काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट सुन्न जनता आतुर रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले राष्ट्रको आगामी दिशा, गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशी र संघर्षको उपलब्धि लगायतका विषयमा प्रधानमन्त्रीको धारणा सुन्न जनता आतुर रहेको बताएका हुन् ।
अहिलेसम्म संसदबाट पनि सम्बोधन नभएको अवस्थामा गणतन्त्र दिवसको मञ्च टुँडिखेलबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नुपर्ने उनले बताए ।
उनले संसदीय प्रणालीमा संसदबाट निर्वाचित प्रधानमन्त्रीले संसदमा समेत आएर सम्बोधन गर्नुपर्ने उल्लेख गरे।
पूर्वराष्ट्रपति यादवले संविधान, संघीयता सहित समावेशी, समानुपातिक सहित धर्मनिरपेक्षताको बारेमा धेरै टीकाटिप्पणी भइरहेको अवस्थामा लोकतन्त्र र गणतन्त्रलाई सबलीकरण गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले संविधान निर्माण गर्ने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका दलहरूले बीचको अवधिमा जनताको नाडी छाम्न नसकेका कारण रास्वपालाई जनताले मत दिएको धारणा राखे ।
अव जनताले विश्वास गरेको दलले जनताको विश्वास जित्दै मुलुकको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने उनले बताए ।














प्रतिक्रिया