नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित रहेका छन्।
कारागार कार्यालयका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर तथा एचआईभी/एड्सलगायत रोगबाट पीडित छन्। दीर्घ तथा जटिल रोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीको सङ्ख्या बढी छ। तथ्याङ्कअनुसार ४२ जनामा उच्च रक्तचाप र २२ जनामा मधुमेह देखिएको छ।
कारागार कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरका कारण एक जना बन्दीको मृत्यु भएको छ। आर्थिक वर्ष २०८२/८३ र २०८१/८२ मा पनि क्यान्सरका कारण एक–एक जना बन्दीको मृत्यु भएको थियो।
हाल कारागारमा क्यान्सरका तीन जना बिरामी छन्। तीमध्ये दुई जना कारागारभित्र र एक जना अस्पतालमा उपचाररत छन्। विभिन्न कारागारबाट क्यान्सरका बिरामी बन्दीलाई उपचारका लागि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिफर गरिने र अन्तिम चरणका बिरामीको उपचारकै क्रममा मृत्यु हुने गरेको कार्यालयले जनाएको छ।
सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल क्यान्सरका एक र अन्य रोगका एक गरी दुई जना बन्दी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्। कारागारभित्र रहेका बिरामी बन्दीको दैनिक स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीबाट हुने गरेको उहाँले बताउनुभयो।
कारागारमा रहेका एचआईभी सङ्क्रमित पाँच जना बन्दीले नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन्।
हाल जिल्ला कारागार कार्यालय चितवनमा ७१७ पुरुष, ४२ महिला र दुई जना आश्रित नाबालक गरी ७६१ जना रहेका छन्।














प्रतिक्रिया