सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व « Khabarhub

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व



काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र बनाएका छन् । तीव्र गतिमा सैनिक क्षमता विस्तार गर्ने क्रममा रहेको चीनको सैनिक नेतृत्वको ‘सफाया’ सर्वोच्च सैनिक निकाय केन्द्रीय सैन्य अयोगको उच्चतम तहसम्म पुगेको छ ।

यसै क्रममा चीनको राष्ट्रिय रक्षा मन्त्रालयले पछिल्लो समय सर्वोच्च सैन्य तहका उपप्रमुखविरुद्ध अनुसन्धान थालेको छ । सत्तारुढ कम्युनिष्ट पार्टीको सैनिक आयोगका उपप्रमुख जनरल झाङ योउशियाविरुद्ध ‘गम्भीर अनुशासन तथा कानुन उल्लङ्घन’ गरेको आरोपमा अनुसन्धान थालिएको हो ।

झाङसहित सो आयोगका अर्का सदस्य लिउ झेनली पनि अनुसन्धानमा तानिएका छन् । झेनलीमाथि पनि यस्तै अभियोगमा अनुसन्धान भइरहेको जनाइएको छ । पछिल्लो घटनाक्रमपछि चिनियाँ जनमुक्ति सेनाको उच्च नेतृत्व पूरै थला परेको छ ।

अनुसन्धान र कारवाहीकै कारण जनमुक्ति सेनाको सर्वोच्च निर्णायक निकाय केन्द्रीय सैन्य आयोग पदाधिकारीविहीन बन्ने अवस्थामा छ । वर्तमान सैन्य आयोग सन् २०२२ मा गठन भएको थियो । त्यतिबेला कम्युनिष्ट पार्टीले सीको नेतृत्वमा झाङ योउशिया र हे वेइडोङलाई उपप्रमुख तोकेर सैन्य आयोग गठन गरेको थियो ।

आयोगमा ली शाङ्फू, लिउ झेनली, मियाओ हुवा र झाङ शेङमिन सदस्य थिए । हाल सफायामा परेका झाङ योउशिया र लिउ झेनलीमाथि अनुसन्धान भइरहेको छ ।

आयोगको सदस्यमध्येका ली शाङ्फू यसअघि रक्षामन्त्री समेत थिए । तर, सन् २०२३ मा तत्कालीन रक्षामन्त्री ली शाङ्फू अचानक सार्वजनिक रुपमा देखा पर्न छाडेका थिए ।

पछि उनलाई पदबाट बर्खास्त गरिएको जानकारी दिइएको थियो । गत वर्ष अक्टोबर महिनामा सेनाका नौ वरिष्ठ अधिकारीसहित आयोगका अर्का उपप्रमुख हे वाइडोङलाई पनि पदबाट हटाइएको थियो । गत जुन महिनामा आयोगका अर्का सदस्य मियाओ हुवालाई बर्खास्त गरिएको थियो ।

अनुसन्धानमा परेका केन्द्रीय सैन्य आयोगका उपप्रमुख झाङ योउशिया

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले समाचार छाप्दै अमेरिकालाई आणविक हतियारसम्बन्धी गोप्य जानकारी चुहाएपछि झाङविरुद्ध अनुसन्धान शुरु भएको जनाएको छ । यससँगै जर्नलका अनुसार उनीमाथि जनमुक्ति सेनाभित्र ‘राजनीतिक गुट चलाएको’ आरोप पनि लगाइएको छ ।

त्यसैगरी, उनले सरुवा, पदोन्नति, सैन्य सामग्री प्राप्तिजस्ता कामका लागि मोटो घुस रकम लिएको दाबी गरिएको छ । परम्परागत रुपमा चिनियाँ कम्युनिष्ट नेतृत्व भ्रष्टाचारप्रति निकै अनुदार छ । त्यसमाथि सत्तामा आएदेखि राष्ट्रपति सीले भ्रष्टाचारविरोधी विशेष अभियान थालेका छन् ।

आफ्ना प्रतिस्पर्धीलाई तह लगाउनका लागि यो अभियानको राजनीतिक दुरुपयोग गरेको भन्ने आरोप सीमाथि छ । यो अभियानमा मुछिएका धेरै उच्च पदस्थ पदाधिकारीमध्ये कतिपयले राजनीतिक जीवनबाट र केहीले वास्तविक जीवनबाट हात धोएका छन् ।

अधिनायकवादी शासन व्यवस्था भएको चीनजस्तो मुलुकका लागि सैन्य नेतृत्वको ‘सफाया’ नौलो विषय पनि होइन । तर, सीको कार्यकालमा यो क्रम अझ तीव्र भएको छ । कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सीको नेतृत्वमा जारी अनुसन्धान र कारवाहीलाई साम्यवादी चीनका संस्थापक नेता माओत्सेतुङको कार्यकाल यताकै सबैभन्दा कठोर भनेका छन् ।

चीनमा साम्यवादी शासन व्यवस्था अनुसार पार्टीका महासचिव सी जिन्पिङ सैनिक आयोगको प्रमुख रहने प्रावधान छ । उक्त आयोगमा सीपछिको दोस्रो तहमा रहेर झाङले काम गरिरहेका थिए । लगभग उस्तै राजनीतिक पृष्ठभूमि रहेका झाङ र सीको व्यक्तिगत मित्रता र साझेदारी पनि गहिरो रहेको ठानिएको थियो ।

तर झाङमाथि नै अनुसन्धान शुरु भएको घटनालाई राष्ट्रपति सी आफ्नो सैन्य नेतृत्वप्रति विश्वस्त नरहेको संकेतका रुपमा हेरिएको छ । यस घटनापछि चिनियाँ जनमुक्ति सेनाको नेतृत्वमा संकटको बादल मडारिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ८ : ०६ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा