काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरण गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा : आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले बुधबार रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल-भारत सम्बन्धका विषयमा निर्धारित धारणा राख्नुभन्दा पहिले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा उनले उपस्थित सबैलाई एक मिनेट मौनधारण गर्न आग्रह गर्दै बुधबारको बाढीले भोटेकोशी र त्रिशूली नदीको जलाधार क्षेत्रमा बस्ती, जलविद्युत् आयोजना, सडक तथा पुललगायतका संरचनामा क्षति पुर्याएको र धेरै मानिसको ज्यान गएको बताए ।
‘अहिले म क्षतिको यकिन संख्या बताउन सक्ने अवस्थामा छैनँ। तथ्यांक संकलन पूरा भएको छैन,’ लामिछानेले भने, ‘सरकारले हरेक मोर्चाबाट काम गरिरहेको छ। सुरक्षा निकायमार्फत खोज तथा उद्धार भइरहेको छ भने प्रभावित जिल्लामा राहत पुर्याउने काम जारी छ।’
उनले कठिन परिस्थितिमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुटेका स्थानीय समुदायप्रति आभार व्यक्त गरे ।
विपद्का बेला बाह्य सहयोग पुग्नुअघि नै स्थानीय समुदाय पहिलो उद्धारकर्ताका रूपमा परिचालित हुने गरेको उनले उल्लेख गरे ।
लामिछानेले विपद्को समयमा नेपाललाई सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बुधबार साँझ टेलिफोन गरी समवेदना व्यक्त गर्नुका साथै नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा उनले आभार व्यक्त गरे ।
भारतले सहयोगको प्रस्तावसँगै राहत सामग्रीसमेत नेपाल पठाएको उल्लेख गर्दै लामिछानेले अन्य अन्तर्राष्ट्रिय साझेदारले पनि नेपाललाई सहयोग गर्ने तत्परता देखाएको बताए ।
कठिन समयमा मित्रराष्ट्रबाट प्राप्त सहयोग र ऐक्यबद्धता औपचारिकतामा मात्र सीमित नरहेको उनको भनाइ थियो ।
लामिछानेले बुधबारको बाढीले नेपालमा मात्र नभई सीमापार चीनमा समेत क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा देखिएको विपद्को प्रभाव कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहेको बताए ।
‘नेपाल, भारत र चीन तीन देश हुन्, तर हामी एउटै हिमाली प्रणालीमा छौँ। हाम्रा नदीहरू एउटा सीमाभन्दा माथि सुरु भएर अर्को सीमाभन्दा तल पुग्छन्,’ उनले भने, ‘बुधबार बिहान नेपालमा जनधन लिएको पानीले आफू कुन देशको भूभागमा बगिरहेको छ भनेर सोधेन।’
उनले हिमालयमा जलवायु परिवर्तनको प्रभाव तीव्र रूपमा देखिइरहेको बताउँदै हिमनदीहरू पग्लिँदै गएको र हिउँ भएका स्थानमा तालहरू निर्माण हुँदै गएको उल्लेख गरे ।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, पूर्वसूचना प्रणालीको विकास तथा जोखिमसम्बन्धी तथ्यांक सीमापार तत्काल आदानप्रदान गर्न नेपाल, भारत र चीनले मिलेर काम गर्नुपर्ने उनले बताए ।
‘जलवायु परिवर्तन भइसकेको अवस्थामा अब हामीले अनुकूलनका योजना बनाउनुपर्छ,’ लामिछानेले भने, ‘हिमनदी पग्लिन वा हिउँ खस्नबाट रोक्न नसकिएला, तर त्यसबाट हुने विपद्बारे आश्चर्यचकित हुनबाट आफूलाई रोक्न सक्छौँ ।’
उनले प्रभावकारी पूर्वसूचना प्रणालीमार्फत विपद्को जोखिममा रहेका परिवारलाई जीवन जोगाउन आवश्यक समय उपलब्ध गराउन सकिने बताए ।
‘हामी उपत्यकामा रहेका परिवारलाई उनीहरूको जीवन जोगाउन निर्णायक बन्न सक्ने २० मिनेटको समय दिन सक्छौँ,’ उनले भने ।
लामिछानेले बुधबारको विपद्मा आफन्त गुमाएका तथा घर र बस्ती गुमाएका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै देश शोकमा रहेको बताए ।
साथै, कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्ने विश्वभरका नेता, द्विपक्षीय तथा बहुपक्षीय निकाय, विकास साझेदार, मित्रराष्ट्र तथा सर्वसाधारणप्रति धन्यवाद व्यक्त गरे ।
उनले विपद्का कारण कार्यक्रमका लागि यसअघि तय गरिएको ‘आकांक्षी नेपाल र उदाउँदो भारत : सँगै हाम्रो भविष्य निर्माण’ विषयमा धारणा राख्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा उक्त विषयमा आफ्ना विचार राख्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।












प्रतिक्रिया