सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार « Khabarhub

टिप्पणी

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

निजी क्षेत्रलाई विश्वासमा लिनसके उक्सिन्छ अर्थतन्त्र



काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ३६ वर्षको उमेरमै प्रधानमन्त्री बनेका छन् ।

लामो समयदेखिको अस्थिरता र जेन-जी आन्दोलनपछि देखिएको राजनीतिक संकटपछि फागुन २१ भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अत्यधिक बहुमत हासिल गर्दै रास्वपाले एकल सरकार बनाएको हो ।

शुक्रबार बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मन्त्रिपरिषद् गठनसँगै सबै मन्त्रीहरूले पनि आफ्नो कार्यभार सुरु गरेका छन् ।

जननिर्वाचित सरकार बनेसँगै भदौदेखि मुलुकमा देखिएको संवैधानिक संकटबाट मुलुक फेरि ट्रयाकमा आएको कानुनविद्हरूको भनाइ छ ।

तर, विशेषगरी जेन–जी आन्दोलनदेखि चुनावी क्याम्पिङसम्म आइपुग्दा नेपालमा भ्रष्टाचार र बेथिति बढ्दै गएको, सत्तामा पुराना राजनीतिक दलका सीमित नेतृत्वको मात्रै सिन्डिकेट रहेको र मुलुकले अपेक्षित गति लिन नसकेको भाष्य स्थापित भएको थियो ।

बालेन सरकारले मुलुकको सकारात्मक रूपान्तरणको सम्भावना सहित थुप्रै चुनौती पनि बोकेको छ

के छन् सम्भावना ?

बालेनका लागि सबैभन्दा ठूलो सहजता भनेको व्यापक जनसमर्थनसहितको संसद् संख्या हो । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ जना सांसद छन् । जसले गर्दा रास्वपालाई नीति निर्माणदेखि कानुन कार्यान्वयनसहित राज्यका मुद्दामा निर्णय गर्न सहज अवस्था छ ।

आगामी दिनमा शाह सरकारले कसरी काम गर्ने तरिकाबारे रास्वपाले आफ्नो घोषणापत्रमै उल्लेख गरको छ । पदभार ग्रहणकै क्रममा धेरै मन्त्रीले पार्टीको वाचापत्रअनुसार काम गर्ने बताइसकेका छन् ।

कम उपादयता भएका र राज्यलाई अपेक्षित नतिजा दिन नसकेका कतिपय निकाय तथा संस्थाहरू आवश्यक कानुन बनाएर पनि सरकारले हटाउन सक्ने र नयाँ निकायसमेत सहज ढंगले बनाउन सक्ने हैसियत राख्छ । जुन विषयहरूलाई रास्वपाले आफ्नो घोषणापत्रमा शमावेश गरेको छ ।

विगतका सरकारहरूले संसदीय अंकगणितका कारण थुप्रै निर्णय गर्दा शक्तिको बाँडफाँड वा लेनदेन गर्नपर्ने अवस्था रहेकोमा यो सरकारका निम्ति त्यो प्रकारको असहज अवस्था छैन ।

यो सरकार विशेषगरी भ्रष्टाचारको विरुद्धमा उठेको जनाधारको मतको आधारमा खडा भएको हो । त्यसैले पनि शासकीय स्वरूप सुधारको निम्ति विगतमा बनेका आयोगले दिएका सही सुझाव कार्यान्वयन गर्ने र थप नयाँ अध्ययन गरेर पारदर्शी राज्यसंरचना सञ्चालनको प्रणाली पनि यो सरकारले निर्माण गर्नसक्छ ।

आज पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूहरूको पहिलो प्राथमिकता शुसासन रहेको भनेर जोड दिएका छन् ।

साथै, यो सरकारले निजी क्षेत्रले आफ्ना गतिविधिको सहजताको लागि गरिरहेको मागको निम्ति आवश्यक कानुनी सुधार गर्नसक्छ भने आमजनताको जीवनसँग जोडिएको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा जस्ता विषयलाई प्रभावकारी बनाउन पनि नयाँ व्यवस्थाहरू गर्न सक्छ ।

जसमध्ये प्रधानमन्त्री शाह काठमाडौंको प्रमुख हुँदा विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उनले सुरु गरेको सुधारको पनि धेरैले प्रशंसा गरेका छन् ।

त्यस्तै, यो सरकारले विशेषगरी असाध्यै सुस्त गतिमा रहेको नेपालको पूर्वाधारको क्षेत्रको समस्यालाई पहिल्याएर नयाँ गति दिनसक्छ ।

जुन विषयमा चुनावी क्याम्पिङको क्रममा नै शाहले धेरै वर्षमा लगाएर गर्ने कामलार्इृ छोट्याउने आफूहरूको भूमिका हुने बताएका थिए ।

अर्थविद् गोविन्द नेपालले यो सरकार पुरानो भारी बोकेर नआएको र नयाँ र युवा मान्छेहरू आएको कारणले नयाँ गतिका साथ काम गर्ने सम्भावना रहेको बताएका छन् ।

‘नयाँ उर्जावान वौद्धिक युवाहरू सरकारमा आउनुभएको छ, सुशासन स्थापना गर्ने र रोजगारी स्थापना गर्नुहुन्छ भन्ने सम्भावना छ, फेरि उहाँहरूसँग पुरानो व्यागेज पनि छैन, जसले गर्दा फ्रेस हिसाबले काम गर्न सक्ने अवस्था छ’, उनले भने ।

के छ बालेनको चुनौती ?

राम्रा सम्भावनासँगै बालेन सरकारको निम्ति धेरै चुनौती पनि छन् । नेपालको इतिहासमा रास्वपाले प्राप्त गरेको यो चौथो पटकको एकल बहुमत हो । विगतका बहुमतका सरकार विशेषगरी आफ्नै पार्टीको आन्तरिक एकताको कमजोरी र समन्वयकारी क्षमताको अभावका कारण ढल्न पुगेका थिए ।

परम्परागत आधारहरूलाई जोडेर हेर्दा बालेनलाई पनि आफ्नो पार्टीभित्रको आन्तरिक सन्तुलन कायम राख्दै सरकार टिकाइरहने महत्वपूर्ण चुनौती छ । कतिपयले बालेनको स्वाभावसँग जोडिएर पार्टीको आन्तरिक एकता सँगसँगै जानेमा शंका गरिरहेका छन् ।

सुशासनको स्थापनाका लागि कार्यान्वयन गर्ने निकाय विशेषगरी राज्यको कर्मचारीतन्त्र, संवैधानिक निकाय, अदालत, प्रहरी लगायत हुन् । विगतमा पनि पक्कै सरकार एक्लै अपारदर्शी थिएन । त्यसैले कसरी समग्र राज्यलाई सुधारको दायरामा यो सरकारले ल्याउँछ भन्ने विषय निकै महत्वपूर्ण छ ।

पूर्वसचिव गोपिनाथ मैनालीले कर्मचारीतन्त्र सुधारको काम सुरुवाती दिनदेखि नै गर्न नसक्ने भने पछि गाह्रो हुने तर्क गरेका छन् । तर, रास्वपाको घोषणापत्रले भने राज्यसंयन्त्रलाई सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरेको पाइँदैन ।

त्यस्तै, जनताको रोजगारी, राज्यको उत्पादन र देशको विकाससँग जोडिएको कृषिदेखि उद्योगसम्मको नीतिगत व्यवस्था गर्न र वातावरण बनाउने विषय यो सरकारको लागि निकै चुनौतीपूर्ण छ ।

विशेषगरी व्यापारिक निजी क्षेत्रको प्रभुत्व रहेको अवस्थामा निजी क्षेत्रलाई उत्पादनदेखि उद्योगसम्म जाने वातावरण बनाउने कोसिस गर्दा यो सरकारले निकै चुनौतीको सामना गर्नुपर्ने स्पष्ट देखिन्छ ।

जसमा नेपालको खुला सीमाना, अन्तर्राष्ट्रिय सम्झौता लगायतका धेरै विषय पनि पर्छन् ।

अर्थविद् गोविन्द नेपालले पनि रास्वपाको घोषणापत्र हेर्दा उदारवादी अर्थनीति लिन खोजेको देखिएको बताए । तर शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्र राज्यले गर्नुपर्ने भन्ने नीति अंगालेकाले यो सरकारले सबै क्षेत्रलाई प्याकेजमा मिलाएर लैजान सक्नुपर्ने तर्क गरेका छन् ।

कुनै पक्षलाई वर्गलाई लाभ हुने र कुनै वर्गलाई अप्ठ्यारो हुने नीति अंगाल्न नहुने उनको भनाइ छ । साथै, उनले रास्वपा आफ्नै घोषणापत्रका आधारमा अघि बढ्नुपर्ने र धेरै तिर हात हाल्ने काम गर्नतर्फ नलागेमा नतिजा प्राप्त गर्न सहज हुने समेत बताए ।

एक वर्षदेखि नेपाल ‘फाइनान्सियल एक्सन टाक्स फोर्स’को ग्रे लिस्टमा परेको छ। अर्कातिर लामो समयदेखि नेपालको उड्डयन क्षेत्रलाई युरोपियन युनियनले सुरक्षा सूचीमा राखेको छ । जुन विषयलाई आवश्यक कदम चालेर सम्बोधन गर्नुपर्ने देखिएको छ ।

त्यस्तै, पछिल्लो समय पश्चिम एसियमा विकास भएको द्वन्द्वको कारणले लाखौँ नेपालीको रोजगारीमा संकट पैदा हुने र नेपालको रेमिट्यान्स आप्रवाह पनि प्रभावित हुने स्थिति देखिएको छ ।

जुन विषय नेपालमा थप रोजगारीका क्षेत्र तीव्र गतिमा सिर्जना गर्नु र वैदेशिक मुद्रा आम्दानीको वैकल्पिक क्षेत्र खोज्ने जिम्मेवारी पनि बालेन सरकारको काँधमा आएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ६ : ४५ बजे

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४

रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी– सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि