पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी « Khabarhub

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लिस्बन– वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ४२ वर्षीय धरमराज भण्डारी यहाँ पहिलो नेपाली अग्निनियन्त्रक बन्न सफल भएका छन्। करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम पूरा गरेपछि उहाँ स्वयंसेवी अग्निनियन्त्रक बनेका हुन् । 

तालिमपश्चात् आवश्यक प्रक्रिया पूरा गरेर भण्डारी सेतुबाल जिल्लाको मोइता नगरपालिकाअन्तर्गत रहेको ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ मा आबद्ध भएका हुन् । उक्त संस्थाले केही साताअघि औपचारिक समारोहका बीच उहाँलाई अन्य पाँच नयाँ अग्निनियन्त्रकसँगै सेवामा प्रवेश गराएको थियो ।

समारोहमा नवनियुक्त अग्नि नियन्त्रकहरूले संस्थाको झण्डासामु शपथ ग्रहण गर्दै सम्मान, कर्तव्यबोध र जिम्मेवारीका साथ समुदायको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भण्डारीले स्वयंसेवी अग्नि नियन्त्रक बन्न पाउँदा आफूलाई अत्यन्त खुसी र गर्व लागेको बताए। 

उनले भने, ‘विदेशी भूमिमा मानवीय सेवासँग जोडिन पाउनु एउटा नेपालीका रूपमा गर्वको कुरा हो । पोर्चुगलले हामीलाई धेरै दिएको छ, त्यसैले हामीले केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले यो सेवामा जोडिएको हुँ । यसलाई आत्मसन्तुष्टि र सौभाग्यका रूपमा लिएको छु ।’

भण्डारीका अनुसार यो सेवा पूर्ण रूपमा स्वयंसेवी हो र यसमा कुनै पारिश्रमिक वा सुविधा हुँदैन । ‘यो विशुद्ध सामाजिक र मानवीय सेवा हो, जसले छुट्टै सन्तुष्टि दिन्छ’, उनले भने। 

भण्डारीको यो यात्रा भने सहज थिएन । सुरुवातमा उनले धेरै संस्थामा अग्नि नियन्त्रणका लागि आवेदन दिए पनि अस्वीकृत हुनुपरेको थियो । अग्नि नियन्त्रक बन्ने चाहना व्यक्त गर्दा धेरैले अचम्म माने पनि अन्ततः ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ ले आफूलाई अवसर दिएको भन्दै उनले धन्यवाद दिए । 

‘नियुक्ति प्रक्रियाकै क्रममा विदेशी नागरिकलाई अग्नि नियन्त्रक बनाउन नहुने भन्दै उजुरीसमेत परेको थियो, तर प्रशासनले उक्त उजुरी अस्वीकार गर्दै नियुक्ति दिएको छ’, भण्डारीले भने, ‘तालिममा सहभागी भएका २२ जनामध्ये छ जना मात्र छनोट भएका छौँ । जसमा म मात्र एसियाली क्षेत्रको हुँ ।’

उनको शपथ ग्रहण समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल विशेष अतिथिका रूपमा सहभागी भएका थिए । त्यस क्रममा राजदूत पौडेलले भण्डारीको उपलब्धिले नेपाल र नेपाली समुदायको गौरव बढाएको बताए। 

‘यो उपलब्धि सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायी छ । यसले पोर्चुगलमा नेपालीहरूको सकारात्मक छवि अझ मजबुत बनाएको छ’, उनले भने। 

लामो समय अरब मुलुकहरूमा काम गरेपछि पाँच वर्षअघि पोर्चुगल पुग्नुभएका भण्डारीले सुरुमा रेस्टुरेण्टमा काम गरेको सुनाए । पछि एउटा कम्पनीमा ‘मेकानिक्स’ का रूपमा काम सुरु गरेपछि सामाजिक सेवामा संलग्न भएको उनको भनाइ छ । 

पोर्चुगलको अग्नि नियन्त्रण सेवा सरकारी तथा स्वयंसेवी दुवै संरचनामा आधारित छ । यसले आगलागी नियन्त्रणका साथै आकस्मिक चिकित्सा सेवा, एम्बुलेन्स सेवा, सवारी दुर्घटना, बाढी तथा प्राकृतिक विपद्का बेला उद्धार र राहत कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

भण्डारी हाल परिवारसहित पोर्चुगलमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ४ : ३१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष