जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’ « Khabarhub

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’



श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व हो- गुन्हुँ पुन्ही अर्थात् क्वाटी पूर्णिमा। यो पर्व सांस्कृतिक, धार्मिक, पर्यावरणीय र स्वास्थ्य चेतनाले भरिएको एक महत्त्वपूर्ण पर्व हो।

“गुन्हुँ” शब्दले नेपाल संवतको नवौँ महिनालाई जनाउँछ भने “पुन्ही” ले पूर्णिमालाई जनाउँछ, जसका कारण यस पर्वलाई “गुन्हुँ पुन्ही” भनिएको हो।

यस पर्वमा नेवार समुदायले नौ थरिका गेडागुडी मिसाएर बनाइने स्वादिलो, पौष्टिक र पाचनशक्ति वृद्धिमा सहायक परिकार “क्वाटी” खाने परम्परा रहेको छ। नेवारी भाषामा ‘क्वा’ को अर्थ तातो र ‘टी’ को अर्थ झोल वा सुप हुन्छ।

यो परम्परागत नेपाली परिकार हो, जुन नेवार समुदायमा ‘गुन्हुँ पुन्ही’पर्वको अवसरमा वा ‘जनै पूर्णिमा’ मा खाइन्छ। जनै पूर्णिमा भनेको नेपाल संवत् पात्रोको १० औँ महिना ‘गुँला’ को पूर्णिमाको दिन हो। यसले वर्षा ऋतुको अन्त्य र नेपालमा जाडो ऋतुको सुरुआतलाई जनाउँछ।

नौ थरी गेडागुडी मिसाइएको पोषिलो क्वाँटीले पाचन र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यस दिन जलचर भ्यागुताको पूजा गरी प्रकृतिप्रति कृतज्ञता जनाइन्छ भने नकारात्मक शक्तिबाट जोगिन रक्षा डोरो बाँध्ने गरिन्छ।

क्वाटीमा प्रयोग हुने अन्नमा मास, मुगी, चना, बोडी, केराउ, राजमा, सिमी, भटमास, मकै तथा बकुल्लाजस्ता गेडागुडी समावेश हुन्छन्, जसले शरीरलाई आवश्यक पर्ने प्रोटिन, फाइबर, भिटामिन र खनिजहरू प्रदान गर्दछ। विशेष गरी वर्षाको मौसममा कमजोर हुने पाचन प्रणालीलाई बलियो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वाससहित क्वाटी सेवन गरिन्छ।

तर यो पर्व केवल स्वादिलो परिकार सेवन गर्ने चाड मात्र होइन। यस दिन भ्यागुतालाई पूजा गर्ने विशेष परम्परा पनि छ। श्रावण शुक्ल पूर्णिमाको पावन अवसरमा नेवार समुदायमा वर्षा ल्याउन सहयोग गर्ने जीव भ्यागुताको पूजा गर्ने परम्परा प्रचलित छ।

कृषिप्रधान समाजमा धान खेतीको मुख्य समयमा पानीको अभाव नहोस् भनेर भ्यागुतालाई विशेष महत्त्व दिइन्छ। पानी पार्न र खेतबारी सिँचाइ गर्न मद्दत गर्ने यस सानो जीवलाई कृषकहरूले प्राकृतिक देवताका रूपमा मानेर विविध स्वादिष्ट परिकार बनाई मनभावन ढङ्गले पूजा गर्छन्। यसरी भ्यागुताप्रतिको श्रद्धा प्रकट गर्दै नेवारहरूले वर्षा र बालीको समृद्धिको कामना गर्छन्, जुन प्रकृति र मानवीय जीवनबिचको नजिकको सम्बन्धलाई दर्शाउने सुन्दर सांस्कृतिक अभ्यास हो।

कृषिप्रधान समाजमा पानीको विशेष महत्त्व रहेकाले भ्यागुतालाई वर्षा गराउने जीवका रूपमा लिइन्छ। भ्यागुता रोपाइँको मौसममा देखा पर्ने र वर्षासँग सम्बन्धित जीव भएकाले नेवार समुदायले यसलाई प्राकृतिक देवताका रूपमा सम्मान गर्छन्। त्यसैले यस दिन मानिसहरू धानबारी, कुवा, इनार, धारा, खोलाजस्ता पानीका स्रोतहरूसम्म गई सिमीको पातमा चामल, क्वाटी, रोटी, मुलाको चाना, सुपारी आदि अर्पण गर्दै “ब्याचा जाः नक वानेगु” अर्थात् “भ्यागुतालाई भोजन अर्पण गर्ने” परम्पराअनुसार पूजा गर्छन्। यो परम्परा जलचर प्राणीहरूप्रति कृतज्ञता व्यक्त गर्ने, प्राकृतिक सन्तुलनको सम्मान गर्ने र वातावरणप्रतिको सचेतनाको जीवन्त उदाहरण हो।

गुन्हुँ पुन्हीको अर्को गहिरो पक्ष हो- डोरो बाँध्ने परम्परा। यस दिन नेवार समुदायले तान्त्रिक विधिबाट तयार गरिएको विशेष डोरो महिलाको बायाँ र पुरुषको दायाँ हातमा बाँध्ने गर्छन्।

डोरो बाँध्दा “बलि राजाबाट रक्षा होस्” भन्ने श्लोक वाचन गरिन्छ र यसलाई पञ्चतत्त्वका प्रतीकहरूसँग सम्बन्धित गराइन्छ। डोरोले भूतप्रेत, पिशाच र अशुभ शक्तिबाट जोगाउने विश्वास गरिन्छ। यो परम्परा पछि अन्य जातजातिमा पनि फैलिएको छ, जसले गर्दा आजको दिन धेरै नेपाली समुदायले क्वाटी खाने र डोरो बाँध्ने परम्परा अङ्गीकार गरेका छन्।

यसरी, गुन्हुँ पुन्ही केवल एउटा पर्व मात्र नभई जीवनशैलीसँग गाँसिएको, प्रकृति र मानवबिचको सम्बन्ध उजागर गर्ने एवं परम्परा र स्वास्थ्यको सम्मिश्रण प्रस्तुत गर्ने अनुपम सांस्कृतिक पर्व हो। यो चाडले परम्परा, प्रकृति, आस्था र आहारबिचको गहिरो सम्बन्धलाई सम्मान गर्ने अवसर प्रदान गर्छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ७ : ०९ बजे

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व