तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागू गरेपछि विश्वव्यापी तेल आपूर्ति र बजारमा असर देखिन थालेको छ।
नयाँ प्रणालीअनुसार जलमार्ग प्रयोग गर्ने जहाजहरूले इरानी जलसिमामा प्रवेश गर्दा आफ्नो सम्पूर्ण विवरण- माल, मालिक, गन्तव्य र चालक दल – बुझाउनुपर्ने हुन्छ। स्वीकृति पाएका जहाजहरूलाई विशेष कोड दिइन्छ र इरानी तट नजिक सुरक्षित पारगमन गराइन्छ। केही जहाजहरूले शुल्क समेत तिरेका छन्, जुन चिनियाँ मुद्रा युआनमा लिइएको जनाइएको छ।
मार्चदेखि स्ट्रेटमा जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ। तथ्यांकअनुसार मार्च १ यता करिब १५० जहाज मात्र पार भएका छन्, जुन सामान्य अवस्थामा एक दिनको यातायात बराबर मानिन्छ। अधिकांश जहाज पूर्वी दिशातर्फ गइरहेका छन्।
सुरक्षा जोखिम बढेसँगै केही जहाजहरूले आफ्नो रेडियो पहिचान प्रणाली बन्द गरेर यात्रा गर्ने गरेका छन् र पछि ओमानको खाडी क्षेत्रमा पुनः देखिने गरेका छन्। हालसम्म कम्तीमा १८ जहाज आक्रमणमा परेका छन् भने सात जना चालक दलको मृत्यु भएको छ। केही जहाजहरू कूटनीतिक दबाबपछि मात्र पार गर्न सकेका छन्।
इरानी संसदले स्ट्रेटमा लागू गरिएको शुल्क र नियन्त्रणलाई कानुनी मान्यता दिने तयारी गरिरहेको छ। यसलाई इरानले आफ्नो सम्प्रभु अधिकारको औपचारिक अभिव्यक्ति र राजस्व स्रोतका रूपमा अघि बढाएको बताइएको छ।
यसबीच अन्तर्राष्ट्रिय समुद्री संगठन ले जहाजमाथि भएका आक्रमणको निन्दा गर्दै सुरक्षित र स्वतन्त्र पारगमन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समन्वयको आवश्यकता औँल्याएको छ।
संयुक्त अरब एमिरेट्स का एक तेल अधिकारीले इरानको कदमलाई ‘आर्थिक आतंकवाद’ भन्दै आलोचना गरेका छन्। विश्लेषकहरूका अनुसार यदि यो प्रणाली दीर्घकालीन रूपमा कायम रह्यो भने, यसले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा आपूर्ति शृङ्खला र विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्छ।













प्रतिक्रिया