काराकास– भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको छ । भनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले बिहीबार यो घोषणा गरेका हुन् ।
सन् २०२४ मा पारित भएको र राजनीतिक उत्पीडनलाई सहज बनाउने विपक्षीले विश्वास गरेको यो कानुनले देशविरुद्ध प्रतिबन्ध लगाउन प्रचार वा समर्थन गर्ने व्यक्तिहरूलाई लक्षित गरेको थियो ।
‘यो कानुन भेनेजुएला गुज्रिरहेको विशेष परिस्थिति र विशेष क्षणका लागि ल्याइएको थियो,’ रोड्रिगेजले भने ।
यो कानुन त्यसबेला पारित भएको थियो जब विवादित चुनावपछि तत्कालीन सत्तारूढ नेता निकोलस मादुरोले व्यापक धोखाधडीको आरोपकाबीच जित हासिल गरेका थिए ।
जनवरीमा अमेरिकी सेनाले मादुरोलाई कब्जा गरी अमेरिकी अदालतमा मुद्दा चलाएपछि संसदीय अध्यक्षकी बहिनी डेल्सी रोड्रिगेजको नेतृत्वमा अन्तरिम सरकार चलाइरहेको छ । त्यसयता अमेरिका समर्थित सरकारले वासिङ्टनद्वारा छानिएका विपक्षी समूहसँग राजनीतिक संक्रमणका लागि वार्ता गरिरहेको छ ।
जर्ज रोड्रिगेजका अनुसार त्यो वार्तामा केही कानुनहरू पुनरावलोकन गर्ने सहमति भएको थियो, जसमा अहिले खारेज गर्न लागिएको कानुन पनि समावेश थियो ।
डेल्सी रोड्रिगेजले भेनेजुयालामा निकट भविष्यमा स्वतन्त्र र निष्पक्ष चुनाव गर्ने वाचा गर्नुभएको छ तर मिति तोकिएको छैन ।
विपक्षी नेतृ मारिया कोरिना माचाडो गत महिना निर्वासनबाट आश्चर्यजनक रूपमा फर्केपछि भेनेजुएलाको राजनीतिमा हलचल मच्चिएको छ ।
माचाडोले सन् २०२३ मा विपक्षी प्राथमिक चुनाव जितेर अर्को वर्ष मादुरोसँग भिड्ने तयारी गरेका थिए तर कानुनी रूपमा उनलाई चुनाव लड्नबाट रोकिएको थियो ।
उनको दलले छोटो समयमै कम चिनिएका कूटनीतिज्ञ एडमन्डो गोन्जालेज उरूत्रियालाई स्थानमा उम्मेदवार बनाएको थियो ।
नोबेल शान्ति पुरस्कार विजेता माचाडो सङ्क्रमणकालीन वार्ताबाट बाहिर रहे पनि चुनाव भएमा उम्मेदवारी दिने व्यापक अनुमान गरिएको छ । रासस

















प्रतिक्रिया