काठमाडौँ – इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने अनुमानसहित आमनिर्वाचनका लागि मतदान जारी छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि पहिलोपटक त्यहाँ आमनिर्वाचन हुन लागेको हो । स्थानीय समयअनुसार बिहान ७ बजे खुलेका मतदान केन्द्रमा योग्य मतदाताले राति १० बजेसम्म मतदान गर्न सक्नेछन् ।
शुक्रबार सार्वजनिक गरिएको चुनावी सर्वेक्षणले प्रधानमन्त्री नेतान्याहू र पूर्वसेनाप्रमुख आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ ।
इजरायली संसद् (नेसेट)मा कुल १२० सिट छन् । सरकार गठन गर्न कुनै एक दल वा गठबन्धनले कम्तीमा ६१ सिट जित्नुपर्ने हुन्छ । तर, निर्वाचनमा कुनै पनि राजनीतिक गठबन्धनले एक्लै बहुमत प्राप्त गर्ने सम्भावना कम रहेको आकलन गरिएको छ ।
त्यसैले निर्वाचनपछि गठबन्धन सरकार गठन गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान छ । सरकार गठनका लागि दलहरूबीच हुने वार्ताका कारण नयाँ सरकार बन्न केही हप्ता वा महिना पनि लाग्न सक्ने बताइएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो । त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सञ्चालन गर्दै आएको छ । उक्त कारबाहीमा हालसम्म ७२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको समाचारमा उल्लेख छ ।













प्रतिक्रिया