माधव नेपाललाई प्रश्न– नेकपा र एमालेबीचको सहमतिमा तपाईँ असहमत हो ? « Khabarhub

माधव नेपाललाई प्रश्न– नेकपा र एमालेबीचको सहमतिमा तपाईँ असहमत हो ?



काठमाडौं- एमाले-नेकपाबीचको सहकार्यबारे नेकपाका सहसंयोजक माधवकुमार असन्तुष्ट रहेको खबर बाहिरिएको छ । तर खबरहबसँग छोटो संवादमा सहसंयोजक नेपालले प्रचण्ड र आफूबीचको सल्लाहमै नेकपा र एमालेको सहकार्यका तीन बुँदा तयार भएको जानकारी दिएका छन् । उनी सहकार्य गर्दा दुबै दलले गम्भीर र लचकता अपनाउनुपर्ने विषयमा आफूहरूबीच कुराकानी भएको स्वीकार गर्छन् ।

उनी आफूले देश छोडेर भाग्छु भन्ने कुरा कहीँ कतै नबोलेको बताउँदै प्रमाण पुर्‍याउनेलाई पुरस्कारको व्यवस्था गर्ने उल्लेख गरे । संविधान लोकतन्त्र र देशको रक्षा गर्नका निमित्त वामशक्ति एक ठाउँमा आउनु परेको उनको भनाइ छ । उनी पार्टी एकता नभएकाले नेकपाका अरु गतिविधि अगाडि बढ्ने बताउँछन् ।

नेकपाप्रति उठेको पछिल्लो प्रश्न र एमाले नेकपा सहकार्यको विषयमा केन्द्रित रहेर नेकपाका सहसंयोजक माधवकुमार नेपालसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश-

नेकपा र एमालेबीचको सहकार्यमा तपाईं असन्तुष्ट हुनुहुन्छ रे ?

बाहिरका सबै हल्ला बेकारका कुराहरू हुन् । प्रचण्डसँग कुनै असमझदारी छैन । तपाईँहरूलाई पनि थाहा छ– म ज्वरो आएर सुतेको बेला प्रचण्डजी भेट्न आउनुभएको थियो । त्यसैबेला उहाँ र मबीच यो संविधान, लोकतन्त्र र देशले पाएका उपलब्धिहरू जोगाउन प्रदेशमा सहकार्य गरेर अगाडि जाने विषयमा छलफल भएको थियो ।

सहकार्य हुँदा दुवै पार्टी गम्भीर र लचक हुनुपर्ने प्रचण्डजी र मेरो मान्यता थियो । गठबन्धनप्रति इमान्दारी र उत्तरदायी हुनुपर्छ भन्ने मान्यता प्रचण्ड र मैले राखेपछि नै अर्को पक्ष पनि त्यसमा तयार हुन्छु भनेर अगाडि आएपछि सहमतिमा पुगेका थियौँ ।

तपाईंले सहमतिमै प्रश्न उठाइरहनु भएको छ रे ?

तीन बुँदे सहमति एकदम ठिक छ । यसमा मेरो समर्थन छ हामीबीच कुरा भएरै सहमति भएको हो । म देश छोडेर भाग्ने कुरा पनि जथाभावी लेखेको, देखेको छु । यो मैले बिल्कुल काहीँ कतै कुरै गरेको छैन यो कुरा हुँदै हुँदैन ।

त्यसकारण प्रचण्डजीलाई पनि सोध्न सक्नुहुन्छ नेकपा र एमालेबीच गठबन्धन गर्ने कुरामा हामीबीच पूरै सहमति थियो । तर गठबन्धन बनाएपछि सबै शक्तिहरू त्यो गठबन्धनप्रति लचिलो हुनुपर्छ र समझदारी र सहकार्यको वातावरण बन्नुपर्छ भन्ने विषय मैले उठाएको थिए ।

देश छोडेर भाग्छु भनेको पनि होइन ?

कहाँ बोल्नु, त्यस्तो भन्छु म ? परिवारै नेपाल, मान्छे नै देशभक्त-माधव नेपाल । त्यसकारण यो कुराहरु अफवाह हुन् । म कुनै पनि हिसाबमा यो निर्णयमा पुग्दिनँ । नेकपा विभाजन हुँदा कस्तो कस्तो कालखण्डमा त मैले एकै लड्छु भनेर उभिएको मान्छे हुँ ।

अहिलेको यो परिस्थिति लोकतन्त्र संविधान र देश बचाउनका लागि त झन् हामी सबै सहकार्य गरेर अगाडि बढ्छौँ । नेपालको राजनीतिमा सक्रियताका साथ सबै पक्षलाई समेटेर संविधानको रक्षा गणतन्त्रको रक्षा र नेपाली जनताको रक्षाको निम्ति समर्पित भएर काम गर्ने वाचा गरेका छौँ ।

सबैलाई समेटेर लाने मेरो धारणा रहेको छ चाहे वामपन्थी हुन् चाहे लोकतन्त्रवादी शक्ति हुन् । यसमा हाम्रो पार्टीको धारणा यही छ । सकेसम्म सबै शक्तिहरुलाई समेटेर लाने नसकेको खण्डमा मिल्ने शक्तिहरु एक भएर संविधान लोकतन्त्र बचाउन क्रियाशील हुने हो । म देश छोडेर भाग्दा लोकतन्त्र संविधान र गणतन्त्र नै खतरामा पर्छ । किनकि यसका निमित्त हामी ज्यानको बाजी थापेर आएका हौँ । यो कुरा बोलेको कहीँ कतै कसैले प्रमाण पुर्‍याउन सक्छ भने म त्यसलाई पुरस्कारको व्यवस्था गर्छु ।

सोमबार तपाईं र प्रचण्डबीच पेरिसडाँडामा के के कुराकानी भयो ?

हामीले भएका सहमति कार्यान्वयन गर्ने र एकआपसमा सल्लाहमै काम गर्ने विषयमा छलफल गर्‍यौँ । लोकतन्त्र र संविधान बचाउने विषयमा सबै एक ठाउँमा आउनुपर्छ भन्ने प्रचण्ड र मेरो कुरा हो ।

विदेश विभागको बैठकमा प्रचण्ड र म लामो समय बस्यौँ । विभिन्न प्रदेशमा कसरी सरकार गठन हुने भन्ने कुराहरू भए । कसरी कांग्रेससँग पनि र अरु पार्टीसँग पनि सहकार्यको विषयमा छलफल गर्ने भन्ने कुरा भएको छ ।

उसो भए तपाईँले एमाले र नेकपा बीचको सहकार्यका सबै विषयहरूमा जानकारी हुनुहुन्थ्यो र विमति पनि हुनुहुन्न ?

प्रचण्ड र म बीचमा सहमतिमा भएको कुनै यसमा विमति छैन । हामी पटक पटक छलफल गरेर सहमतिमै निर्णय भएको हो । यो सहमतिका लागि प्रचण्ड र म टेलिफोनमा त पटकपटक वार्ता गर्‍यौँ । भेट भएर पनि दुई तीन पटक वार्ता गरेका थियौँ । बाहिर अनेक किसिमका नियोजित रूपमा हल्लाहरू आए । त्यो हल्ला गर्ने तत्त्व पनि हामीले चिन्न थालिसकेका छौँ ।

अब मधेस र गण्डकीमा कसरी सरकार बन्छ ?

अरु सबै शक्तिहरूसँग कुराकानी भइरहेको छ । कांग्रेससँग पनि कुराकानी अघि बढेको छ । सहमतिमै टुङ्गो लाग्छ । छलफल गरेर मात्रै भन्न सकिन्छ । दुई प्रदेशको सन्दर्भमा अहिले भन्न सकिने अवस्था छैन ।

वाम गठबन्धन बिउँताउने सहमतिमा किन पुग्नुभएको हो ?

