युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम « Khabarhub

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन र सहर छाड्न चाहने बासिन्दालाई सुरक्षित स्थानमा जान सहयोग गर्ने उद्देश्यले मङ्गलबार बिहानदेखि सीमित क्षेत्रीय युद्धविराम लागू भएको छ । 

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको भनिएको उक्त युद्धविराम प्रभावकारी भए–नभएको भने स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

रुस र युक्रेनले स्थानीय समयअनुसार बिहान ३ बजेदेखि युद्धविराम पालना गर्ने बताएका छन् । रुसी रक्षा मन्त्रालयले खेरसन क्षेत्रमा गोलीबारी रोकिएको जनाएको छ भने युक्रेनका मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले पनि सहमति कार्यान्वयन भइरहेको बताएका छन् ।

यद्यपि, युद्धविराम लागू भएको भनिएकै समयमा युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र आक्रमणको चेतावनी जारी गरिएको थियो । किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार एउटा प्रमुख पुलमा भएको आक्रमणबाट मेट्रो पूर्वाधारमा क्षति पुगेको छ ।

सन् २०२२ मा रुसी सेनाले कब्जा गरेको ओलेस्कीमा युद्धअघि करिब २४ हजार मानिस बसोबास गर्थे । अहिले सहरमा करिब दुई हजार मानिस मात्र बाँकी रहेको अनुमान छ, जसमा ५० जना बालबालिका छन् । खाद्यान्न र औषधिको अभाव झेलिरहेका उनीहरूलाई सहर छाड्नसमेत कठिनाइ भइरहेको छ । 

केही बासिन्दा परेवा सिकार गरेर र बगैँचामा उपलब्ध खानेकुराको भरमा गुजारा गर्न बाध्य छन् । सहरकी पूर्वबासिन्दा ओल्गाका अनुसार त्यहाँ रोटी बनाउन आवश्यक पिठोसम्म अभाव भएको छ ।

मेलानिया ट्रम्पले सहर छाड्न चाहने बासिन्दालाई उनीहरूले रोजेको गन्तव्यसम्म पुग्न यातायात र आवश्यक सहयोग उपलब्ध गराइने बताए । तर, युद्धविरामको अवधि, त्यसको निगरानी र मानवीय सहायता वितरणको प्रक्रियाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । युक्रेनले रुसमाथि बासिन्दालाई सहरबाट बाहिरिन नदिएको आरोप लगाउँदै आएको छ भने मस्कोले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

युद्धका साथै सन् २०२३ मा काखोभ्का बाँध भत्किएपछि आएको बाढीले ओलेस्कीमा ठूलो क्षति पुर्‍याएको थियो । युक्रेनी सेनाले सार्वजनिक गरेका ड्रोन दृश्यमा सहरका आवासीय भवनहरू क्षतिग्रस्त अवस्थामा देखिएका छन् । सेनाका अनुसार बाँकी रहेका बासिन्दालाई खाद्यान्न र औषधि पुर्‍याउन ड्रोनको प्रयोगसमेत गरिएको छ ।

युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला यो युद्धविराम भएको हो । रुस, युक्रेन र अमेरिकाबीच शान्ति वार्ता नोभेम्बरमा पुनः सुरु गर्ने तयारी भइरहेको बताइएको छ । 

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता ठूलो सङ्ख्यामा सैनिक तथा सर्वसाधारणको मृत्यु भएको छ भने लाखौँ मानिस विस्थापित भएका छन् । हाल रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ५ : ४४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म