चुलिँदै प्रधानमन्त्री र अर्थमन्त्रीबीचको विवाद, ऊर्जामन्त्रीलाई समेत मुछे स्वर्णिमले « Khabarhub

चुलिँदै प्रधानमन्त्री र अर्थमन्त्रीबीचको विवाद, ऊर्जामन्त्रीलाई समेत मुछे स्वर्णिमले


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच केही महिनादेखि देखिँदै आएको विवाद नयाँ स्वरूपमा सतहमा आएको छ । अर्थमन्त्री डा. वाग्लेले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभत्त श्रेष्ठलाई समेत विवादमा तानेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा राजस्व चुहावट र पुँजीबजार नियन्त्रणसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीका २७ र ऊर्जामन्त्रीका २० जना सल्लाहकार रहेको बताएका हुन् । तर, आफूले भने एकजनामात्रै अवैतनिक राजस्व सल्लाहकार राखेको तर्क उनले गरे ।

बजेट बनाउँदैदेखि प्रधानमन्त्रीसँग सम्बन्ध चिसिएको कुरा बाहिरिएको थियो । त्यसै बेलादेखि स्वर्णिमलाई प्रधानमन्त्रीले हटाउन खोजेको चर्चा भइरहेका बेला मंगलबार सार्वजनिक रूपमा आएको भनाइले त्यसमा झन् बल दिएको छ । प्रधानमन्त्री र अन्य मन्त्रीबीचमा पनि सम्बन्ध राम्रो नभएको विवरण बेला बेला आइरहेको छ । यस्तोमा स्वर्णिमले आफूलाई सुशासनको पर्यायका रुपमा देखाउँदै प्रम र अर्का मन्त्री चुकेको सन्देश मंगलबार दिएका छन् ।

‘तपाईंहरूले सुनिरहनु नै भएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जना सल्लाहकार कार्यरत हुनुहुन्छ, ऊर्जा मन्त्रालयमै २० जना सल्लाहकार राखिएको रहेछ’, उनले भने, ‘तर मैले अहिले पनि एकजना मात्रै सल्लाहकार राखेको छु, ती पनि मैले अवैतनिक राजस्व सल्लाहकारका रुपमा राखेको छु ।’

तर, प्रधानमन्त्रीको सचिवालयले भने अर्थमन्त्री डा वाग्लेले भनेजस्तो प्रधानमन्त्री बालेनले २७ जना सल्लाहकार नियुक्त नगरेको जनाएको छ । ‘अहिलेसम्म प्रधानमन्त्रीज्युले ३ जना सल्लाहकार मात्रै नियुक्त गर्नुभएको छ, जसमध्ये कुमार बेन र असिम शाह अवैतनिक हुनुहुन्छ भने स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल मात्रै वैतनिक हुनुहुन्छ’, प्रधानमन्त्रीको सचिवालयका ती सदस्यले खबरहबलाई भने ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले अर्थमन्त्री डा. वाग्लेको भनाइ आएको भोलिपल्ट मंगलबार नै उर्जा, व्यापार तथा पूर्वाधार विज्ञका रूपमा चितवनका विवेकराज कँडेललाई नियुक्त गरेका छन् । मन्त्री श्रेष्ठका सचिवालय सदस्य राजु श्रेष्ठले पनि अहिलेसम्म मन्त्रीले एकजना मात्रै सल्लाहकार नियुक्त गरेको बताए । मन्त्री श्रेष्ठले पहिलो विज्ञको रूपमा नै कँडेललाई नियुक्त गरेको भन्दै २० जना नियुक्ति गरिएको विषयमा सत्यता नभएको बताए ।

लामो समयदेखि चिसिँदै आएको प्रधानमन्त्री अर्थमन्त्री बीचको सम्बन्ध पछिल्ला दिनमा थप बिग्रिँदै गएको संकेत देखिएको छ । जुन संकेतलाई अर्थमन्त्री डा. वाग्लेको मंगलबारको भनाइले समेत पुष्टि गरेको छ । उनले एउटै मन्त्रिमण्डलमा सहकार्य गरिरहेका मन्त्रीको नियुक्तिजस्तो विषयमा पनि निकै ठूलो संख्या बढाएर प्रस्तुत गर्नुले समस्या निकै गहिरो हुँदै गएको देखाएको हो ।

त्यस्तै असार २३ गतेदेखि प्रधानमन्त्री बालेनले सुरु गरेको श्रृंखलाबद्ध निजी क्षेत्रसँगको संवादमा अर्थमन्त्री डा वाग्ले र अर्थ मन्त्रालयलाई सहभागी गराएका थिएनन् । मंगलबार मात्रै उनले फेरि प्रधानमन्त्री बालेनले नै चरणबद्ध रूपमा छलफल गरेका निजी क्षेत्रका उद्योगीहरूसँग सामूहिक छलफल गरेका छन् । जुन छलफलमा पनि उद्योग मन्त्रालयका सचिवबाहेक उद्योगसँग सम्बन्धित अन्य मन्त्रीको सहभागिता भएको छैन ।

प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध चिसिँदै गएपछि अघिल्लो साता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अर्थमन्त्रीको बीचमा एकदिन लामो छलफल भएको थियो । तर, सो छलफलपछि पनि मन्त्रिपरिषद्को औपचारिक बैठकमाबाहेक प्रधानमन्त्री र अर्थमन्त्रीबीच छलफल हुन सकेको देखिँदैन ।

यसका साथै, अर्थमन्त्रीबाट आएको विवादास्पद अभिव्यक्ति र समानान्तर प्रकृतिको कार्यक्रमले सम्बन्धमा थप दरार बढ्दै गएको हुनसक्ने देखाएको छ । तर, एउटै पार्टीको सरकार भएकोले अहिलेसम्म पार्टीभित्रको विवादलाई भने नेता तथा कार्यकर्ताले बाहिर ल्याएका छैनन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ४९ बजे

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा

माधव नेपाललाई प्रश्न– नेकपा र एमालेबीचको सहमतिमा तपाईँ असहमत हो ?

काठमाडौं- एमाले-नेकपाबीचको सहकार्यबारे नेकपाका सहसंयोजक माधवकुमार असन्तुष्ट रहेको खबर बाहिरिएको

ट्रेन्ड फेरिँदा हिट लिस्टमा नयाँ निर्देशकहरू !

काठमाडौं – पछिल्लो हिट फिल्म ‘गौँथली’सम्म आइपुग्दा प्रष्ट हुन्छ– अब

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान