‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’ « Khabarhub

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

गाउँ सबै सकिए, माटोको पहाडबाहेक केही देखिँदैन



बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको गोसाईकुण्ड गाउँपालिकाका धेरै स्थानहरू बस्तीविहीन बनेका छन्। रसुवासँगै नुवाकोट, धादिङ र चितवनमा पनि ठूलो क्षति भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका २, ३ र ५ वडा लगभग ध्वस्त भएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ बताउँछन्। तामाङका अनुसार वडा नम्बर ५, र २ मा सबैभन्दा धेरै क्षति भएको छ । नदी किनारका बस्ती शून्य बनेका छन्। अहिलेसम्म रसुवामा फसेका र घाइतेहरूको उद्धार भइसकेको उनले जानकारी दिए । गाउँपालिका अध्यक्ष तामाङका अनुसार जीवित व्यक्तिहरूको उद्धार भइसकेको हो। उनी अब शव निकाल्ने काम सुरू हुने बताउँछन्। निकाल्न सकिने अवस्थाका शव संकलन थालिएको उनले जानकारी दिए । पानी नपरेमा बाढी गएको स्थान नभासिने भएकाले शव निकाल्न सहज हुने तामाङको भनाइ छ। बुधबारको बाढीपछि त्यहाँको पछिल्लो अवस्थाबारे तामाङसँग खबरहबले गरेको कुराकानी :

बाढीपछि रसुवाको पछिल्लो अवस्था कस्तो छ, बताइदिनु न ?

फसेका र घाइतेहरूको धमाधम हेलिकप्टरमार्फत् उद्धार भइरहेको छ। फसेकाहरूको उद्धार गरिसक्यौँ र। अब शव खोज्ने प्रक्रिया सुरु हुन्छ। हिजोदेखि नै खटिरहेका छौं । बेलुका पनि उद्धार कार्यमा थियौँ। स्याफ्रुबेँसी कुनामा अलिकति घर बचेका छन्। टिमुरे छैन, घट्टेखोला छैन । रसुवागढीको चीन-नेपाल भन्सार केही पनि छैन। मान्छे पनि केही मात्रै बाँचेको आकलन छ। पूरै बगर छोपेजस्तो बनेको छ। ठूला ठूला भवनहरूको कुनै भग्नावशेष छैन। डाँडाका गुम्बा अलिअलि देखिएका छन्।

पालिकाको भवन छैन, स्वास्थ्य चौकी भवन छैन, पुलिसको भवन छैन स्याफ्रुबेँसीमा । पूरै माटोको पहाड देख्दा मन भक्कानिन्छ । त्यहाँका साथीहरू कहाँ जानुभयो ? गाउँलेहरू कहाँ गए ? ती घरहरू कता गए ? सपनामा पनि नसोचेको भयावह अवस्था भयो । खोला छेउमा बस्ती बसाउन अब सम्भव छैन। वडा नम्बर ५ र २ को खोला छेउका बस्ती सबै पुरिए । हेलीकप्टरबाट वडा नम्बर ३ का वडाध्यक्षले हिजो हेर्नुभएको रे, सबै पहाड मात्रै देखिन्छ। सिमेन्टको खानी जस्तो भयो त्यति राम्रो बस्ती ।

कति मान्छे त्यहाँ बसोबास गर्नुहुन्थ्यो ? कति जति बेपत्ता हुनुभएको छ प्रारम्भिक अनुमान ?

अहिले यति नै भन्ने अवस्था नै छैन। किनभने धेरैजना मानिस जिल्ला बाहिरबाट पनि आएर बसोबास गरिरहनुभएको थियो। त्यसकारण यो मृत्युको बढ्न सक्ने सम्भावना छ । हिसाब गर्ने अवस्था छैन। सबैको पहलमा घाइते र जीवितको सकुशल उद्धार गर्यौ यो नै ठूलो कुरा हो। यहाँको अरु अवस्था त के भनेर देखि सक्नु छैन । देखेका र उद्दार हुने ठाउँका सबै कुराहरू उद्धार भइरहेका छन्। जङ्गलमा फसेका ओडारमा बसेका रुखमा चढेका सबैको उद्धार गरिसक्यौँ।

उद्धारमा समस्या छैन ?

पानी नपरेकाले समस्या छैन । स्थानीय तह, प्रदेश र केन्द्र सबै सरकार लागेर काम गरिरहेका छौँ। हिजैबाट समन्वयमा निरन्तर काम भइरहेको छ। एकरूपता र एकचित्त भएर उद्धारमा लागेका छौं। शवबहरू हेर्न भ्याएको छैन । अहिले जीवितलाई जतिसक्दो उद्धार गरौँ भनेर खटेका हौँ।

अहिले बाढीको अवस्था चाहिँ कस्तो छ ?

बाढी खासै आएको देखिँदैन तर गोसाईकुण्ड गाउँपालिकाका २ र ३ वडा पूरै ध्वस्त भएको छ । वडा नम्बर १ पनि धेरैजनालाई प्रभावित गरेको छ। बाढी आउन सक्छ भन्ने सन्देशका कारण यहाँ जतिसक्दो चाँडो उद्धारमा खटौँ भनेर लागिरहेका छौँ । अहिले धुन्चेबाट हामीले उद्धार गरिरहेका छौं, धुन्चेमा हेलिकप्टरले उद्धार गरिरहेको छ । ३ नम्बर वडाबाट १२ जना हराउनुभयो । ५ र २ को कति भनेर अन्दाज गर्ने अवस्था छैन। सबैभन्दा धेरै प्रभावित ५ र २ भयो, ३ मा पनि क्षति धेरै भएको छ।

उद्धारका लागि हेलिकप्टर पर्याप्त छन् ?

हजुर, अहिले पर्याप्त छन्। सरकारले अहिलेसम्म जीवित सबैलाई सकुशल उद्धार गर्नु ठूलो उपलब्धि मानेको छ। शव पनि लगभग पठाइरहेका छौं। भेटेजति संकलन भएको छ। पहिला जीवित उद्धार गरौं भनेर लागेका छौँ। खोज्न पनि समस्या छ। बाढीको क्षेत्रमा भासिने सम्भावना देखिन्छ । दुई तीन दिन पानी नपरेमा शवहरू निकाल्न सहज हुन्छ। वडा नम्बर २ र ३ का जीवितहरूको उद्धार भइसक्यो ।

गाउँपालिका उपप्रमुख, वडा नम्बर २ र ५ को वडाध्यक्ष पनि सम्पर्कविहीन हुनुहुन्छ रे हो?

हो, वडा नम्बर ५ को वडाध्यक्ष सम्पर्कविहीन हुनुहुन्छ। नगरपालिकाको उपप्रमुख पनि सम्पर्कविहीन हुनुहुन्छ। वडा नम्बर २ को वडाध्यक्षसँग पनि सम्पर्क भएको छैन।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ७ : २९ बजे

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान