काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र बनाएका छन् । तीव्र गतिमा सैनिक क्षमता विस्तार गर्ने क्रममा रहेको चीनको सैनिक नेतृत्वको ‘सफाया’ सर्वोच्च सैनिक निकाय केन्द्रीय सैन्य अयोगको उच्चतम तहसम्म पुगेको छ ।
यसै क्रममा चीनको राष्ट्रिय रक्षा मन्त्रालयले पछिल्लो समय सर्वोच्च सैन्य तहका उपप्रमुखविरुद्ध अनुसन्धान थालेको छ । सत्तारुढ कम्युनिष्ट पार्टीको सैनिक आयोगका उपप्रमुख जनरल झाङ योउशियाविरुद्ध ‘गम्भीर अनुशासन तथा कानुन उल्लङ्घन’ गरेको आरोपमा अनुसन्धान थालिएको हो ।
झाङसहित सो आयोगका अर्का सदस्य लिउ झेनली पनि अनुसन्धानमा तानिएका छन् । झेनलीमाथि पनि यस्तै अभियोगमा अनुसन्धान भइरहेको जनाइएको छ । पछिल्लो घटनाक्रमपछि चिनियाँ जनमुक्ति सेनाको उच्च नेतृत्व पूरै थला परेको छ ।
अनुसन्धान र कारवाहीकै कारण जनमुक्ति सेनाको सर्वोच्च निर्णायक निकाय केन्द्रीय सैन्य आयोग पदाधिकारीविहीन बन्ने अवस्थामा छ । वर्तमान सैन्य आयोग सन् २०२२ मा गठन भएको थियो । त्यतिबेला कम्युनिष्ट पार्टीले सीको नेतृत्वमा झाङ योउशिया र हे वेइडोङलाई उपप्रमुख तोकेर सैन्य आयोग गठन गरेको थियो ।
आयोगमा ली शाङ्फू, लिउ झेनली, मियाओ हुवा र झाङ शेङमिन सदस्य थिए । हाल सफायामा परेका झाङ योउशिया र लिउ झेनलीमाथि अनुसन्धान भइरहेको छ ।
आयोगको सदस्यमध्येका ली शाङ्फू यसअघि रक्षामन्त्री समेत थिए । तर, सन् २०२३ मा तत्कालीन रक्षामन्त्री ली शाङ्फू अचानक सार्वजनिक रुपमा देखा पर्न छाडेका थिए ।
पछि उनलाई पदबाट बर्खास्त गरिएको जानकारी दिइएको थियो । गत वर्ष अक्टोबर महिनामा सेनाका नौ वरिष्ठ अधिकारीसहित आयोगका अर्का उपप्रमुख हे वाइडोङलाई पनि पदबाट हटाइएको थियो । गत जुन महिनामा आयोगका अर्का सदस्य मियाओ हुवालाई बर्खास्त गरिएको थियो ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले समाचार छाप्दै अमेरिकालाई आणविक हतियारसम्बन्धी गोप्य जानकारी चुहाएपछि झाङविरुद्ध अनुसन्धान शुरु भएको जनाएको छ । यससँगै जर्नलका अनुसार उनीमाथि जनमुक्ति सेनाभित्र ‘राजनीतिक गुट चलाएको’ आरोप पनि लगाइएको छ ।
त्यसैगरी, उनले सरुवा, पदोन्नति, सैन्य सामग्री प्राप्तिजस्ता कामका लागि मोटो घुस रकम लिएको दाबी गरिएको छ । परम्परागत रुपमा चिनियाँ कम्युनिष्ट नेतृत्व भ्रष्टाचारप्रति निकै अनुदार छ । त्यसमाथि सत्तामा आएदेखि राष्ट्रपति सीले भ्रष्टाचारविरोधी विशेष अभियान थालेका छन् ।
आफ्ना प्रतिस्पर्धीलाई तह लगाउनका लागि यो अभियानको राजनीतिक दुरुपयोग गरेको भन्ने आरोप सीमाथि छ । यो अभियानमा मुछिएका धेरै उच्च पदस्थ पदाधिकारीमध्ये कतिपयले राजनीतिक जीवनबाट र केहीले वास्तविक जीवनबाट हात धोएका छन् ।
अधिनायकवादी शासन व्यवस्था भएको चीनजस्तो मुलुकका लागि सैन्य नेतृत्वको ‘सफाया’ नौलो विषय पनि होइन । तर, सीको कार्यकालमा यो क्रम अझ तीव्र भएको छ । कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सीको नेतृत्वमा जारी अनुसन्धान र कारवाहीलाई साम्यवादी चीनका संस्थापक नेता माओत्सेतुङको कार्यकाल यताकै सबैभन्दा कठोर भनेका छन् ।
चीनमा साम्यवादी शासन व्यवस्था अनुसार पार्टीका महासचिव सी जिन्पिङ सैनिक आयोगको प्रमुख रहने प्रावधान छ । उक्त आयोगमा सीपछिको दोस्रो तहमा रहेर झाङले काम गरिरहेका थिए । लगभग उस्तै राजनीतिक पृष्ठभूमि रहेका झाङ र सीको व्यक्तिगत मित्रता र साझेदारी पनि गहिरो रहेको ठानिएको थियो ।
तर झाङमाथि नै अनुसन्धान शुरु भएको घटनालाई राष्ट्रपति सी आफ्नो सैन्य नेतृत्वप्रति विश्वस्त नरहेको संकेतका रुपमा हेरिएको छ । यस घटनापछि चिनियाँ जनमुक्ति सेनाको नेतृत्वमा संकटको बादल मडारिएको छ ।













प्रतिक्रिया