काठमाडौं– पाकिस्तानी गायक आतिफ अस्लमको लोकप्रिय आवाज अब पूर्वी नेपालको इटहरीमा पनि गुञ्जिने भएको छ । उनका चर्चित गीतमा झुम्न काठमाडौं नै पुग्नुपर्ने बाध्यता हटाउँदै आयोजकले इटहरीमा अन्तर्राष्ट्रियस्तरको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
आगामी पुस ४ गते सुनसरीको इटहरी रङ्गशालामा ‘इस्टर्न इकोज’ नामक कन्सर्ट हुँदैछ । जय मिडिया म्यानेजमेन्टले आयोजना गर्न लागेको कार्यक्रममा आतिफले आफ्ना पुराना तथा नयाँ गीत प्रस्तुत गर्नेछन् ।
‘वो लम्हे, वो बाते’, ‘पहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’ जस्ता गीतमार्फत नेपाली संगीतप्रेमीमाझ पनि लोकप्रिय रहेका आतिफको प्रस्तुतिले इटहरीको सांगीतिक माहोल तताउने अपेक्षा गरिएको छ ।
यो कन्सर्टको विशेष पक्ष भनेको नेपालसँगै भारतीय दर्शकलाई समेत आकर्षित गर्ने आयोजकको योजना हो । आयोजक जय मिडियाका जयराज रायका अनुसार सीमावर्ती भारतीय सहरहरू नजिकै रहेकाले भारतबाट मात्रै ८ देखि १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
रायका अनुसार काठमाडौंमा मात्रै अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रम सीमित नराखी देशका अन्य सहरमा पनि यस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न इटहरी रोजिएको हो ।
आयोजकले यो कार्यक्रमलाई मनोरञ्जनमा मात्रै सीमित नराखी पूर्वी नेपालको पर्यटन र आर्थिक गतिविधिसँग पनि जोडेको छ । ठूलो संख्यामा दर्शक भित्रिँदा स्थानीय होटल, पर्यटन तथा व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
यससँगै ‘इस्टर्न इकोज’ केवल एउटा सांगीतिक कन्सर्ट मात्र नभई पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय सांगीतिक गन्तव्यका रूपमा चिनाउने प्रयासका रूपमा पनि हेरिएको छ ।

















प्रतिक्रिया