सुदूरपश्चिममा नेपाली कांग्रेस र एमालेको सहकार्य भएर पनि बजेट पारित हुन सकेन, त्यसैले त्यहाँ समस्याहरु उत्पन्न भए । त्यो प्रदेशमा कांग्रेस एमाले गठबन्धनमा असमझदारी बढेर अन्तरविरोध चर्कियो । त्यो भय कर्णालीमा पनि देखियो र अरु ठाउँमा पनि दुई पार्टीहरु बीचको सहकार्य नहुने निष्कर्ष निस्किन थालेपछि यही सन्दर्भमा कसरी जाने भन्ने बारेमा छलफल भएर हामी निष्कर्षमा पुगेका हौँ ।

कांग्रेससँग पनि कुरा गरेका हौँ । अहिले पनि हाम्रो कुरा भइरहेको छ । कांग्रेसलाई पनि लिएर जाने हाम्रो सोच भएको हो । कांग्रेस सभापति गगन थापाले एउटा न एउटा पार्टी प्रतिपक्षमा हुनुपर्छ भन्ने सिद्धान्त अगाडि बढाएकाले सहकार्य हुन सकेन ।

साना दलहरूसँग हामी संवादमै छौँ । वाम सहकार्यका लागि अर्को पनि शक्ति नरम र लचिलो भएपछि हामीले ठूलो हुने कुरा थिएन, किनकि देश जोगाउनु महत्वपूर्ण विषय हो । देश जोगाउन हामी सबै एक हुनुपर्छ भनेर अर्को पनि शक्तिले भनेपछि प्रचण्ड र पनि त्यसमा विचार गरेर सहमतिमा पुगेका हौँ ।

विगतमा ओलीसँग सहकार्य नगर्ने निष्कर्षमा पुग्नुभएको तपाईँ र प्रचण्ड फेरि ओलीसँगै सहकार्यको तहमा पुग्दा अब सम्बन्ध सुध्रिएको मान्न सकिन्छ ?

सहकार्यको लागि कहिले पनि हुन्न भनिएको थिएन । तर पार्टी एक बनाउने विषयमा अहिले केही पनि कुरा भएको छैन । राष्ट्रियता संविधान रक्षाका लागि कुनै पनि व्यक्ति हेर्ने कुरो भएन । व्यक्तिगत कुरा भन्दा पनि पार्टी र देशको स्थितिले नजिक भइएको हो । सम्बन्ध पार्टीसँग सुध्रिएको हो, व्यक्तिको विषयमा अहिले नजाउँ ।

उसो भए पार्टी एकतासम्म पुग्छ यो सहमति ?

अहिले यसबारे केही भन्न सकिँदैन । भविष्यले निर्धारण गर्छ । गठबन्धनप्रति को कति लचिलो र त्यागी हुन्छ भन्ने कुरामा पनि निर्भर रहन्छ । अहिलेलाई सहकार्य मात्रै हो । त्यो पनि एउटै पार्टीको बहुमत नभएपछि विभिन्न शक्तिहरु एक ठाउँमा आउनु परेको हो ।

नेकपामा पार्टी बैठकहरू पनि हुँदैन रे, तपाईँ र प्रचण्डको पेवा जस्तो मात्रै पार्टी भयो भनेर युवा पुस्ताले आवाज उठाइरहेका छन् नि ?

पार्टीभित्र हामीलाई त्यस्तो आरोप लगाइएको छ जस्तो मलाई लाग्दैन । तर पार्टीका नियमित गतिविधि महाधिवेशन लगायतका कुराहरुमा हामी क्लियर छौँ । पार्टीको नियमित गतिविधि तोकिएको समयमा गर्ने प्रयत्नमा छौँ । अहिले एमालेसँग सहकार्य मात्रै भएको हो, पार्टी एकता भएको होइन । हाम्रो पार्टीले गर्नुपर्ने आवश्यक गतिविधि निरन्तर अघि बढ्छ ।

पार्टीको महाधिवेशन लगायतका विषयको अवस्था के छ ?

महाधिवेशन हामीले मङ्सिरमा गर्ने भनेका छौँ । त्यही अनुसार तयारीमा जोड्दै छौँ । हामी ४५ जनाको कार्यसमिति छ । त्यसको बैठक पनि चाँडै राख्दैछौँ । अबको बैठकबाट केही तयारी र कामको विषय टुङ्गो लाग्छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : ३१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज