काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार घटनाको कारण र परिस्थितिबारे अझै स्पष्ट भइसकेको छैन ।
कोलम्बियाको मानव अधिकारसम्बन्धी संस्था कर्पोरेसन फर पिस एन्ड सोसल डेभलपमेन्ट (कर्पेड्स) का अनुसार प्रारम्भिक विवरणले घटना फिरौती असुलीसँग सम्बन्धित हुन सक्ने सङ्केत गरे पनि आक्रमणको वास्तविक उद्देश्य पुष्टि भएको छैन ।
सामाजिक सङ्गठन र स्थानीय सञ्चारमाध्यमले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोमा पाँच जनाको शव बोकेको एउटा गाडीमा आगो लागेको देखिएको छ । गोली हानाहानका क्रममा छैटौँ व्यक्तिको मृत्यु भएको पनि भिडियोमा देखाइएको छ ।
कर्पेड्सका अनुसार घटनामा मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न र आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।
हुइला विभागकै अल्जेसिरास नगरपालिकामा यस्तै घटना भएको एक दिनपछि सुजामा आक्रमण भएको हो । अल्जेसिरासमा भएको घटनामा दुई पुरुष र एक महिलासहित तीन जनाको मृत्यु भएको थियो ।
यस क्षेत्रमा विभिन्न आपराधिक गिरोह सक्रिय रहेका छन् । साथै, विगतमा निष्क्रिय रहेको कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (एफएआरसी) का असन्तुष्ट समूहहरू विस्तार भइरहेको विषयमा लोकपाल कार्यालयले यसअघि नै चेतावनी दिएको थियो ।














प्रतिक्रिया