियो । साउनलाई हिन्दुहरूले शिवको महिनाका रुपमा पूजा गर्छन् । त्यही क्रममा कप्तानगञ्जका हिन्दुहरूले आइतबारदेखि नै सोमबारका लागि शिव भजन र कीर्तन राख्न नयाँ हटिया क्षेत्रमा धार्मिक मेला लगाएर ठूलो आवाजमा डिजे बजाउन थालेका थिए ।

घिमिरेले बताएअनुसार तर अर्को समुदाय अर्थात् त्यहाँका मुस्लिमहरूले आफ्नो टोलतिर फर्काएर ठूलो आवाजसहित डिजे बजाइदिएको भन्ने आरोप लगाएका थिए । साउन महिनालाई विशेष मान्दै त्यहाँ हिन्दुहरूले पहेँलो रंगका धार्मिक झण्डा र ध्वजापताका पनि राखेका थिए । चोकचोकदेखि हाईमास लाइटमासमेत हिन्दुहरूले धार्मिक झण्डा राखेका थिए। तर चोकचोकमा राखिएकामध्ये केही झण्डा भने हटाइएको थियो । झण्डा हटाएको र राखेको कुरालाई लिएर दुई पक्षीय युवाहरूबीच सुरूमा भनाभन चल्यो ।

त्यससँगै आइतबार राति सवा १० बजेतिर साउनमा हुने बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका थिए । त्यसक्रममा डिजेको चर्को आवाजलाई लिएर अर्को समुदायका युवाले विरोध जनाए । त्यसक्रममा दुवै पक्षबीच सुरू भनाभन ठेलाठेलमा परिणत हुँदै झडप हुन थालेको घिमिरेले बताए ।

झडपको अवस्था हुन थालेको थाहा पाउनेबित्तिकै प्रहरी चौकी कप्तानगञ्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा टोली पुगेर दुवै पक्षलाई सम्झाउन खोज्यो । तर प्रहरीकै सामु दुवै समुदायका थप मानिस चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर उत्रिए । त्यहाँ अवस्था सम्हाल्न नसकिने भयो ।

झडपको अवस्था देखिएपछि स्थानीय कप्तानगञ्ज चौकीबाट गएको प्रहरी गएर रोक्न मिहिनेत पनि गर्‍यो । प्रहरीले दुई समूहलाई फरक फरक दिशातिर पठाउन खोज्दा उल्टै आक्रमण भएको घिमिरे बताउँछन्। त्यही क्रममा प्रहरी निरीक्षक श्रेष्ठको टाउकोमा एउटा समूहका युवाले चिर्पट हाने । टाउको फुटेर कमान्डर नै घाइते भएपछि उनलाई लिएर प्रहरी टोली मेडिकल पुग्यो ।

टाउको फुटेर कमान्डर घाइते भएपछि प्रहरीले मेडिकलतर्फ जाँदा त्यहाँ केही समय खाली अवस्था भयो । त्यसपछि त्यहाँ सशस्त्र प्रहरीको २० जनाको टोली पुगेर तनाव व्यवस्थापन गर्न खोज्यो। तर त्यो भिडले सशस्त्रको टोलीलाई पनि आक्रमण गर्‍यो । त्यहाँका स्थानीयले पनि आफूलाई त्यही कुरा भनेका प्रजिअ घिमिरे बताउँछन्।

घिमिरेका अनुसार सशस्त्रमाथि पनि प्रहरीलाई जस्तै त्यो भिड जाइ लाग्यो । चारैतिरबाट सशस्त्र प्रहरी भिडको घेराउमा पर्‍यो। ढुंगामुढा हानिएपछि सशस्त्रले आत्मरक्षाका लागि २० राउन्डजति हवाई फायर गरे रिपोर्ट आएको घिमिरे बताउँछन्। ‘हवाई फायर मात्रै हुँदा एकाएक गोली लागेर एकजनाको ज्यान गएको छ। अन्य १० जना व्यक्तिहरू गोली लागेर घाइते भएका छन्’, घिमिरे भन्छन्, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्चार्ज दुवैले हवाई फायर गरेको हो भनेर मलाई रिपोर्टिङ गरेका छन् । तर व्यक्तिलाई गोली लागेको अवस्था छ। घटनास्थलमा भेटिएका गोलीका खोका पनि नियन्त्रणमा लिएका छौँ । त्यसमा अनुसन्धान हुन्छ।’

घिमिरेले देवानगञ्जको कप्तानगञ्ज क्षेत्र पहिलेबाटै संवेदनशील रहेको सुनाए । ‘दुवै समुदायका मानिस एकै क्षेत्रमा बसेका छन् । त्यो क्षेत्रलाई हामीले संवेदनशील नै मान्दै आएका छौँ । अहिलेसम्म जेजति क्षति भयो । त्यसमा अब हामीले गर्न सक्ने सहयोग र उपचार गर्छौँ’, उनले भने, ‘हामी तनाव कम गर्ने दिशामा काम गरिरहेका छौँ। अब अवस्था नियन्त्रणबाहिर जान नदिन हामी लागिरहेका छौँ।’

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  २ : ३४ बजे

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक