काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले बुधबाार अकल्पनीय क्षति व्यहोर्यो । उक्त नाकाका सम्पूर्ण पूर्वाधार माटोमा मिलाउँदै आएको भीषण बाढीमा हजारौँ नेपाली र चिनियाँ हराइरहेका छन् ।
रसुवागढी-केरुङ सीमामा बुधबार बिहान साढे ८ बजे आसपास आएको विनाशकारी बाढीपहिरोले नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। नेपालतर्फ मारिनेको संख्या ५ सय नाघेको छ। चीनतर्फ पनि कम्तीमा ५ सय जना बेपत्ता छन् ।
नेपालतर्फकै हिमालमा भीमकाय पहिरो खसेर रौद्र रुप लिएको ल्हेन्दे खोला रसुवागढी आइपुग्दा विस्फोटक भयो । जसले रसुवागढी नाकाका सबै संरचनासहित सयौँ मानिसलाई केही सेकेन्डमै निलेर लग्यो।
सीमापारि चीनको ग्यिरोङ (केरुङ) बन्दरगाह क्षेत्रमा पनि बाढी र पहिरोले ठूलो क्षति गरेको छ। त्यहीकारण चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना प्रधानमन्त्री ली छ्याङलाई नै प्रभावित क्षेत्रमा उतारेका छन् । उनी बिहीबार केरूङ उत्रिएर निरन्तर राहत र उद्धार अभियानमा आफैं होमिएका छन् ।
यो अकल्पनीय त्रासदीबीच बिहीबारदेखि सामाजिक सञ्जालमा एउटा मन छुने भिडियो भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोले विपद्को अन्तिम क्षणमा आफ्नो कर्तव्य पालनमा खटिएका एकजना चिनियाँ प्रहरीको साहसलाई देखाएको छ।
यसरी उर्लिँदो बाढीबीच आफ्नो ज्यानकोसमेत प्रवाह नगरी रसुवागढी-केरुङ नाकामा तैनाथ ती प्रहरी हुन् ह्वाङ पेङ । उक्त बाढीमा परेर अहिले उनी आफैं पनि बेपत्ता छन् । उनीसहित उक्त नाकाबाट बगेका अधिकांश चिनियाँ, नेपाली, भारतीयसहित सयौँको अवस्था अज्ञात छ।
उक्त सीसीटीभी फुटेजको भिडियोमा चीनतर्फबाट बाढीपहिरोको भीषण भेल ग्यिरोङ (केरूङ) बन्दरगाहतर्फ आइरहँदा पनि ह्वाङ भने मानिसहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइरहेका थिए। वरिपरि मानिसहरू ज्यान जोगाउन भागिरहेका थिए, तर उनी भने अन्तिम क्षणसम्म आफ्नो जिम्मेवारीबाट पछि हटेनन्। मानिसहरूलाई हातले इशारा गर्दै अन्तिम समयसम्म पनि उनी सुरक्षित स्थानतर्फ जान भनिरहेका थिए ।
उनी ग्यिरोङ (केरूङ) बन्दरगाहमा विगत १३ वर्षदेखि कार्यरत रहेको खुलेको छ। चिनियाँ अनलाइन ग्लोबल टाइम्सले १४ वर्षदेखि केरूङ बन्दरगाहमा कार्यरत ह्वाङले देखाएको साहस र कर्तव्यपरायणताको प्रशंसासहित भिडियो र समाचार प्रकाशित गरेको छ।
अरूलाई बचाउने अन्तिम प्रयास
विपद्को त्यो क्षणमा ह्वाङ पेङको प्राथमिकता आफ्नो सुरक्षाभन्दा मानिसहरूलाई सुरक्षित स्थानतर्फ पठाउनु थियो। भिडियोमा उनी बन्दरगाहमा जम्मा भएको भीडलाई बाहिर निस्कन र सुरक्षित दिशातर्फ जान संकेत गरिरहेका देखिएका छन्।
तर उनले अरू मानिसलाई सुरक्षित स्थानतर्फ भगाउन संघर्ष गरिरहेको केही क्षणपछि आएको शक्तिशाली बाढी र पहिरोले ग्यिरोङ बन्दरगाह क्षेत्रलाई नै छोप्यो। अहिले उक्त बन्दरगाहको कुनै नाम निशाना छैन । अहिले त्यहाँ केबल माटो, ढुंगा र लेदोको थुप्रो मात्रै छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार बाढीपहिरोले बन्दरगाहको भवन, सडक तथा सवारीसाधन पार्किङ क्षेत्रसमेत ध्वस्त पारेको छ। कतिपय स्थानमा थुप्रिएको हिलो निकै बाक्लो छ। सडक तथा सञ्चार पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ।
यही घटनापछि ह्वाङ पेङको अवस्थाबारे चिन्ता बढेको छ। सार्वजनिक विवरणअनुसार उनी घटनापछि सम्पर्कविहीन छन् । अहिले उक्त बन्दरगाहबाट बेपत्ता उनीसहित सयौँ बेपत्ताको नेपाल र चीन दुवैतर्फ खोजी तथा उद्धार जारी छ।
१३ वर्ष एउटै सीमामा
ह्वाङ पेङका लागि ग्यिरोङ बन्दरगाह केवल एउटा कार्यस्थल थिएन। उनले आफ्नो सेवाका १३ वर्ष यही सीमाक्षेत्रमा बिताएका थिए।
नेपाल र चीनलाई जोड्ने यो नाका व्यापार, आवतजावत र तीर्थयात्राका लागि महत्वपूर्ण मार्ग हो। दिनहुँ सयौँ मानिसको आवतजावत हुने यस क्षेत्रमा अध्यागमन तथा सुरक्षा व्यवस्थापनमा खटिने प्रहरीको जिम्मेवारी स्वाभाविक रूपमा संवेदनशील हुन्छ। अझ चीनका लागि तिब्बतविरोधी गतिविधि रोक्ने जिम्मेवारी पनि उनीजस्तै सिपाहीको काँधमा हुन्थ्यो ।
तर बुधबारको विपद् सामान्य सुरक्षा चुनौती थिएन। हिमाली क्षेत्रमा अचानक आएको बाढीपहिरोले केही क्षणमै बन्दरगाह क्षेत्रलाई तहसनहस बनायो।
त्यसैबीच पनि ह्वाङले मानिसहरूलाई भाग्न निर्देशन दिइरहे। उनको भिडियो अहिले ‘विपद्को अन्तिम क्षणसम्म कर्तव्यमा उभिएको प्रहरी’को प्रतीकका रूपमा सामाजिक सञ्जालमा भाइरल भएको छ।
रसुवागढी पनि तहसनहस
सीमाको केही किलोमिटर दक्षिणस्थित नेपालको रसुवागढी क्षेत्रमा बाढीको झन् भयंकर असर देखियो । भोटेकोशीको भीषण बाढीले रसुवागढी भन्सार तथा आसपासका संरचना ध्वस्त बनायो । त्यहाँ कार्यरत कर्मचारी, व्यवसायी, मजदुर, चालक तथा अन्य धेरैलाई बाढीले बगाएर लगेको छ।
नेपालतर्फ सुरक्षाकर्मी, नेपाली सेना तथा स्थानीय उद्धारकर्मीहरू नदी किनारदेखि तल्लो क्षेत्रमा बेपत्ताको खोजीमा जुटिरहेका छन्। कतिपय शव पहिचान गर्नसमेत कठिन भइरहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
यसरी हेर्दा केरुङदेखि रसुवागढीसम्मको एउटै सीमारेखाले बुधबार दुई देशका मानिसलाई एउटै प्राकृतिक विपद्को चपेटामा पार्यो।
एउटै विपद्, दुईतर्फका फरक कथा
नेपालतर्फ बाढीमा हराएका आफन्त खोजिरहेका परिवार छन्। रसुवागढीमा ध्वस्त संरचना र नदीमा बगेर आएका भग्नावशेषबीच उद्धारकर्मीहरू बेपत्ताको खोजी गरिरहेका छन्।
चीनतर्फ पनि अवस्था फरक छैन। ग्यिरोङ क्षेत्रमा चिनियाँ तथा विदेशी नागरिकको खोजी भइरहेको छ। चिनियाँ सेना, सशस्त्र प्रहरी तथा उद्धार टोली परिचालन गरिएको छ।
यही खोजीको बीचमा ह्वाङ पेङको कथा बाहिर आएको हो। उनी अब जीवितै उद्धार हुने आशा करिब सकएको छ। उनको भिडियोले एउटा प्रश्न भने छोडेको छ: जब सबैजना ज्यान जोगाउन दौडिरहेका थिए, उनी किन अन्तिमसम्म त्यहीँ उभिइरहे ?
उत्तर उनको १३ वर्षको सेवाभित्र भेटिन्छ। सीमामा खटिएको प्रहरीका लागि त्यो क्षण पनि ड्युटीकै क्षण थियो। त्यसैले आफ्नै ज्यानको जोखिम देख्दादेख्दै उनले अरूलाई पहिले सुरक्षित स्थानतर्फ पठाउने प्रयास गरे।
ह्वाङ पेङको त्यो अन्तिम पहरा अहिले ग्यिरोङको बाढीपहिरोको सबैभन्दा मार्मिक दृश्य बनेको छ। उनका लागि सामाजिक सञ्जालमा चिनियाँ प्रयोगकर्ताले ‘सलाम’ गरिरहेका छन्। र, नेपालतर्फ रसुवागढीमा ज्यान गुमाएका र बेपत्ता मानिसहरूको पीडासँग जोडिँदा उनको कथा सीमापारिको एउटै त्रासदीका दुई फरक दृश्य नबेको छ।












प्रतिक्रिया