विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि एक हुन सकेको छैन । संस्थापन र इतर दुबै पक्षले समानान्तर गतिविधिमा सक्रियता देखाइरहेका छन् । त्यसैमाथि विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगनकुमार थापाले एकता प्रयास नभएको गुनासो बढिरहेका बेला सदस्यताको डिजिटल अभिलेख नवीकरण नगर्ने जोकोही पार्टीबाट छुट्ने अभिव्यक्ति दिएपछि समस्या झन चुलिएको छ ।
इतर समूह यतिबेला १५ औँ महाधिवेशन तयारीका लागि भन्दै काठमाडौँ महाराजगञ्जस्थित चुनदेवीमा कार्यालय स्थापना गरी गतिविधि बढाउने सुरसारमा लागेको छ । यही परिवेशमा केन्द्रित रहेर कांग्रेस नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंशः
सभापतिले २० असारसम्म क्रियाशील सदस्यता अद्यावधिक नगरेको खण्डमा पार्टीले नचिन्ने प्रष्ट चेतावनी दिइसक्नुभएको छ । यसमा तपाईँको धारणा के छ ?
मेरो यसमा बाँकी सबै साथीहरुभन्दा फरक दृष्टिकोण छ । म विशेष महाधिवेशनको पक्षमा थिइनँ । विशेष महाधिवेशन र त्यसको विपक्षमा रहेका सबैलाई मिलाएर टिकट दिने भनेपछि म टिकट लिएर निर्वाचनमा गएको हुँ । सो समयसम्म हामी मुद्दामै थियौ । अदालतले गगन थापालाई सभापतिको वैधानिकता दियो ।
अदालतको त्यो निर्णयमा चित्त बुझेन । तरपनि अदालतको निर्णयभन्दा पर जान सक्ने अवस्था थिएन । त्यसैले मैले उहाँहरूले निर्णय गरेअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम गरेँ । त्यसमा हामीले बहस गरिरहनु उचित हुँदैन । त्यसपछि गर्ने कामका लागि सबै एक ठाउँमा जोडिन सक्छौँ र जोडिनुपर्छ ।
त्यसोभए एकताको सूत्र के हुनसक्ला?
अर्को दुई पक्षको बीचमा कसरी कुरा मिलाएर जाने भन्ने बारे केही साथीहरूले पुरानो र नयाँ कार्यसमिति जोडेर जानुपर्छ भन्नुभएको छ । दुई कार्यसमिति जोडिनु हुँदैन भन्ने मेरो धारणा हो । किनकी, विशेष महाधिवेशन पक्षधर साथीहरूले १४ औँ कार्यसमितिले पार्टीलाई नेतृत्व प्रदान गर्न सक्दैन भनेर नै महाधिवेशनमार्फत नयाँ कार्यसमिति बनाउनु भएको हो ।
बहुमत थियो, थिएन त्यो विषयमा आज बहस गर्नुको अर्थ छैन् । त्यो बाटो उपयुक्त थिएन भनेर हामीहरू एक पक्ष त्यहाँ सहभागी भएनौँ । त्यसैले फरक विचारका यी दुई समिति एक ठाउँमा जोडिनु हुँदैन ।
अन्ततः विशेष महाधिवेशनले र त्यसको असन्तुष्ट पक्ष दुबईले चाहेको नियमित १५ औँ महाधिवेशन हो । त्यसको प्रकृयामा दुबै कार्यसमितिमा सदस्य जोडिनुपर्छ । विशेष महाधिवेशनबाट आउनुभएका कार्यसमिति र त्यसका सभापतिले बाहिर रहेका सबैलाई कसरी अब हुने नियमित महाधिवेशनमा जोड्ने भन्नेमा उहाँहरु सकेसम्म उदार बन्नुपर्छ ।
त्यस्तै, इतर पक्षले पनि अदालतसम्मले मान्यता दिएको नेतृत्वले गरेका निर्णयलाई स्वीकार गर्दै नियमित महाधिवेशनको बाटो खोज्नुपर्छ । बुँदागत अडान राख्नु उचित हुँदैन । समग्रमा दुबै पक्षका साथीहरूको अडान समाधानउन्मुख छैन ।
यहाँका अनुसार क्रियाशील सदस्यता अद्यावधिक सबैले गर्ने र कार्यसमितिमा नयाँ पद सिर्जना नगरी विशेषबाट आएको नेतृत्वसहित कार्यसमितिलाई स्वीकार गरेर जानु नै समाधानको विकल्प हो ?
अद्यावधिकको विषयमा मैले उहाँसँग वैशाखतिर नै होला, एक समाजिक कार्यक्रममा भेट हुँदा यसरी वडा–वडामै जानुपर्ने बाध्यता बनाउनु अप्ठ्यारो र अव्यवहारिक छ भनेको थिएँ । सोअनुसार अनलाइनबाटै अद्यावधिक गर्ने व्यवस्था भयो ।
अहिले सहज घरबाटै गर्न सकिने विषयमा असहमति जनाइरहनुपर्दैन । तर, आजको दिनमा डिजिटल्ली अभिलेख सरकारले समेत सुरक्षित राख्न सकेको छैन । यस्तो अवस्थामा सूचना सुरक्षामा विशेष ध्यान पुर्याउन माग गरेको थिएँ, त्यो उहाँहरूले सुन्नुहोला भन्ने विश्वास राखेको छु ।
त्यसैले एकताका लागि अद्यावधिक सहज छ । दोस्रो, यो सूचना सुरक्षित राख्ने विषयमा उहाँहरूको तयारी पुगेको छैन । उहाँहरु गम्भीर हुनुपर्छ । तेस्रो २ वटा कार्यसमिति जोड्नु हुँदैन । चौथो, हिजो पनि कुनै पक्षमा बहुमत थिएन । जसले जति दाबी गरेपनि ४०-६० थियो होला ।
४०-६० को मात्रै पार्टी हुन सक्दैन । त्यसैले ती सबै जोडिनुपर्छ । कांग्रेस पुनर्जागरणको कुरा हो भने गएको १० वर्षमा कांग्रेसले आफूलाई जसरी स्खलित गरेको थियो, त्यो किसिममा आफूलाई नउभ्याउने हो भने सबैलाई एक ठाउँमा जोडिने बाटो खोज्ने काम नेतृत्वमा रहनुभएका पार्टी सभापतिको हो ।
आधा वर्ष बितिसक्दा पनि कांग्रेसका नेताहरू एकै ठाउँ उभिन नसक्नुको कारण के हो ?
यहाँ कमजोरी दुबै पक्षबाट भएका छन । त्यसैले म कसैमाथि आरोपित गर्न चाहान्न । समाधानमा मेरो अभिरुचि छ । कसको दोष कति छ भनेर मूल्यांकन गर्नेमा मेरो अभिरुचि छैन् । गएको दश पाँच वर्षमा अहिले पार्टीलाई अघि बढाउँछु भनेर लाग्ने सबै साथीहरू नीति निर्माणको तहमा नै बसेर काम गर्नुभएको थियो ।
म आफू बरु पछिल्लो पाँच वर्षदेखि सक्रिय भूमिकामा छैन् । त्यसमा दुबै समूह जवाफदेही हुनुपर्छ । त्यो मल्याङ्कन पनि गर्नुपर्छ, तर आजको दिनमा कांग्रेसलाई एकतावद्ध गराउनुपर्छ । अन्य समीक्षा एकतापछि पनि गर्न सकिन्छ । त्यसका लागि दुवैपक्षले लचकता देखाउनुपर्छ । तर त्यो दुवैतर्फबाट प्रदर्शन भएको छैन । जिम्मेवारी धेरै सभापतिको हुन्छ ।
अरु साथीहरू पनि हामी पार्टीलाई यहाँसम्म पुर्याउने पुराना र अनुभवी हौँ भनेर अड्डी कस्नु हुँदैन । वैद्यानिक हौँ भन्ने साथीहरूले पनि लचकता देखाउनु भएन भने उहाँहरूबाट अपेक्षित व्यवहार नभएको ठहर्छ ।
म गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि मन्त्रीबाट राजीनामा गरेँ । पार्टीले अपमानको रुपमा लियो र मलाई मेरो निर्वाचन क्षेत्रमा उम्मेदवार हुनसमेत बञ्चित गर्यो ।
पार्टीका गतिविधिमा समेत करिब ५ वर्षदेखि म बञ्चित भएर बसेको थिएँ । त्यसैले अन्य गतिविधिमा म अभ्यस्त भइसकेको छु । एउटा नेतृत्वले हिजो बाहिर बनाएको थियो, आज अर्कोले बनाएको छ । म यो उमेरमा पार्टीभित्र धेरै क्रियाशील नहुँदा पनि मैले काम गर्ने अन्य विषय यथेष्ट छन् । त्यसैले मलाई कसैको पक्ष लिएर धेरै चर्को कुरा गर्ने रुचि छैन् । म बाहिरै बसेर मूल्याङ्कन गर्न तयार छु ।
तपाईँ जस्तै कांग्रेसमा क्रियाशील रहने चाहना राख्ने अरु पनि हुनुहुन्छ होला, सबै किनारा लाग्नुपर्ने अवस्था हो ?
तपाईँहरू आउने भए आउनु नआउने भए नआउनुहोस् भन्ने नेतृत्वमा रहेका साथीभाइको व्यवहारबाट सन्देश सम्प्रेषित भइरहेको छ । त्यसमा जीवनको लामो समय पार्टीमा बिताएका साथीहरूले त्यसलाई अपमानका रुपमा लिनुभएको छ । अपमान नै गर्ने हो भने हामी चुप बस्छौँ अथवा समानान्तर रुपमा पनि क्रियाशील रहन्छौँ भन्नुभएको छ । यी दुबै कुरा मलाई अनुचित लाग्छ ।
कांग्रेसमा एकै जना भएपनि त्यसलाई क्रियाशील रहने चाहना हुँदाहुँदै पार्टीको नेतृत्वले क्रियाशील बनाउन सक्दैन भने पार्टीमा धेरै मान्छे भएर समस्या भएको हो कि भएका मान्छे पनि बाहिर जालान् भन्नेमा चिन्ता गर्ने बेला हो ? दुबै पक्षका साथीहरू नेतृत्वमा ढलिमली गरेर बस्नुभएको छ । त्यसैले मेरो दोष छैन अर्कोको दोष छ भनेर उम्कन पाउनुहुन्न ।












प्रतिक्रिया