काठमाडौं- एमाले-नेकपाबीचको सहकार्यबारे नेकपाका सहसंयोजक माधवकुमार असन्तुष्ट रहेको खबर बाहिरिएको छ । तर खबरहबसँग छोटो संवादमा सहसंयोजक नेपालले प्रचण्ड र आफूबीचको सल्लाहमै नेकपा र एमालेको सहकार्यका तीन बुँदा तयार भएको जानकारी दिएका छन् । उनी सहकार्य गर्दा दुबै दलले गम्भीर र लचकता अपनाउनुपर्ने विषयमा आफूहरूबीच कुराकानी भएको स्वीकार गर्छन् ।
उनी आफूले देश छोडेर भाग्छु भन्ने कुरा कहीँ कतै नबोलेको बताउँदै प्रमाण पुर्याउनेलाई पुरस्कारको व्यवस्था गर्ने उल्लेख गरे । संविधान लोकतन्त्र र देशको रक्षा गर्नका निमित्त वामशक्ति एक ठाउँमा आउनु परेको उनको भनाइ छ । उनी पार्टी एकता नभएकाले नेकपाका अरु गतिविधि अगाडि बढ्ने बताउँछन् ।
नेकपाप्रति उठेको पछिल्लो प्रश्न र एमाले नेकपा सहकार्यको विषयमा केन्द्रित रहेर नेकपाका सहसंयोजक माधवकुमार नेपालसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश-
नेकपा र एमालेबीचको सहकार्यमा तपाईं असन्तुष्ट हुनुहुन्छ रे ?
बाहिरका सबै हल्ला बेकारका कुराहरू हुन् । प्रचण्डसँग कुनै असमझदारी छैन । तपाईँहरूलाई पनि थाहा छ– म ज्वरो आएर सुतेको बेला प्रचण्डजी भेट्न आउनुभएको थियो । त्यसैबेला उहाँ र मबीच यो संविधान, लोकतन्त्र र देशले पाएका उपलब्धिहरू जोगाउन प्रदेशमा सहकार्य गरेर अगाडि जाने विषयमा छलफल भएको थियो ।
सहकार्य हुँदा दुवै पार्टी गम्भीर र लचक हुनुपर्ने प्रचण्डजी र मेरो मान्यता थियो । गठबन्धनप्रति इमान्दारी र उत्तरदायी हुनुपर्छ भन्ने मान्यता प्रचण्ड र मैले राखेपछि नै अर्को पक्ष पनि त्यसमा तयार हुन्छु भनेर अगाडि आएपछि सहमतिमा पुगेका थियौँ ।
तपाईंले सहमतिमै प्रश्न उठाइरहनु भएको छ रे ?
तीन बुँदे सहमति एकदम ठिक छ । यसमा मेरो समर्थन छ हामीबीच कुरा भएरै सहमति भएको हो । म देश छोडेर भाग्ने कुरा पनि जथाभावी लेखेको, देखेको छु । यो मैले बिल्कुल काहीँ कतै कुरै गरेको छैन यो कुरा हुँदै हुँदैन ।
त्यसकारण प्रचण्डजीलाई पनि सोध्न सक्नुहुन्छ नेकपा र एमालेबीच गठबन्धन गर्ने कुरामा हामीबीच पूरै सहमति थियो । तर गठबन्धन बनाएपछि सबै शक्तिहरू त्यो गठबन्धनप्रति लचिलो हुनुपर्छ र समझदारी र सहकार्यको वातावरण बन्नुपर्छ भन्ने विषय मैले उठाएको थिए ।
देश छोडेर भाग्छु भनेको पनि होइन ?
कहाँ बोल्नु, त्यस्तो भन्छु म ? परिवारै नेपाल, मान्छे नै देशभक्त-माधव नेपाल । त्यसकारण यो कुराहरु अफवाह हुन् । म कुनै पनि हिसाबमा यो निर्णयमा पुग्दिनँ । नेकपा विभाजन हुँदा कस्तो कस्तो कालखण्डमा त मैले एकै लड्छु भनेर उभिएको मान्छे हुँ ।
अहिलेको यो परिस्थिति लोकतन्त्र संविधान र देश बचाउनका लागि त झन् हामी सबै सहकार्य गरेर अगाडि बढ्छौँ । नेपालको राजनीतिमा सक्रियताका साथ सबै पक्षलाई समेटेर संविधानको रक्षा गणतन्त्रको रक्षा र नेपाली जनताको रक्षाको निम्ति समर्पित भएर काम गर्ने वाचा गरेका छौँ ।
सबैलाई समेटेर लाने मेरो धारणा रहेको छ चाहे वामपन्थी हुन् चाहे लोकतन्त्रवादी शक्ति हुन् । यसमा हाम्रो पार्टीको धारणा यही छ । सकेसम्म सबै शक्तिहरुलाई समेटेर लाने नसकेको खण्डमा मिल्ने शक्तिहरु एक भएर संविधान लोकतन्त्र बचाउन क्रियाशील हुने हो । म देश छोडेर भाग्दा लोकतन्त्र संविधान र गणतन्त्र नै खतरामा पर्छ । किनकि यसका निमित्त हामी ज्यानको बाजी थापेर आएका हौँ । यो कुरा बोलेको कहीँ कतै कसैले प्रमाण पुर्याउन सक्छ भने म त्यसलाई पुरस्कारको व्यवस्था गर्छु ।
सोमबार तपाईं र प्रचण्डबीच पेरिसडाँडामा के के कुराकानी भयो ?
हामीले भएका सहमति कार्यान्वयन गर्ने र एकआपसमा सल्लाहमै काम गर्ने विषयमा छलफल गर्यौँ । लोकतन्त्र र संविधान बचाउने विषयमा सबै एक ठाउँमा आउनुपर्छ भन्ने प्रचण्ड र मेरो कुरा हो ।
विदेश विभागको बैठकमा प्रचण्ड र म लामो समय बस्यौँ । विभिन्न प्रदेशमा कसरी सरकार गठन हुने भन्ने कुराहरू भए । कसरी कांग्रेससँग पनि र अरु पार्टीसँग पनि सहकार्यको विषयमा छलफल गर्ने भन्ने कुरा भएको छ ।
उसो भए तपाईँले एमाले र नेकपा बीचको सहकार्यका सबै विषयहरूमा जानकारी हुनुहुन्थ्यो र विमति पनि हुनुहुन्न ?
प्रचण्ड र म बीचमा सहमतिमा भएको कुनै यसमा विमति छैन । हामी पटक पटक छलफल गरेर सहमतिमै निर्णय भएको हो । यो सहमतिका लागि प्रचण्ड र म टेलिफोनमा त पटकपटक वार्ता गर्यौँ । भेट भएर पनि दुई तीन पटक वार्ता गरेका थियौँ । बाहिर अनेक किसिमका नियोजित रूपमा हल्लाहरू आए । त्यो हल्ला गर्ने तत्त्व पनि हामीले चिन्न थालिसकेका छौँ ।
अब मधेस र गण्डकीमा कसरी सरकार बन्छ ?
अरु सबै शक्तिहरूसँग कुराकानी भइरहेको छ । कांग्रेससँग पनि कुराकानी अघि बढेको छ । सहमतिमै टुङ्गो लाग्छ । छलफल गरेर मात्रै भन्न सकिन्छ । दुई प्रदेशको सन्दर्भमा अहिले भन्न सकिने अवस्था छैन ।
वाम गठबन्धन बिउँताउने सहमतिमा किन पुग्नुभएको हो ?
सुदूरपश्चिममा नेपाली कांग्रेस र एमालेको सहकार्य भएर पनि बजेट पारित हुन सकेन, त्यसैले त्यहाँ समस्याहरु उत्पन्न भए । त्यो प्रदेशमा कांग्रेस एमाले गठबन्धनमा असमझदारी बढेर अन्तरविरोध चर्कियो । त्यो भय कर्णालीमा पनि देखियो र अरु ठाउँमा पनि दुई पार्टीहरु बीचको सहकार्य नहुने निष्कर्ष निस्किन थालेपछि यही सन्दर्भमा कसरी जाने भन्ने बारेमा छलफल भएर हामी निष्कर्षमा पुगेका हौँ ।
कांग्रेससँग पनि कुरा गरेका हौँ । अहिले पनि हाम्रो कुरा भइरहेको छ । कांग्रेसलाई पनि लिएर जाने हाम्रो सोच भएको हो । कांग्रेस सभापति गगन थापाले एउटा न एउटा पार्टी प्रतिपक्षमा हुनुपर्छ भन्ने सिद्धान्त अगाडि बढाएकाले सहकार्य हुन सकेन ।
साना दलहरूसँग हामी संवादमै छौँ । वाम सहकार्यका लागि अर्को पनि शक्ति नरम र लचिलो भएपछि हामीले ठूलो हुने कुरा थिएन, किनकि देश जोगाउनु महत्वपूर्ण विषय हो । देश जोगाउन हामी सबै एक हुनुपर्छ भनेर अर्को पनि शक्तिले भनेपछि प्रचण्ड र पनि त्यसमा विचार गरेर सहमतिमा पुगेका हौँ ।
विगतमा ओलीसँग सहकार्य नगर्ने निष्कर्षमा पुग्नुभएको तपाईँ र प्रचण्ड फेरि ओलीसँगै सहकार्यको तहमा पुग्दा अब सम्बन्ध सुध्रिएको मान्न सकिन्छ ?
सहकार्यको लागि कहिले पनि हुन्न भनिएको थिएन । तर पार्टी एक बनाउने विषयमा अहिले केही पनि कुरा भएको छैन । राष्ट्रियता संविधान रक्षाका लागि कुनै पनि व्यक्ति हेर्ने कुरो भएन । व्यक्तिगत कुरा भन्दा पनि पार्टी र देशको स्थितिले नजिक भइएको हो । सम्बन्ध पार्टीसँग सुध्रिएको हो, व्यक्तिको विषयमा अहिले नजाउँ ।
उसो भए पार्टी एकतासम्म पुग्छ यो सहमति ?
अहिले यसबारे केही भन्न सकिँदैन । भविष्यले निर्धारण गर्छ । गठबन्धनप्रति को कति लचिलो र त्यागी हुन्छ भन्ने कुरामा पनि निर्भर रहन्छ । अहिलेलाई सहकार्य मात्रै हो । त्यो पनि एउटै पार्टीको बहुमत नभएपछि विभिन्न शक्तिहरु एक ठाउँमा आउनु परेको हो ।
नेकपामा पार्टी बैठकहरू पनि हुँदैन रे, तपाईँ र प्रचण्डको पेवा जस्तो मात्रै पार्टी भयो भनेर युवा पुस्ताले आवाज उठाइरहेका छन् नि ?
पार्टीभित्र हामीलाई त्यस्तो आरोप लगाइएको छ जस्तो मलाई लाग्दैन । तर पार्टीका नियमित गतिविधि महाधिवेशन लगायतका कुराहरुमा हामी क्लियर छौँ । पार्टीको नियमित गतिविधि तोकिएको समयमा गर्ने प्रयत्नमा छौँ । अहिले एमालेसँग सहकार्य मात्रै भएको हो, पार्टी एकता भएको होइन । हाम्रो पार्टीले गर्नुपर्ने आवश्यक गतिविधि निरन्तर अघि बढ्छ ।
पार्टीको महाधिवेशन लगायतका विषयको अवस्था के छ ?
महाधिवेशन हामीले मङ्सिरमा गर्ने भनेका छौँ । त्यही अनुसार तयारीमा जोड्दै छौँ । हामी ४५ जनाको कार्यसमिति छ । त्यसको बैठक पनि चाँडै राख्दैछौँ । अबको बैठकबाट केही तयारी र कामको विषय टुङ्गो लाग्छ।












प्रतिक्रिया