विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह « Khabarhub

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत रकमलाई लिएर सामाजिक सञ्जालमा डिजिटल ठगीको जोखिमबारे व्यापक चासो र चिन्ता व्यक्त हुन थालेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा भ्रामक ‘क्यूआर कोड’ घुमिरहेको भन्दै सर्वसाधारणलाई आधिकारिक स्रोत पुष्टी गरेर मात्र सहयोग रकम पठाउन प्रयोगकर्ताले सचेत गराएका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको एक विवरणअनुसार ‘प्राइम मिनिस्टर्स रिलिफ फन्ड’ लेखिएको क्यूआर कोड स्क्यान गर्दा राष्ट्रिय वाणिज्य बैंकमा रहेको ‘श्रम संस्कृति पार्टी’ को खाता खुल्ने गरेको पाइएको छ।

बाहिर एउटा नाम र भित्र अर्कै खाता रहने गरी क्यूआर कोड सहजै हेरफेर (मेनिपुलेट) गर्न सकिने भएकाले विपत्‌का बेला नेपालीहरूको भावुकताको फाइदा उठाउँदै ठगी धन्धा चल्न सक्ने भन्दै प्रयोगकर्ताहरूले खबरदारी गरेका छन्।

डिजिटल प्रविधिको प्रयोगमा हतार गर्दा यस्ता गम्भीर गल्ती हुने सम्भावना बढी हुन्छ। क्यूआर कोड स्क्यान गर्ने बित्तिकै खातावालाको नाम र विवरण नजाँची हतार-हतार पैसा पठाउने र स्क्रिनसट सेयर गर्ने प्रवृत्तिले गर्दा गलत व्यक्ति वा संस्थाको खातामा रकम पुग्ने खतरा रहन्छ।

यसबाहेक, क्यूआर कोडमार्फत प्राविधिक सुरक्षा जोखिम (साइबर सुरक्षा) समेत बढ्दै गएकोप्रति सजग गराइएको छ।

अचेल क्यूआर कोडभित्रै मालवेयर (भाइरस) वा स्पाम लिङ्कहरू राखेर प्रयोगकर्ताको मोबाइल तथा डिजिटल डिभाइस कब्जामा लिने र व्यक्तिगत तथ्याङ्क (डाटा) चोर्ने गिरोहसमेत सक्रिय हुनसक्ने भएकाले अपरिचित वा शङ्कास्पद क्यूआर कोड स्क्यान नगर्न आग्रह गरिएको छ।

सरकारले विपत् व्यवस्थापनका लागि एकद्वार प्रणालीबाट राहत तथा सहयोग सङ्कलन गर्ने नीति लिएकाले अलग्गै वा शङ्कास्पद क्यूआरको भर नपर्न सुझाव दिइएको छ। प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइट, आधिकारिक सामाजिक सञ्जाल वा भरपर्दो सरकारी माध्यमबाट सार्वजनिक गरिएको सूचना र खाता नम्बर भिडाएर मात्र रकम जम्मा गर्न सकिनेछ।

श्रम संस्कृति पार्टीको नाममा देखिएको क्यूआर कोडका विषयमा भने हर्क साम्पाङले राखेको सामाजिक सञ्जालको पोस्टअनुसार पार्टीकै नाममा रकम सङ्कलन गर्न सार्वजनिक गरिएको हुनसक्ने अनुमान गरिए पनि नाम परिवर्तन गरेर भ्रम फैलाइएको हो वा नियतवश गरिएको हो भन्नेबारे सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने माग उठेको छ।

विपत्‌को बेला प्रविधिको सदुपयोग गर्दै सहयोग गर्दा क्यूआर कोडको मुख्य स्रोत, खातावालाको नाम र खाता नम्बर अनिवार्य रूपमा रुजु गर्न र आधिकारिक स्रोतबाट मात्रै प्राप्त कोड प्रयोग गर्न विज्ञ तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले अपिल गरेका छन्।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ७ : ३३ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र