मधेसमा आज ‘राखी’ पर्व « Khabarhub

मधेसमा आज ‘राखी’ पर्व


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने यो मिथिला परम्पराको महत्वपूर्ण पर्व हो।

पर्वका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको यश, पराक्रम र परोपकारी भावको कामना गर्दै दाहिने हातको नाडीमा ‘राखी’ (धागोको कलात्मक डोरा तथा रक्षासूत्र) बाँध्ने गर्छन् ।  मधेशका सबै जिल्लामा यो पर्व मनाइन्छ।

हिन्दू परम्परामा साउन पूर्णिमाका दिनलाई रक्षाबन्धन पर्व भनिन्छ। सनातन परम्परामा रक्षाबन्धन भनिने पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । रक्षाबन्धनका अवसरमा गुरु–पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित रक्षासूत्र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । तर यहाँ दिदीबहिनीले दाजुभाइलाई रङ्गीबिरङ्गी राखी बाँध्ने चलनले यो पर्वलाई विशेष बनाएको गौशाला–११ कालीपुरकी शिक्षक सुनिता महतो बताउँछन्।

राखी पर्वका लागि केही दिनअघिदेखि नै मधेशका बस्तीबस्तीका हाटबजारमा विभिन्न रङ्गका कलात्मक राखी बिक्रीका लागि राखिन्छन्। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता झल्काउने गीत गुञ्जिरहेका छन् ।

 पर्वका कारण यहाँको परिवेश राखीमय बने पनि यसपालि पर्वको मुखैमा आएको भोटेकोशीको बाढीले पुर्‍याएको क्षतिका कारण विगतको जस्तो उल्लास नरहेको मिथिलानी बताउँछन् ।

‘सदियौँदेखि चलिआएको पारम्परिक पर्व हो, हामी मनाउँदै छौँ,’ बर्दिबास–२ की अर्चना झाले भने, ‘तर यसपालि बुधबारको भोटेकोशी बाढीले धेरै क्षति पु¥याएको छ। महोत्तरीकै कैयौँ व्यक्ति अझै सम्पर्कविहीन छन् । यस्तो अवस्थामा केको उल्लास हुनु ?’

आपत् आइपरे पनि त्यसलाई केही समय थाती राख्दै चाडपर्व र परम्परा जोगाउनु नेपाली संस्कृतिको विशेषता भएकाले असहज परिवेशबीच पनि पर्व मनाइरहेको उनले बताए ।

पर्वका लागि दिदीबहिनीले टाढाटाढा काममा रहेका दाजुभाइलाई एक साताअघिदेखि नै निम्ता गरिसकेका छन् । विवाहित दिदीबहिनीले धेरैजसो दाजुभाइलाई पर्व मनाउन आफ्नै घरमा बोलाउने चलन छ । अनुकूलताअनुसार दिदीबहिनी माइती पनि जाने गर्छन् ।

अविवाहित दिदीबहिनी आफ्ना दाजुभाइसँगै एकै घरमा रहने भएकाले उनीहरूका लागि भने थप सहज हुन्छ। एकै घरमा रहे पनि दिदीबहिनीले घरकै दाजुभाइलाई समेत एक दिनअघि राखीको निम्ता दिने चलन छ ।

पर्वमा दिदीबहिनीले दाजुभाइलाई सम्झने र दाजुभाइले दिदीबहिनीको निम्ता मान्ने स्थापित मैथिल परम्परा रहेको मटिहानी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दास बताउछन्।

राखी पर्वका अवसरमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मिष्टान्न परिकार खुवाउने चलन छ । त्यसैगरी दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र, आभूषण तथा नगद दक्षिणा दिने गर्छन् । मैथिल समुदायले यस पर्वलाई आपसी प्रेम, सद्भाव र समर्पणभावसँग जोडेर हेर्ने गरेका छन्।

यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक परम्परा र संस्कृतिसँग जोडिएको संस्कृतिविद् जलेश्वर–५ पतैलीका ध्रुव राय बताउँछन्। उनका अनुसार मिथिलामा यो पर्व विभिन्न जातजाति, धर्मसम्प्रदाय र फरक संस्कृति भएका समुदायले समेत आपसमा मिलेर मनाउने गर्छन् ।

मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीचको आपसी प्रेम र समर्पणसँग जोडिएका अन्य पर्व पनि छन् । कात्तिक शुक्लपक्षको द्वितीया तिथिमा मनाइने भैयादूज तथा सोही पक्षको पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व पनि दिदीबहिनीले दाजुभाइप्रति समर्पणभाव प्रकट गर्ने प्रमुख पर्वमा पर्छन् । अहिले भने दिदीबहिनी राखी पर्वको तयारीमा जुटेका छन् ।

सत्ययुगमा तीनै लोकका अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको विजय भएको सम्झनामा यो पर्वको परम्परा चलेको जनविश्वास छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ८ : ३७ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा