काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको परराष्ट्र मन्त्रालयले जनाइरहँदा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिने विषय अझै अनिश्चित देखिएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणका क्रममा जारी ‘संयुक्त भिजन डकुमेन्ट’ लगायत समझदारीपत्र (एमओयू) र निर्णयहरूको कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग समन्वय सुरु गरिएको जानकारी दिए ।
‘ईपीजीका नेपाली पक्षका संयोजक भेषबहादुर थापाले उमेरका कारणले उक्त प्रतिवेदन राखिएको साँचो परराष्ट्र सचिवलाई २०८३ जेठ २१ गते हस्तान्तरण गर्नुभएको छ । त्यसअघि नै दुवै पक्षको सहमतिअनुसार उक्त प्रतिवेदन सुरुमा भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका रहेको विषय जानकारी छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीज्यूसमक्ष पेश गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
यद्यपि, वर्षौँदेखि थन्किएको ईपीजी प्रतिवेदन हस्तान्तरण र भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्न दिने समयका विषयमा मन्त्रालयले स्पष्ट ठोस प्रगति खुलाएको छैन ।

नेपाल–भारत सन् १९५० को सन्धिलगायत द्विपक्षीय विषय पुनरावलोकन गर्न गठित ईपीजीले २०७५ असारमै साझा प्रतिवेदन तयार पारेको थियो । सहमतिअनुसार सुरुमा भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्ने तय भए पनि उनले समय नदिँदा उक्त प्रतिवेदन दुवै देशका सरकारसमक्ष औपचारिक रूपमा पेस हुन सकेको छैन ।
प्रधानमन्त्री शाहको भारत भ्रमणपछि द्विपक्षीय सहमति कार्यान्वयनको चर्चा चल्दै गर्दा ईपीजी प्रतिवेदन ग्रहण गर्ने विषय पुनः चासोमा परेको हो ।
मन्त्रालयले भने भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालय र निकायहरूसँग निरन्तर ‘फलोअप’ भइरहेको जनाएको छ । भ्रमणका उपलब्धि सर्वसाधारणलाई बुझाउन १२ वटा क्यारोसेल ग्राफिक्ससमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको प्रवक्ता क्षेत्रीले बताए ।

















प्रतिक्रिया