काठमाडौँ – साउदी अरबमा भएका पछिल्ला दुई आक्रमणमा परी घाइते भएका चार नेपालीमध्ये एक जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (काफ्ड) अन्तर्गतको पब्लिक इन्भेस्टमेन्ट फन्ड टावर र जजान क्षेत्रमा भएका आक्रमणमा परी घाइते भएका चार नेपालीलाई उपचारका लागि रियादस्थित अस्पताल लगिएकामा एक जनाको निधन भएको जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने दुई जना उपचाररत छन् । मृतकको शव नेपाल ल्याउन रियादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।
साउदी अरब लगायत पश्चिम एसियाको पछिल्लो घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले समस्याको समाधान शान्तिपूर्ण वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्ने तथा कुनै पनि बहानामा जनधन, निजी सम्पत्ति र सार्वजनिक पूर्वाधारमाथि आक्रमण गरिन नहुनेमा जोड दिए ।
उनले प्रभावित क्षेत्रका नेपालीलाई स्थानीय सरकार र नेपाली नियोगका सुरक्षा निर्देशन पालना गर्न तथा समस्या परेमा नजिकको दूतावास वा नियोगमा सम्पर्क गर्न आग्रह गरे ।
प्रधानमन्त्रीको भारत भ्रमणका सहमति कार्यान्वयन सुरु
प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमण सम्पन्न गरी गत मङ्सिर ७ गते स्वदेश फर्किएसँगै भ्रमणका क्रममा भएका सहमति र समझदारी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
संयुक्त भिजन डकुमेन्ट (जोइन्ट भिजन डकुमेन्ट) लगायत समझदारीपत्र (एमओयू) र निर्णयहरूको नतिजा दुई देश र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजान सम्बन्धित निकायसँग समन्वय थालिएको प्रवक्ता क्षेत्रीले बताए । भ्रमणका उपलब्धि सर्वसाधारणले बुझ्ने गरी १२ वटा क्यारोसेल ग्राफिक्स तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पनि उनले जानकारी दिए ।

नाका सहज बनाउन चीनसँग समन्वय, अन्य कूटनीतिक गतिविधि
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएपछि तातोपानी–झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर आवतजावत खुलाउनेसहित अन्य नाका सहज बनाउन चीन सरकार र सम्बद्ध निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । यसै विषयमा मङ्सिर १० गते निजी क्षेत्रका व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफलसमेत भएको छ ।
यसैगरी, नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा मङ्सिर ६ गते काठमाडौँमा नेपाल–जापान महोत्सव आयोजना गरिएको तथा सो अवसरमा नेपाल आएका जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले मङ्सिर ५ गते परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेको मन्त्रालयले जनाएको छ ।
मङ्सिर ३ गते फिनल्यान्डको हेलसिन्कीमा नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको चौथो बैठक सम्पन्न भएको जानकारी पनि दिइएको छ ।
आर्थिक कूटनीतिअन्तर्गत निर्यात व्यवसायी महासंघ नेपाल (फिन) र नास–आइटीका पदाधिकारीसँग परराष्ट्रमन्त्रीको उपस्थितिमा अन्तर्क्रिया गरिएको मन्त्रालयले जनाएको छ ।
साथै, बिमस्टेकको पहिलो स्वास्थ्यमन्त्रीस्तरीय बैठक, एससीओ सिभिलाइजेसनल डायलग फोरममा नेपाली प्रतिनिधिमण्डलको सहभागिता तथा भारतको भुवनेश्वरमा सम्पन्न पहिलो बिमस्टेक यु–२३ एथलेटिक्स मिटमा पुरुष ५ हजार मिटर दौडमा मिङ्गमार सिङ्गी तामाङले रजत पदक जितेसँगै नेपाल समग्रमा चौथो भएको जानकारी पनि ब्रिफिङमा दिइएको छ ।

















प्रतिक्रिया