काठमाडौँ- नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोर्याउँदै रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।
नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनलाई सम्बोधन गर्दै बेनेलक्स मुलुकका लागि नेपाली राजदूत एवं ओपिसिडब्ल्युका लागि नेपालका स्थायी प्रतिनिधि सेवा लम्सालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार राजदूत लम्सालले निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तराष्ट्रिय सहयोगका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याए।
उहाँले कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको नेपाल विपक्षमा रहेको स्पष्ट पार्नुभयो ।
राजदूत लम्सालले विशेषगरी अतिकम विकसित मुलुकहरूको संस्थागत, प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धिका लागि ओपिसिडब्ल्युको निरन्तर सहयोग आवश्यक रहेको बताए। यसका लागि तालिम तथा क्षमता विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उनको जोड थियो ।
त्यसैगरी कृत्रिम बौद्धिकता र जैविक प्रविधिलगायत विज्ञान तथा प्रविधिका क्षेत्रमा भइरहेका नयाँ विकासले निम्त्याउन सक्ने चुनौतीप्रति सचेत रहनुपर्ने नेपालको धारणा रहेको छ । यस्ता चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय स्तरमा निरन्तर संवाद, सहकार्य र समन्वय आवश्यक रहेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

















प्रतिक्रिया