फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह « Khabarhub

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा होइन, इतिहासको फैसला माग्दै मैदानमा उत्रिएको छ । यो चुनाव एमालेका लागि सामान्य राजनीतिक प्रक्रिया होइन, विगतको मूल्यांकन र भविष्यको दिशानिर्देश एकैपटक तय गर्ने जनमतको अदालत हो । सुरुमा चुनाव हुँदैन भन्दै सरकारलाई दबाब दिने, आन्दोलनको चेतावनी दिने र राजनीतिक तापक्रम बढाउने रणनीति अपनाए पनि एमाले भित्रभित्रै निर्वाचनको तयारीमा अन्य सबै दलभन्दा अगाडि थियो ।

संगठन सुदृढीकरणदेखि सन्देश निर्माणसम्म, उम्मेदवार छनोटदेखि मतदाता मनोविज्ञान अध्ययनसम्म, एमालेले बोल्नुभन्दा धेरै अघि काम गरिसकेको यथार्थ अब सतहमै देखिन थालेको छ । महासचिव शंकर पोखरेलले मनोनयन दर्ताअघि एउटा अभिव्यक्ति दिए- ‘यो सामान्य निर्वाचन होइन, जनमत संग्रह हो ।’ कुनै भावनात्मक उत्तेजना मात्र होइन, एमालेको समग्र राजनीतिक दृष्टिकोणको सार हो । उनको भाषामा यो चुनाव देश बनाउने र देश आगो लगाउने सोचबीचको जनमत संग्रह हो ।’

यो भनाइ कुनै व्यक्तिको निजी धारणा होइन, देशकै सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले फागुन २१ लाई कसरी लिएको छ भन्ने स्पष्ट राजनीतिक संकेत हो । एमालेले यो निर्वाचनलाई सत्ता प्राप्तिको साधनभन्दा पनि वैचारिक वैधताको पुनःस्थापनाको अवसरका रूपमा लिएको छ । एमाले यो निर्वाचनमार्फत जेन–जी आन्दोलनका नाममा भएको उन्माद गलत थियो भन्ने कुरा जनमतबाटै पुष्टि गर्न चाहन्छ ।

एमालेको दृष्टिमा फागुन २१ त्यही अराजकताको राजनीतिक मूल्यांकन गर्ने दिन हो । तर यो लक्ष्य प्राप्त गर्नु सहज छैन ।

सडकको आवेगलाई राजनीतिक वैधता ठान्ने प्रवृत्तिले देशलाई कहाँ पुर्यायो भन्ने प्रश्न आज स्वयं जनताले गर्न थालेका छन् । संसद् अपदस्थ गर्ने, सरकार ढाल्ने र राज्य कमजोर बनाउने अभ्यासलाई नै परिवर्तन ठान्ने सोचले न त विकल्प दिन सक्यो, न त समाधान । एमालेको दृष्टिमा फागुन २१ त्यही अराजकताको राजनीतिक मूल्यांकन गर्ने दिन हो । तर यो लक्ष्य प्राप्त गर्नु सहज छैन ।

पुराना दलप्रतिको आक्रोशलाई पूँजी बनाएर उदाएको रास्वपा आज एमालेको प्रमुख चुनौती बनेको छ । समस्या केवल सिटको प्रतिस्पर्धा होइन, जनचेतनामा गाडिएको भ्रमको हो । विशेषतः नयाँ पुस्ता तथ्यभन्दा भावनाबाट निर्देशित भइरहेको छ । उनीहरूलाई राजनीतिक इतिहास, नीतिगत निरन्तरता र संस्थागत सन्तुलनभन्दा ‘सबै पुराना दल खराब’ भन्ने सरल निष्कर्ष सजिलो लागिरहेको छ । यही प्रवृत्तिलाई तोड्न नसके एमालेको संगठन बलियो भएर मात्र पर्याप्त हुँदैन ।

एमालेले सबैभन्दा पहिले स्वीकार गर्नुपर्ने यथार्थ के हो भने जनतामा आक्रोश छ । त्यो आक्रोशलाई षड्यन्त्रको नाम दिएर पन्छाउन सकिँदैन । एमालेले ‘हामी सधैँ सही’ भन्ने दम्भ त्याग्नुपर्छ । नयाँ पुस्ताले पूर्णता होइन, इमानदारी खोजिरहेको छ । गल्ती स्वीकार गर्ने र सुधारको बाटो देखाउने राजनीतिक शक्तिप्रति अझै पनि भरोसा गर्न सकिने ठाउँ बाँकी छ । एमालेले यही ठाउँ पहिचान गर्नुपर्छ।

जेनजी आन्दोलनको नाममा भएको वितण्डा औचित्यहीन थियो भन्ने कुरा स्थापित गर्न भावनात्मक भाषण पर्याप्त हुँदैन । त्यसका लागि तथ्य आवश्यक छ । आन्दोलनका कारण अर्थतन्त्रमा परेको क्षति, पर्यटन र लगानीमा सिर्जना भएको अनिश्चितता, हजारौँ युवाको रोजगारी संकट, विकास आयोजनामा आएको अवरोध र अन्तर्राष्ट्रिय छविमा परेको नकारात्मक असर-यी सबै विषय प्रमाण र उदाहरणसहित जनतामाझ लैजानुपर्छ । आन्दोलनले के दियो र देशले के गुमायो भन्ने प्रश्नको जवाफ खोज्दा स्वतः भ्रम कमजोर पर्न थाल्छ ।

