युरोपेली बजेटबारे ले पेनसँग म्याक्रोँको विवाद « Khabarhub

युरोपेली बजेटबारे ले पेनसँग म्याक्रोँको विवाद


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र अति दक्षिणपन्थी नेतृ मरिन ले पेनबीच युरोपेली सङ्घ (ईयू) को आगामी बजेटलाई लिएर विवाद चर्किएको छ । म्याक्रोँले ले पेनलाई ‘अहंकारी’ नेताको संज्ञा दिँदै उनी निर्वाचित नै नभई देशको नेतृत्व गरिसकेको जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन् ।

ईयूको सन् २०२८ देखि २०३४ सम्मको बजेटलाई अन्तिम रूप दिने विषयमा ब्रसेल्समा युरोपेली नेताहरूबीच छलफल भइरहेका बेला दुई नेताबीच आरोप–प्रत्यारोप सुरु भएको हो ।

फ्रान्समा अर्को वर्ष राष्ट्रपति निर्वाचन हुने भएकाले त्यसअघि नै बजेटमा सहमति जुटाउनुपर्ने म्याक्रोँको जोड छ । उनले बुधबार सन् २०२७ अघि बजेटमा सहमति हुन नसके आफू पछि हट्ने चेतावनी दिएका थिए ।

म्याक्रोँको भनाइप्रति प्रतिक्रिया दिँदै ले पेनले फ्रान्स आर्थिक सङ्कट र सामाजिक अस्थिरताको जोखिममा रहेको बताएकी थिइन् । उनले देशको अवस्था सुधार्नुको सट्टा फ्रान्सेली जनताको लोकतान्त्रिक इच्छाविपरीत राजनीतिक चालबाजी भइरहेको आरोप लगाएकी थिइन् ।

त्यसको जवाफमा म्याक्रोँले ले पेन निर्वाचित नै नभई फ्रान्सको भविष्यको जिम्मेवारी लिइसकेको जस्तो व्यवहार गर्नु अहंकार भएको टिप्पणी गरेका हुन् ।

यसअघि पनि दुई नेताबीच ईयूको बजेट र युक्रेनलाई दिइने सहयोगका विषयमा विवाद हुँदै आएको थियो । गत महिना म्याक्रोँले ले पेनलाई ‘विनम्र रहन’ सुझाव दिएका थिए । ले पेनले युक्रेनलाई दिइने सहायता र ईयूमा फ्रान्सको आर्थिक योगदान कटौती गर्ने योजना सार्वजनिक गरेपछि उनीहरूबीच मतभेद बढेको थियो ।

ईयू बजेटमा सदस्य राष्ट्रबीच मतभेद

ईयूको आगामी सात वर्षे बजेटलाई लिएर सदस्य राष्ट्रहरूबीच पनि मतभेद देखिएको छ । युरोपेली आयोगले करिब दुई ट्रिलियन युरोको खर्च योजना प्रस्ताव गरेपछि त्यसको आकार र प्राथमिकताबारे लामो समयदेखि छलफल भइरहेको छ ।

जर्मनी र नेदरल्यान्ड्ससहितका केही देशले खर्च कटौतीसहित सानो बजेटको पक्षमा वकालत गरिरहेका छन् । यता फ्रान्सले किसानका लागि थप रकम विनियोजन गर्नुपर्ने र युरोपले बढ्दो चुनौती सामना गर्न ठूलो आर्थिक कोष आवश्यक रहेको बताउँदै आएको छ ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले यस वर्षको अन्त्यसम्म बजेटमा सहमति जुटाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् । उनले खुला सोच, रचनात्मक दृष्टिकोण र सम्झौताको भावनासहित छलफलमा सहभागी हुन नेताहरूलाई आह्वान गरेका छन् ।

युक्रेनलाई ४५ अर्ब युरो सहयोगमा विवाद

बजेट विवादसँगै युक्रेनलाई थप आर्थिक सहयोग गर्ने विषय पनि पेचिलो बनेको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले बजेटसम्बन्धी सहमतिलाई युक्रेनको आर्थिक सहयोगसँग जोड्दै सबै २७ सदस्य राष्ट्रको समर्थन आवश्यक रहेको बताएका छन् ।

सन् २०२७ सम्म युक्रेनलाई सहयोग जारी राख्न थप ४५ अर्ब युरो ऋण उपलब्ध गराउने प्रस्ताव गरिएको छ । तर चेक गणतन्त्र, हङ्गेरी र स्लोभाकियाले यस विषयमा छुट खोजिरहेका छन् ।

मर्जले केही देशलाई मात्र सहभागी गराएर निर्णय गर्न नसकिने भन्दै ‘युरोपेली सङ्घ २७ देशको हो, २३ वा २४ को होइन’ भनेका छन् । चेक नेता आन्द्रेज बाबिसले भने युक्रेनको आर्थिक सहयोगको विषयलाई ईयूको नियमित बजेटबाट अलग राखेर समाधान गर्नुपर्ने धारणा राखेका छन् ।

यसैबीच, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सुरक्षाका लागि खर्च आवश्यक हुने भन्दै बजेट कटौतीप्रति असन्तुष्टि जनाएका छन् । ‘सस्तो युरोप अत्यन्त महँगो गल्ती साबित हुन सक्छ, सुरक्षाको मूल्य हुन्छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

ईयूको कृषि अनुदान कटौतीको विरोधमा सयौँ किसानले ब्रसेल्समा प्रदर्शनसमेत गरेका छन् । उनीहरूले आगामी डिसेम्बरमा हुने शिखर सम्मेलनका क्रममा अझ ठूलो प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १२ : ४५ बजे

नियमित प्रहरी गस्तीमा ९ जिल्लाबाट १७ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका नौ जिल्लाबाट

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा 

काठमाडौं– मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल–भारत सीमा

युरोपेली बजेटबारे ले पेनसँग म्याक्रोँको विवाद

काठमाडौँ – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र अति दक्षिणपन्थी नेतृ मरिन

नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन-ट्याग अब सानिमा बैंकबाट

काठमाडौं-  सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी  प्रविधिमा

तीन जिल्लामा आठ बिघाभन्दा बढी क्षेत्रफलको गाँजाखेती नष्ट

काठमाडौँ – प्रहरीले बागमती प्रदेशका तीन जिल्लामा आठ बिघा पाँच