काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवहरु पोखरा पठाइएको छ । प्रदेश अस्पताल गोरखाको शवगृहमा राखिएका ११ वटा सग्ला शवहरु पोखराको गण्डकी सरकारी अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।
प्रदेश अस्पताल गोरखाको शवगृहमा ठाउँको अभाव भएपछि पोखरा पठाइएको उनले जानकारी दिए । अस्पतालको शवगृहमा २३ वटा शवहरु राखिएकोमा ११ वटा पोखरा पठाइएको त्यहाँका मेडिकल सुपरिटेन्डेण्ट सम्भु अधिकारीले जानकारी दिए । गोरखाबाट सग्ला शवहरु मात्र पोखरा पठाइएको उनले बताए ।
‘हाम्रो शवगृहको क्षमता जम्मा दुईवटा हो, त्यहाँ भित्र इनडोर एसी लगाएर राख्दा ६–७ वटा शवहरु व्यवस्थापन गरेर राख्न मिल्थ्यो’, मेसु अधिकारीले भने, ‘हाम्रो क्षमताले नभ्याउने भएपछि सग्ला शवहरुलाई पोखरा पठाएर शरीरका अंगहरु मात्र यहाँ राखेका छौँ । थप शवहरु आउने क्रममा नै छन् । ती मध्य सग्ला पोखरा पठाउँछौँ, शरीरका अंगहरु भने यहीँ व्यवस्थापन गरेर राख्छौँ ।’
व्यवस्थित शवगृह नहुँदा शवहरु बिग्रने, गन्हाउने र रोगहरु फैलने हुँदा सग्ला शवहरु पोखरा पठाइएको प्रदेश अस्पताल गोरखाका मेडिकल सुपरिटेन्डेण्ट सम्भु अधिकारीले बताएका छन् । ‘कम्तीमा पहिचान खुल्ने सग्ला शवहरु नबिग्रिउन् भनेर पोखरा पठाएका छौँ । शरीरका अंगहरु मात्र फेला परेको हकमा डिएनए परीक्षण गर्न सकिन्छ’, उनले भने ।












प्रतिक्रिया