एमालेले सबैभन्दा पहिले स्वीकार गर्नुपर्ने यथार्थ के हो भने जनतामा आक्रोश छ । त्यो आक्रोशलाई षड्यन्त्रको नाम दिएर पन्छाउन सकिँदैन ।

एमालेको चुनावी अभियान ‘हामी बनाउँछौँ’ भन्ने नारा मात्रमा सीमित हुनु हुँदैन । उसले अराजकताको विकल्प स्थायित्व हो भन्ने स्पष्ट राजनीतिक रेखा कोर्नुपर्छ । तुलना व्यक्तिगत गालीमा होइन, नीतिगत असफलतामा केन्द्रित हुनुपर्छ । आन्दोलनको नेतृत्व गर्नेहरू आज कहाँ छन्, उनीहरूको दीर्घकालीन एजेन्डा के हो, आन्दोलनपछि देशले पाएको ठोस उपलब्धि के हो ? यी प्रश्नहरू एमालेले जनतामाझ दृढताका साथ राख्नुपर्छ ।

रास्वपाले भदौ २३ को नरसंहारको जिम्मेवारी एमालेमाथि थोपर्ने भ्रमपूर्ण भाष्य निर्माण गरेको छ । यसलाई चिर्न एमालेले रक्षात्मक होइन, आक्रामक तथ्य प्रस्तुत गर्नुपर्छ । घटनाको समयरेखा, निर्णय प्रक्रिया, सुरक्षा संयन्त्रको कमान्ड संरचना, त्यसबेला गृह मन्त्रालयको नेतृत्व कसले गरिरहेको थियो भन्ने विषय स्पष्ट पार्नुपर्छ । सत्यलाई लुकाएर होइन, सार्वजनिक बहसको केन्द्रमा ल्याएर मात्र झुटको आयु घटाउन सकिन्छ ।

आजको राजनीति नाराको होइन, कन्टेन्टको हो । सामाजिक सञ्जालमा केही सेकेन्डको सामग्रीले जनमत निर्माण भइरहेको छ । एमालेसँग इतिहास छ, अनुभव छ, तथ्य छ । तर यी सबैलाई आधुनिक भाषामा रूपान्तरण गर्न नसके त्यो बोझ बन्छ । एमालेको अभियान चौतारोमा मात्र होइन, मोबाइल स्क्रिनमा पनि देखिनुपर्छ । नयाँ पुस्ताले प्रयोग गर्ने माध्यम, बुझ्ने भाषा र सोध्ने प्रश्नको जवाफ दिने शैलीमा एमाले प्रस्तुत हुनुपर्छ ।

एमालेको सबैभन्दा ठूलो शक्ति यसको इतिहास हो । तर इतिहास आत्मश्लाघाका लागि होइन, जिम्मेवारीको प्रमाणका रूपमा प्रस्तुत हुनुपर्छ । संविधान निर्माण, संघीयता कार्यान्वयन, पूर्वाधार विस्तार, सामाजिक सुरक्षा कार्यक्रम-यी सबै उपलब्धिमा एमालेको निर्णायक भूमिका छ । तर यी उपलब्धि केवल सम्झाउने विषय होइनन्, भविष्यको स्थायित्व किन एमालेबिना सम्भव छैन भन्ने तर्कका आधार हुन् ।

नयाँ पुस्तालाई हेप्नु राजनीतिक आत्मघात हुनेछ । उनीहरू प्रश्न गर्छन्, असन्तुष्ट हुन्छन्, चुनौती दिन्छन् । एमालेले उनीहरूको प्रश्नलाई शत्रुता होइन, अवसरका रूपमा लिनुपर्छ ।

नयाँ पुस्तालाई हेप्नु राजनीतिक आत्मघात हुनेछ । उनीहरू प्रश्न गर्छन्, असन्तुष्ट हुन्छन्, चुनौती दिन्छन् । एमालेले उनीहरूको प्रश्नलाई शत्रुता होइन, अवसरका रूपमा लिनुपर्छ । कलेज, विश्वविद्यालय, कार्यस्थल र डिजिटल प्लेटफर्ममा तथ्यसहित बहस गर्न सक्ने युवा नेतृत्वलाई अगाडि सार्नुपर्छ । भाषण होइन, संवाद एमालेको चुनावी अभियानको मूल आत्मा हुनुपर्छ ।

फागुन २१ एमालेका लागि सत्तामा फर्किने मात्र होइन, राजनीतिक नैतिकता पुनःस्थापित गर्ने अवसर हो । यदि एमालेले यो चुनावलाई केवल अंकगणितीय प्रतिस्पर्धा ठान्यो भने जिते पनि दीर्घकालीन रूपमा हार्नेछ । तर यदि यसलाई भ्रमविरुद्धको लडाइँ, स्थायित्वको बहस र जिम्मेवार शासनको पुनःप्रतिज्ञा बनायो भने एमाले स्वाभाविक रूपमा पहिलो पार्टी बन्छ ।

जनताले अब चमत्कार खोजिरहेका छैनन् । उनीहरू विश्वसनीयता खोजिरहेका छन् । आक्रोशलाई गाली गरेर होइन, आशामा रूपान्तरण गरेर मात्र जितिन्छ । फागुन २१ त्यो दिन हो, जहाँ जनताले निर्णय गर्नेछन्, देश प्रयोगशाला बनाउने कि अनुभवी र जिम्मेवार हातमा सुम्पिने ? एमालेले यो प्रश्न स्पष्ट रूपमा राख्न सके जनताको फैसला पनि स्पष्ट हुनेछ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ११ : ०७ बजे

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी ४के (Galaxy 4K) टेलिभिजनलाई १५ दिनभित्र

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष