भ्रष्टाचार मुद्दामा नौ वर्ष जेल सजाय सुनाइएका बद्री न्यौपानेलाई पार्टीमा भित्र्याए प्रचण्डले « Khabarhub

भ्रष्टाचार मुद्दामा नौ वर्ष जेल सजाय सुनाइएका बद्री न्यौपानेलाई पार्टीमा भित्र्याए प्रचण्डले


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

भृकुटीमण्डपस्थित फनपार्क जग्गा भाडा प्रकरणमा भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टीमा स्वागत गरे ।

२०७९ फागुन २६ गते विशेष अदालतले उनलाई ९ वर्ष ६ महिना) कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ जरिवाना र तथा त्यही बराबरको बिगो असुल गर्न आदेश दिएको थियो ।

विशेष अदालतले सजाय सुनाए पनि उनी बाहिरै रहँदै आएका छन् । विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित नौ जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा भृकुटीमण्डपस्थित फन पार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १४ जनाविरुद्ध २०७५ माघ २१ गते मुद्दा चलाएको थियो । सुरूमा ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका उनलाई विशेष अदालतले अन्तिम फैसलामा दोषी ठहर गरेको थियो ।

समाज कल्याण परिषदको स्वामित्वमा रहेको भृकुटीमण्डपको ६० रोपनी जग्गा नियमविपरीत सस्तो दरमा फनपार्कलाई भाडामा दिएर संस्थालाई हानि पुर्‍याएको आरोप उनीमाथि थियो । विशेष अदालतले ९ वर्ष ६ महिना कैद सजाय सुनाए पनि अहिलेसम्म उनी जेल गएका छैनन् ।

विशेष अदालतको फैसलाविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । यो मुद्दामा कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । कांग्रेसका नेतासमेत रहेका गुरुङ पनि यो मुद्दामा दोषी ठहर भएका छन् ।

फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा कांग्रेसका तत्कालीन सांसद गुरुङ दोषी ठहर भए पनि अहिले उनी फेरि चुनावी मैदानमा छन् । उनलाई विशेष अदालतले एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको थियो । गुरुङलाई भने न्यौपानेलाई जस्तो कैद सजाय तोकिएको थिए ।

अख्तियारको अनुसन्धानले भृकुटीमण्डपको ६० रोपनी जग्गा फनपार्कलाई १० वर्षको लागि प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा दिने निर्णयमा उनीहरूको बदनियत देखाएको थियो।

यो मुद्दामा प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद, हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्णलाई लाई ८ वर्ष कैद र अरुलाई जति नै विगो र जरिवानाको फैसला भएको थियो ।

त्यसैगरी रवीन्द्रकुमार यादवलाई बद्री न्यौपानेलाई जस्तै ९ वर्ष कैद सजाय तोकिएको थियो। उनीबाट अरुलाई जतिनै बिगो भराउने फैसला पनि विशेष अदालतले गरेको थियो ।

सर्लाहीको हरिवन नगरपालिका-२ अत्रौली घर भएका पूर्वमन्त्री न्यौपाने मधेश आन्दोलनका बेला चुरे भावर पार्टी खोलेर चर्चामा आएका थिए । तर पछिल्लो समय उनी प्रभु साह नेतृत्वको आमजनता पार्टीमा थिए ।

कांग्रेसबाट राजनीति थालेका न्यौपाने ०६४ सालमा सर्लाहीमा सुरू भएको चुरे भावर आन्दोलनमा लागेर समानुपातिक सांसद बनेका थिए।

उनी चुरे भावर छाडेर तत्कालीन नेकपामा प्रवेश गरे थियो । उनी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाका केन्द्रीय सदस्यसमेत भए । नेकपा फुटेपछि उनी एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्य भए ।

उनले २०७९ सालको संघीय र प्रदेशसभा सदस्य निर्वाचनअघि एमाले परित्याग गरे। त्यसपछि केही समय स्वतन्त्र रहे। तर उनले २०७९ मंसिरको निर्वाचनमा न्यौपानेले माओवादीलाई सघाए । तर त्यसबेला माओवादी प्रवेश नगरेका उनी अहिले नेकपातिर लागेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी र चुरे भावर पार्टीबीचको

सहमति-पत्र

सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष प्राप्त गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकीकरण संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक आजको वस्तुगत आवश्यकता हो। यही आवश्यकता लाई ध्यानमा राखी नेपालको कम्युनिष्ट आन्दोलन र समाजवादी आन्दोलनका विभिन्न धारहरू एकतावद्ध भई बनेको नेपाली कम्युनिष्ट पार्टी र चुरे भावर पार्टीबीच देशमा राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनमार्फत सुशासन, समाजिक न्याय र समृद्धि हासिल गर्ने साझा लक्ष्य र उद्देश्यका आधारमा एकीकृत गर्ने सहमति भएको छ ।

१. नेपाली कम्युनिस्ट पार्टीमा चुरे भावर पार्टी एकता प्रकृयामा समायोजित भएको छ । पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिह्न तारा रहने छ।
२. चुरे भावर पार्टीले उठाउँदै आएको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको मुद्दालाई उच्च प्राथकितासाथ आत्मसात गरिने छ ।
३. चुरे भावर पार्टीका अध्यक्ष बद्री प्रसाद न्यौपानेसहितका पदाधिकारी तथा विभिन्न तहका सदस्यहरूलाई योग्यता र क्षमता अनुसार केन्द्रीय समिति/प्रदेश समिति/जिल्ला समिति/स्थानीय समितिमा समायोजन गरिनेछ ।
४. प्रतिनिधि सभाको आसन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट मनोनयन गर्नु भएका उम्मेदवारहरू जिताउन सशक्त रुपमा लाग्ने सहमति गरिएको छ ।

मितिः २०८२ माघ १३ गते ।

बद्री प्रसाद न्यौपाने अध्यक्ष, चुरे भावर पार्टी
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक

न्यौपाने २०७९ को निर्वाचनपछि प्रभु साहको आमजनता पार्टीमा गए । उनी उक्त पार्टीको विदेश विभाग प्रमुख, मधेश प्रदेश इन्चार्ज र केन्द्रीय सदस्य भए ।

फन पार्कको जग्गा सस्तो दरमा भाडामा दिँदा भएको भ्रष्टाचार प्रकरणमा दोषी पूर्वमन्त्री न्यौपानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

विशेष अदालतले दोषी ठहर गर्दै ९ वर्ष कैद र २ करोड ४३ लाख जरिवाना र बिगो सुनाएपछि उक्त फैसलाविरुद्ध अख्तियार र न्यौपाने दुवै पक्ष सर्वोच्च पुगेका हुन्।

मन्त्री हुँदा भृकुटीमण्डपको जग्गा कौडीको भाउमा फन पार्कलाई दिएर भ्रष्टाचार गरेको प्रकरणमा दोषी ठहर भए पनि उनलाई नेकपाले स्वागत गरेको हो। सर्वोच्च अदालतले यस मुद्दामा सुनुवाइ नटुंग्याएकाले विशेषको फैसला सदर हुने वा नहुने भन्ने अझै टुंगो भएको छैन । तर न्यौपानेले समाज कल्याण परिषद्को कानुनअनुसार नै जग्गा भाडामा दिएको जिकिर गर्ने गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ४४ बजे

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा