काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी छन् । त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन् ।
चितवन राइनोज कुशल मल्लको नेतृत्वमा रहेको छ । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका खेलाडी समावेश छन् । त्यस्तै, चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी छन् ।
यस्तै, आजै अपराह्न साढे ४ बजे हुने खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्ने छन् । जनकपुरको नेतृत्व कप्तान हर्मित सिंह र कर्णालीको नेतृत्व सोमपाल कामीले गर्दै छन् ।
सोमबारदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । एनपीएल समूह चरणका खेलहरु कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् ।
यस पटकको एनपीएलमा केही नयाँ सुविधा थपिएका छन् । एनपिएलमा पहिलो पटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस)को व्यवस्था गरिएको छ । यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरस्कार राशि पनि वृद्धि गरेको छ । प्रतियोगितामा उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई ८० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।














प्रतिक्रिया